Loading... आजः शुक्रबार, अशोज १, २०७८

फलाम खानी बन्दसँगै अरान व्यवसाय संकटमा

जाजरकोट । जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका २ का जस्बीर कामी अहिले परिवारको लालनपालको चिन्तामा परेका छन्। जीवन गुजरा गर्ने उपाय बन्द भएकोले उनलाई पिरलो बढेको हो।

जिल्लाको बारेकोट–५ स्थित फलाम खानी बन्द गरिएपछि उनी मात्र होइन, यहाँका आरन व्यवसायीको पेसा संकटमा परेको हो। खानी बन्दसँगै बारेकोट क्षेत्रका नायकवाडा, सक्ला, रामीडाँडा र रोकाय गाउँका परम्परागत आरन व्यवसायीहरूको जीवन गुजरा चलाउने बाटो बन्द भएको छ।

फलाम खानीका कारण गाउँमा पहिरोको जोखिम बढेको भन्दै बारेकोट–५ का स्थानीयले फलाम खानी बन्द गराएका हुन। खानी संचालन नहुदा आरन चलाएर फलामे औजार निर्माण गरी जीवन चलाउने दलितहरु समस्यामा परेका छन्। बारेकोट क्षेत्रका रोकायागाँउ, रामीडाँडा र नायकवाडा र सक्ला गाविसका दलित समुदायले व्यवस्थित रुपमा खानी संचालन गर्न माग गरेका छन्।

‘खानी चल्दा धाउ ल्याएर फलामे औजार बनाइ बेचेर गास जुट्थ्यो अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ’ जस्बीरले भने। खानी बन्द भएपछि घरजहान पाल्नका लागि कालापार जानुपर्ने बाध्यता रहेको बारेकोट १ का माधव कामीले बताए। बारेकोट स्थानीयले खानीका कारण बस्ती जोखिममा पर्दै गएकाले बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन्। ‘खानीले गर्दा सबैलाई सुविधा भएको थियो, फलामका भाडाँकुडा पनि सस्तोमा गाउँमै पाइन्थ्यो’ बारेकोट–५ का पृथ्वी विक्रम शाहीले भने, ‘पहिरोका कारण गाउँ नै असुरक्षित हुने संभावना देखिएपछि बन्द गराउनु परेको हो।’ खानी संचालन नहुदा बारेकोट क्षेत्रका ३०० सय आरन व्यवसायी आर्थिक संकटमा परेका छन्। तर, सार्बजनिक जग्गामा रहेको उक्त खानी बाठा टाँठाले दर्ताको तयारी थालेका छन्।

सम्बन्धित निकायले यो खानीलाई उद्योगका रुपमा विकास गर्नु पर्ने स्थानीयको माग छ। आफ्नो स्वामित्वको सो खानी कुनै हालतमा पनि अर्कालाई रजाई गर्न नदिने स्थानीयहरुको भनाइ छ।

थाहा खबर बाट


ताजा समाचार