Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

प्रतिनिधिसभा र प्रदेश सभामा ११ जोडी सांसद


काठमाडौं,२ असार । प्रतिनिधिसभा र प्रदेश सभामा ११ जोडी सांसद छन् । पाँच दम्पती प्रतिनिधिसभामै छन् । ६ जोडीका भने एक प्रतिनिधिसभा र एक प्रदेश सभाका सदस्य छन् । ११ वटै जोडीका श्रीमान्प्रत्यक्ष निर्वाचित र श्रीमती समानुपातिक कोटाबाट सांसद बनेका हुन् । नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकी पत्नी सुजिता शाक्य प्रतिनिधिसभामा छिन् ।

वर्षमान पुन, शेरबहादुर तामाङ, शक्ति बस्नेत र रघुवीर महासेठ संघीय सरकारमा मन्त्री छन् । तामाङकी पत्नी उषाकला प्रदेश १ मा तथा पुनपत्नी ओनसरी घर्ती, बस्नेतपत्नी सत्या पहाडी र महासेठपत्नी जुली महतो प्रतिनिधिसभामै छन् ।

प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदा सुवेदी पनि प्रतिनिधिसभामै छिन् । देशको नीति निर्माण गर्ने थलो संसद्मा रहेका दम्पतीबीच घर–व्यवहारको मात्रै होइन, संसद्मा हुने गम्भीर छलफलका विषयमा समेत सल्लाह हुने गरेको छ ।

वर्षमान पुन र ओनसरी घर्ती

ऊर्जामन्त्री वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । पूर्वसभामुख ओनसरी घर्ती र मन्त्री पुन पति–पत्नी हुन् ।

घर्ती हाल प्रतिनिधिसभामा तत्कालीन माओवादी केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसदमा निर्वाचित भएकी हुन् ।

यी जोडी सांसद राजनीतिक एजेन्डामा खुलेर छलफल गर्छन् । ‘उहाँ मन्त्रालयको काममा व्यस्त भए पनि हामीबीच राजनीतिक विषयमा छलफल हुन्छ । सरसल्लाह हुन्छ ।

समय त एकदमै कम हुन्छ,’ घर्ती भन्छिन्, ‘कतिपय विषयमा गाडीमा छलफल हुन्छ । गाडीमा यात्रा गर्दा फुर्सद निस्किन्छ । त्यही वेला कुरा हुन्छ ।’

कहिले संसद् भवन त कहिले मन्त्रालय, अनि कहिले पार्टीको काममा कुदिरहने पुन र घर्ती नेपाली राजनीतिमा सक्रिय जोडीमध्ये एक हो ।

सभामुख भइसकेकी घर्तीसँग संसदीय अनुभव बढी हुने नै भयो । त्यसैले पुन संसदीय विषयमा पत्नीसँग सल्लाह लिन्छन् । त्यसो त राजनीतिक एजेन्डामा घर्तीले पनि पति पुनसँग सुझाब माग्छिन् ।

देव गुरुङ र यशोदा गुरुङ सुवेदी

नेकपाकै प्रमुख सचेतक देव गुरुङ र प्रतिनिधिसभा सांसद यशोदा गुरुङ सुवेदी पनि पति–पत्नी हुन् । नेता गुरुङ लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् भने पत्नी यशोदा समानुपातिक कोटाबाट प्रतिनिधिसभा छिरेकी हुन् ।

सांसद यशोदा भन्छिन्, ‘जीवनशैली त व्यस्त नै छ । तर, काम हेरेर, आवश्यकता हेरेर समय निकाल्ने, राजनीतिक सरसल्लाह गर्ने गर्छौैँ ।’

पति देव गुरुङ पार्टीको प्रमुख सचेतक भएकाले संसद्मा बोल्ने विषयमा यशोदा सल्लाह लिन्छिन् । दुईजना छोरा भएका यो सांसद जोडीलाई परिवारमा धेरै समय दिनुपर्ने जरुरी छैन, तर खासै घुम्न पनि निस्किँदैनन् ।

