Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

‘कार्ड’ प्रणालीले सुधार्यो पढाई

जाजरकोट । सामान्य अक्षर समेत नचिन्ने जन-एकता आधारभूत विद्यालय छेडागाड झाप्रामा ३ कक्षामा पढ्ने सरस्वती चदारा नियमित विद्यालय जान थालेपछि खर्रर पाठ पढ्ने भएकी छिन् । उनको सिकाईमा आएको यो परिवर्तनले अभिभावक समेत दंग छन् ।

उनकी आमा गौरी चदारा पनि अहिले छोरीको पढाईमा चासो दिन थालेकी छन् । सिकाई उपलब्धी सुधार्न विद्यालयले कार्ड प्रणाली लागु गरेपछि उनी जस्तै धेरै विद्यार्थीको सिकाई उपलब्धीमा सुधार आएको हो ।

नियमित उपस्थित हुने तथा सिकाई उपलब्धी राम्रो भएका विद्यार्थीलाई धन्यवाद सहित हरियो कार्ड , मध्यम उपस्थिति तथा सिकाई उपलब्धी पनि सुधार गर्नु पर्ने विद्यार्थीको घरमा सुधारका लागी आग्रह गदै हरियो कार्ड र विद्यालयमा न्युन उपस्थिति तथा सिकाई उपलब्धी निकै कमजोर रहेका विद्यार्थीको घरमा नियमित विद्यालय पठाउन र पढनपाठनमा सुधार गर्न आग्रह गदै रातो कार्ड दिएर विद्यालयले पठाउने गरेको छ । कुन विद्यार्थीले कुन रंगको कार्ड पायो त्यो गाँउभरी चर्चा हुने गरेको छ । हरियो पाए गर्व गर्ने र अन्य रंगको कार्ड पाए हिनताबोध हुन थालेपछि अभिभावकले समेत आफ्ना विद्यार्थीलाई नियमित विद्यालय पठाउन र पढाईमा चासो दिन थालेका हुन् ।

‘हरेक अभिभावकले आफ्नो घरमा हरियो कार्ड आओस भन्ने चाहन्छन् त्यसैले गर्दा कार्ड प्रणालीले सिकाई उपलब्धी सुधार्न निकै सहयोग गरेको छ’ जनएकता आधारभुत विद्यालयका प्रधानाध्यापक रुपा गिरीले भनिन ‘अक्षर नचिन्ने विद्यार्थी अहिले खर्रर पढ्ने भएका छन् ।’

पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित एकिकृत परियोजना अन्र्तगत प्रारम्भिक तह पढाई कार्यक्रम लागु भएपछि छेडागाडका ६४ ओटा विद्यालयमा शैक्षिक सुधार हुन थालेको हो । नगरपालिकाका वडा नम्बर ३ देखी ११ नम्बर वडा भित्रका विभिन्न ६४ ओटा आधारभूत विद्यालयमा शैक्षिक सुधारका लागी यो कार्यक्रम लागु गरिएको सेभ द चिल्ड्रनका जिल्ला संयोजक मनोज सुनुवारले बताए । उनले नियमित उपस्थिति नभए विद्यार्थीले सिक्न नसक्ने भएकाले नियमित उपस्थित गराउने र भाषा विषय नजाने अन्य कुरा सिक्न सक्दैन भनेर नै भाषिक पठन सिपको विकासका लागी प्रारम्भिक तहमा नै विशेष जोड दिईएको बताए ।

परियोजनाले बालविकास र १ देखि ३ कक्षा प्रारम्भिक तहको शिक्षण प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम, शैक्षिक सामग्रीमा सहयोग, बसाई ब्यवस्थापन, नियमित उपस्थिति, भाषिक विकास लगायतका कुरामा आवश्यक सहयोग गरिएपछि सिकाई उपलब्धीमा सुधार आएको पाँच तारा युवा संरक्षक मञ्चका शिक्षा कार्यक्रमका जिल्ला संयोजक पुष्प खतिवडाले बताए । ‘कार्यक्रमले साढे दुई बर्ष अघि परियोजना लागु भएका विद्यालयमा गरेको सर्वेक्षणबाट सिकाई उपलब्धी २३ प्रतिशत देखिएकोमा यस अवधिमा १५ प्रतिशतले बढेको छ’ ,संयोजक खतिवडाले भने ‘तीन बर्षको अवधीमा १० प्रतिशत सिकाई उपलब्धी बढाउने हाम्रो लक्ष्य थियो तर परिणाम त्यो भन्दा बढी देखिएको छ । हामी एकदमै उत्साही छौ ।’

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले प्रारम्भिक तह पढाई कार्यक्रमले सिकाई उपलब्धी सुधार गर्न निकै सहयोग गरेको बताए । विद्यार्थीको जग भनेकै प्रारम्भिक तह भएकोले तल्लो तहमा नै राम्रो सिकाई गर्नु पर्ने पर्छ । शैक्षिक सुधारका लागी नगरले समेत आवश्यक सहयोग गर्ने नगरप्रमुख महताराको भनाई छ ।


ताजा समाचार