Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

कर्मचारी व्यवस्थापन नहुँदा एक सचिवको भरमा गाउँपालिका

असार,७ जाजरकोट।एउटा वडासचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्न सक्ला ? एक, दुई, तीन अथवा चार वटा वडासम्मको तर जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडासचिवले ९ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका ९ वटै वडाको कामकाज गर्दै आएका छन् । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो ।

तर, ९ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ ? उनले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर ९ वटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडासचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडासचिवको हस्ताक्षरबिना जन्म दर्ता, मृत्यु दर्ता र बसाइँसराइको कागजात बन्न सक्दैन । तर, वडासचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्जीकरणको काम भने रोकिएको छैन ।

सदरमुकाममा रहेका सचिवले खाली कागजमा हस्ताक्षर गरेर गाउँ पठाउँछन

वडासचिव खनालले नागरिकतालगायत सिफारिसमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक ) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्म दर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिस पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।

वडासचिव मात्र होइन, कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् ।।


ताजा समाचार