‘अरूले विभिन्न ठाउँ घुमेर रमाइलो मान्लान्, हामी पार्टीकै काममा रमाइलो मानिरहेका छौँ,’ यशोदा भन्छिन्, ‘छोराहरू हुर्किसकेकाले परिवारमा धेरै समय दिनुपर्ने बाध्यता पनि छैन ।’

शंकर पोखरेल र सुजिता शाक्य

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ ९क० बाट प्रदेश सभामा तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । पत्नी सुजिता शाक्य भने एमालेबाटै प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट भित्रिएकी हुन् ।

पोखरेल प्रायः प्रदेशको अस्थायी राजधानी बुटवलमा हुन्छन् भने शाक्य काठमाडौंमा बस्छिन् । दुई छोरीका बा–आमा यो राजनीतिक जोडीबीच राजनीतिक विषयमा कुराकानी भइरहन्छ ।

सुजिता भन्छिन्, ‘एक छोरी अध्ययनका लागि बाहिर छिन् । एक मसँगै छिन् । उहाँको काम पर्दा काठमाडौं आइरहनुहुन्छ । म पनि कहिलेकाहीँ बुटवल जान्छु ।’

आफू सांसद हुँदा र पति प्रदेशको मुख्यमन्त्री हुँदा दैनिकी पहिलेभन्दा फरक भएको र भेटघाट पातलिएको उनी बताउँछिन् ।

नातागोताका छैनन् कांग्रेसका
संसद्मा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद आफन्त र नातागोताभित्रका छैनन् । चुनावमा भने नाताभित्रका उम्मेदवार धेरै थिए । सभापति शेरबहादुर देउवापत्नी आरजु कैलाली ५ बाट उम्मेदवार बने पनि जित्न सकिनन् । नुवाकोटका दाजुभाइ डा। रामशरण महत र डा। प्रकाशशरण महत दुवै प्रत्यक्ष चुनावमा पराजित भए । समानुपातिकबाट सांसद बनेका बालकृष्ण खाणकी पत्नी मञ्जुको नाम समानुपातिक सूचीमा भए पनि सांसद बन्न सकिनन् । सोलुखुम्बुबाट पराजित बलबहादुर केसीकी बहिनी गोमा पनि समानुपातिकमा अटाइनन् ।

रघुवीर महासेठ र जुली महतो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनकी पत्नी जुली महतो दुवै प्रतिनिधिसभा सदस्य हुन् ।

महासेठ धनुषा ४ बाट निर्वाचित भएका हुन् भने महतोको समानुपातिक प्रतिनिधित्व हो । दुवैजना तत्कालीन एमालेबाट संसद्मा भित्रिएका हुन् ।

दुई छोरीका अभिभावक यो जोडीबीच पारिवारिक गफगाफ नै बढी हुन्छ । महतो पतिबाट राजनीतिक सरसल्लाह पनि लिन्छिन् । ‘उहाँ निकै नै व्यस्त हुनुहुन्छ ।

कतिपय कुरामा म उहाँबाट सल्लाह लिन्छु । कहिलेकाहीँ आफूलाई लागेको कुरा उहाँलाई भन्छु । उहाँ यति व्यस्त हुनुहुन्छ कि कहिलेकाहीँ त सल्लाह लिन नै पाइन्न,’ पत्नी जुली महतोले सुनाइन् ।

कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठ

नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ र उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभामै छन् । कृष्णगोपाल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् भने विना समानुपातिकबाट ।

यो जोडी घरमा रहँदा राजनीतिकभन्दा पारिवारिक कुरा बढी हुन्छ । ‘राजनीतिक जीवन व्यस्त नै हुन्छ । हाम्रा तीन छोराछोरी हुर्किसकेका छन् ।

उनीहरूलाई समय दिने, हुर्काउने जिम्मेवारी कमै छ । उहाँ र म पार्टी कामले कुदिरहेकै हुन्छौँ,’ विनाले भनिन्, ‘घरमा सँगै हुँदा राजनीतिकभन्दा पारिवारिक कुरा बढी हुन्छ ।’

