Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

खेलकुद विकासमा भेरी नगरपालिका


पवन शर्मा
जाजरकाेट।
समयको परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर बनाउदैै गइरहेको छ । आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । आज प्रविधिले त झन छलाङ मारिसकेको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारिरीक रूपमा स्वस्थ्य रहनु झन् बढी आवश्यक छ । तर सबै तरहले स्वस्थ्य रहने माध्यम खेलकुद नै हो भन्दा फरक नहोला । खेलकुद भन्ने बित्तिकै कुनै एउटा मात्र खेल भन्ने बुझाइ भएमा गलत हुनेछ । मानिसहरूलाई कुनै एउटा गाडीका सबै पार्टपुर्जा जसरी चलायमान भएनन र गाडी नचलाइकन राखियो भने खिया लागेर बिग्रिएका हुन्छन, त्यसैगरी सबै अङ्ग–प्रत्यङ्ग चलायमान भएनन् भने शरीर पनि खिया लागेको गाडीको स्थितिमा पुग्दछ । त्यसैले हाम्रो शरिर पनि चलायमान हुनु जरूरी छ । त्यसका लागि आ–आफ्नो रूचिका खेल जुनसुकै पनि हुन सक्छन् । ती खेलको माध्यमबाट मानिसले आफ्नो शरीरका सबै अङ्गहरूलाई चलायमान राखिराख्न सकिन्छ । अहिले आएर त सहरभित्रको कहालीलाग्दो बसाइँ, विषादीयुक्त तरकारी, फलफूल, सहरभित्रको प्रदुषण, एक ठाउँमा मात्रै बसेर काम गर्ने प्रविधिको विकास, व्यस्तता यी सबै कुराले गर्दा हाम्रो शरीर बजारमा पाइने ब्रोइलर कुखुराभन्दा फरक छैन । यस्तो अवस्थामा हामी सबैको व्यस्तताका बावजुद स्वस्थ्य रहनका लागि स्वस्थ आहार, विहार, विभिन्न खेलकुद र योगालाई समेत अपनाउनु पर्ने हामी सबैको आवश्यकता भएको छ । सफल जीवन भनेको नै मानिसको क्रियाशीलता हो । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी हुन्छ । यसरी हाम्रो दैनिक जीवनमा खेलकुदको ठूलो महत्व रहेको छ ।

हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् । भेरी नगरपालिकाले आफ्नो नगरलाई हरेक क्षेत्रमा स्वस्थ्य राख्दै, विभिन्न खेलकुदको माध्यमबाट शारिरिक रूपमा स्वस्थ्य राख्ने काममा ध्यान दिँदै आएको छ तर यो पर्याप्त छैन । खेलकुदप्रति आम युवाहरूको आकर्षण बढाउँदै लैजानु पर्ने आवश्यकता बढेर गएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले आफूले पद समालेदेखि नै खेलकुदका हरेक गतिविधिलाई नियाल्दै र अगाडि बढाउँदै गइरहेका छन् । भेरी नगरका हरेक ठाउँमा खेलकुदका कार्यक्रम संचालन गर्न आवश्यक पर्ने भौतिक संरचना उपलब्ध गराउने उनको लक्ष्य रहेको छ भने समय समयमा विभिन्न खेलकुदका सामाग्रीहरु उपलब्ध गराउदै आएका छन् । विभिन्न वडाहरुका खेलप्रेमी युवाहरू खेलकुदका प्रतिभालाई प्रस्फुटन गराई अवसर प्रदान गराउन जरूरी छ ।

जाजरकोटमा खेलकुदको इतिहास त्यति लामो छैन २०४८ सालमा स्थापना भएको जिल्ला खेलकुद विकास समितिले छिटफुट रुपमा खेलकुद गतिविधि संचालन गर्दै आएको छ । अव देश संघिय संरचनामा गैसकेको हुनाले स्थानिय सरकार भेरी नगरपालीकाले नै खेलकुद सम्बन्धि सहि नीति बनाएर खेल क्षेत्रको विकासमा जोड दिन जरुरी देखिन्छ र सही नीतिबिना, अनुशासन पालन गर्नु पर्ने निकायहरू सबै जिम्मेवार नबनुञ्जेल समग्र खेल क्षेत्रको विकास हुन सक्दैन ।

खेलकुदको माध्यमबाट युवाहरूलाई कुलतमा लाग्नबाट बचाउने, आफ्नो कुनै पनि खेलमा रहेको प्रतिभालाई समाज, राष्ट्र र अन्तर्रा्ष्ट्रिय स्तरसम्ममा उजागार गर्न उत्प्रेरित गराउने र बढीभन्दा बढी खेलकुदप्रति रूचि राख्ने युवाहरूलाई सङ्गठित गर्दै सबै वडाहरुमा खेलकुद कार्यक्रम गाउँ, टोलसम्म र्पुयाउनका लागि यस नगरपालिकाले आफ्नो ठाउँबाट योगदान दिन सक्नु पर्दछ ।

परापुर्वकाल देखि जाजरकोट खेलकुद विकासको पाटो अँध्यारो नै देखिन्छ । टोलटोलमा विभिन्न जात्रा, पूजाआजा र चाडपर्वका अवसरमा सामान्य प्रकृतिका खेल खेल्ने गरिएको भए पनि सम्बन्धित निकाय वा राज्य स्तरबाट यस जिल्लामा खेलकुद विकासका लागि त्यति ध्यान दिएको भेटिँदैन । २०४८ साल पछि आधिकारीक रुपमा खेलकुद सघं स्थापना भएपछि केहि छिटपुट रुपमा खेलहरु हुन थाले । त्यो भन्दा पहिला खेलकुदलाई मन बहलाउने वा तमासा हेर्ने अवसरका रूपमा लिने गरिन्थ्यो । तैपनि त्यसले जाजरकोटको खेलकुदमा सामान्य विकास भएको मान्नुपर्छ ।

तेही जगका कारण एथलेटिक्स विधा तर्फ याम साजन सुनार, कामना विष्ट, पुस्पा बुढा, लक्ष्मी नेपाली जस्ता खेलाडीहरुको आगमन भयो भने भलिबल खेलाडीहरु तुफान श्रेष्ठ, हरीहर विष्ट, गणेश विष्ट, सुदाम गौतम जस्ता खेलाडीले राष्ट्रिय खेल खेलेर सबैको मन जित्न सफल भए । तेस्तै मार्सल आर्ट तर्फ पनि विभिन्न खेलाडीले राष्ट्रिय खेल खेलिसकेका छन् । अहिले पनि विभिन्न उमेर समुह देखी सीनीयर खेलाडीले राष्ट्रिय प्रतियोगितामा छनोट भएका छन् ।

अहिलेका युवाहरुको पहिलो रोजाईमा क्रिकेट र फुटबल रहेको छ । उनिहरु आफै अग्रसर भएर विभिन्न खेलकुद प्रतियोगिता गर्दै आइरहेका छन् । खेल मैदानको अभावमा धेरै खेलाडिहरुले आफ्नो प्रतिभा समेत देखाउन पाएका छैनन् । अहिले त्रिभुवन मा वि काे खेल मैदानमा विभिन्न खेल स‌चालन हुदै अाएका छन् । खेल मैदान सगै खेल सामाग्रीको अभाव र प्रशिक्षक नहुनु यस भेरी नगरको प्रमुख समस्या रहेको छ ।

नगरको खेलकुद विकासका प्रशस्त सम्भावना छन् । नगरमा खेलकुद क्षेत्र सुधार हुदै गएको छ । तर, मैदानको अभाव भएका कारण भौतिक संरचना निर्माणमा सबैको ध्यान जानु जरुरी देखिन्छ ।

अहिले नगर क्षेत्रमा खेलकुद क्षेत्रको विकास तथा सुदृढकरण गरी युवाहरुको आकर्षण बढाउन र प्रोत्साहीत गर्ने उद्धेश्यले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि नगरपालीकाको अग्रसरमा भेरी नगरपालिका वडा नम्बर ५ काफलचौरमा इन्डोर खेलकुदको लागि कवड हलको लागि DPR  भैसकेको छ भने वडा नम्बर १३ कुदुमा बहुउद्धेश्यीय रंगशाला निर्माण कार्य शुरु भएको छ । त्यस्तै वडा नम्बर ३ ठाँटी बजार नजिक ब्याडमिन्टन कोर्ट सम्पन्न भैसकेको छ ।


ताजा समाचार