शेरबहादुर तामाङ र उषाकला राई

संघीय सरकारका कानुनमन्त्री शेरबहादुर तामाङ प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नं। २ बाट निर्वाचित भएका हुन् । उनकी पत्नी उषाकला राई प्रदेश १ की समानुपातिक सांसद छिन् ।

पति काठमाडौं र आफू विराटनगर बस्नुपर्दा पारिवारिक रूपमा गाह्रो भएको राई बताउँछिन् । ‘फुर्सद हुँदा म काठमाडौंमै जान्छु ।

सरसल्लाह गर्छौँ,’ राईले सुनाइन्, ‘राजनीति गर्ने भूगोल फरक–फरक भएकाले परिवारको न्यास्रो लाग्छ ।’

दुई सन्तानकी आमा रार्ई राजनीतिमा यहाँसम्म आइपुग्न पतिको ठूलो साथ रहेको बताउँछिन् ।

सन्तानको रेखदेख आफैँ सम्हालिरहेकी राई मन्त्री पदमा रहेका पतिलाई परिवारिक तनाव नलिई काम गर्न हौसला दिन्छिन् । त्यसो त राजनीतिक सुझाब लिन तामाङ पनि श्रीमतीलाई फोन लगाउँछन् ।

विरोध खतिवडा र मुनु सिग्देल

नेकपाका नेता विरोध खतिवडाले मकवानपुर क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा तत्कालीन एमालेबाट प्रतिनिधित्व गरेका हुन् । पत्नी मुनु सिग्देल भने प्रदेश सभा ३ मा समानुपातिक सांसद छिन् ।

एक छोरा र एक छोरीसहित खतिवडा काठमाडौंमा बस्छन् । सिग्देल भने हेटौँडाकै घरमा बस्छिन्, काठमाडौं कहिलेकाहीँ आउँछिन् ।

‘छोराछोरी यतै छन् । म्याडम कहिलेकाहीँ काठमाडौं आउँछिन् । मेरो त निर्वाचन क्षेत्र र घर नै उतै प९यो, फुर्सद मिल्यो कि गइहाल्छु,’ सांसद खतिवडाले भने ।

संसद्मा नातेदार पनि उत्तिकै
श्रीमान्–श्रीमतीबाहेक अन्य नातागोताका सांसद पनि उत्तिकै छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी बुहारी विना मगर प्रतिनिधिसभामा छन् । माधवकुमार नेपाल र सोमप्रसाद पाण्डे नाताले सम्धी हुन् । प्रतिनिधिसभामै रहेका सुवास नेम्वाङ र वसन्त नेम्वाङ दाजुभाइ तथा विजय सुब्बा र डा। शिवमाया तुम्बाहाम्फे दाजु–बहिनी हुन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र भीम आचार्य ज्वाइँ–जेठान हुन् भने सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे दाजुभाइ । भीम र राजेन्द्र प्रदेश सभा छन् ।

अनिल झा र डिम्पलकुमारी झा

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिल झा र प्रदेश २ की प्रदेश सभा सांसद डिम्पलकुमारी झा पनि पति–पत्नी हुन् ।

अनिल रौतहको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका हुन् । डिम्पल यसअघि पनि संविधानसभा सदस्य थिइन् ।

‘उनी पनि राजपा नेपालको सक्रिय नेतृ हुन् । उनलाई पार्टी राजनीति र संसदीय गतिविधिबारे राम्ररी थाहा छ,’ अनिल झाले भने ।

एक मात्र छोरो पनि दिल्लीमा अध्ययनरत रहेकाले यो जोडीको दैनिकी राजनीतिमै बितेको छ । ‘राजनीतिमा लागेको ३० वर्ष भएछ, विवाह गरेको २३ वर्ष भयो,’ अनिलले सुनाए, ‘यसबीचमा घुम्न जाने, रमाइलो गर्ने भनेर समय निकालिएन ।’

घुम्ने समय नमिलाएकोमा पत्नी डिम्पलको वेलावेला व्यंग्य सहनुपर्ने अनिल बताउँछन् । उनीहरू राजनीतिक विषयमा भने सुझाब सल्लाह लिने–दिने गर्छन् ।

प्रमोद साह र नीरा साह

सर्लाही १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रमोद साह र प्रदेश २ की सांसद नीरा साह पति–पत्नी हुन् ।

राजपा नेपालका नेता प्रमोद परिवारलाई भेट्न काठमाडौंबाट जनकपुर गइरन्छन् । किनभने पाँच सन्तान र पत्नी उतै छन् ।

२ छोरा र ३ छोरीका बाबु प्रमोद भन्छन्, ‘ठूली नानी सात कक्षामा पढ्दै छिन् । ३ छोरीपछि जम्ल्याहा छोरा जन्मिए । उनीहरू नर्सरीमा पढ्दै छन् । घरमा सांसद पनि ट्विन्स, छोरा पनि ट्विन्स ।’

प्रदेश सभामा हुने गतिविधिबारे नीराले पतिलाई ब्रिफिङ गरिरहन्छिन् । दुवैजनाले एकअर्कालाई सुझाब सल्लाह लिने–दिने क्रम चलिरहेको प्रमोद बताउँछन् ।

रेखा शर्मा र कृष्णध्वज खड्का

पूर्वमन्त्री रेखा शर्मा समानुपातिकबाट प्रतिनिधिसभामा सांसद छिन् । उनका पति कृष्णध्वज खड्का भने प्युठानबाट प्रदेश सभा ५ मा निर्वाचित सांसद हुन् ।

माओवादी आन्दोलनकै क्रममा विवाह गरेको यो जोडी एकैसाथ सांसद बन्ने कम जोडीको सूचीमा परेको छ ।

शर्मा भन्छिन्, ‘पार्टीको राजनीतिक आन्दोलनका क्रममै भेटघाट भयो र विवाह पनि । एउटै फिल्डमा हुँदा पारिवारिकसँगै राजनीतिक कुराकानी उत्तिकै हुन्छ ।’ दुई छोरीका अभिभावक यो जोडी पूरा समय राजनीतिमै व्यस्त हुन्छ । जेठी छोरी सिए पढ्दै छिन् भने कान्छी ७ कक्षामा ।

यो जोडीको राजनीतिक क्षेत्र अहिले फरक–फरक भएकाले समय मिलाएर भेट्नुपर्ने अवस्था छ । ‘उहाँ फुर्सदमा काठमाडौं आउनुहुन्छ । म बुटवल जान्छु । पहिलेभन्दा अहिले दैनिकी फरक छ । भेटघाट पातलिएको छ,’ रेखाले सुनाइन् ।

शक्ति बस्नेत र सत्य पहाडी

वनमन्त्री शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । पत्नी सत्य पहाडी समानुपातिकबाट प्रतिनिधिसभामै छिन् । उनीहरू तत्कालनी माओवादी केन्द्रबाट सांसद बनेका हुन् ।

राजनीतिमा दुवै व्यस्त हुन्छन् । त्यसैले त पत्नीको हातबाट पकाएको खाना वर्षमा मुस्किलले ५–६ पटक मात्रै खान पाउने बताउँछन् शक्ति बस्नेत ।

‘म डोल्पाबाट प्रतिनिधित्व गर्छु, उहाँ जाजरकोटबाट । संसद्मा म जाजरकोटको समस्याबारे पनि बोलिरहेको हुन्छु । उहाँले डोल्पाको विकास निर्माणबारे ।

हामीले सरकार र संसद्को भूमिका बाँडफाँड गरेका छौँ,’ सत्यले भनिन्, ‘उहाँ मन्त्रालय र म संसद्तिर बढी केन्द्रित छौँ ।’

सन्तानको नाममा एउटी छोरी भएको यो जोडी छोरीको चाहना हुँदा पनि घुम्न जान नभ्याउने बताउँछ । पति बस्नेतलाई लगाउने र खाने विषयमा पहाडीले सुझाब दिन्छिन् । ‘कुन कपडा लगाउँदा सुहाउँछ भन्ने सुझाब दिने गर्छु,’ सत्याले भनिन् ।

नयाँ पत्रिकाबाट साभार ।


ताजा समाचार