Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

प्रहरी प्रशासनकै मिलोमतोमा गाई र गोरुको तस्करी

काेहलपुर । लामो समयदेखि तेस्रो मुलुकसम्म चल्दै आएको गाई र गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । छिमेकी जिल्लाका विभिन्न स्थानबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारत र तेस्रो मुलुकका लागि गाई, गोरुको तस्करी हुने गरेको हो ।

भारतीय सीमासँग जोडिएका बाँके बर्दिया र कैलालिबाट गाई, गोरु तस्करी हुने गरेको जानकारहरू बताउँछन् । राजमार्ग हुँदै गाई, गोरु सीमानाकाबाट भारत लगिने र त्यहाँबाट तेस्रो मुलुकसम्म तस्करी हुने गरेको छ । मुख्यतः मासु प्रयोजनका लागि नेपाल र भारतमा गाई प्रतिबन्ध रहेकोमा गाई भारत नाका हुँदै तेस्रो मुलुक पठाउने र गोरु भने भारतमै मासु प्रयोजनमा खपत हुने गरेको स्रोत बताउँछ ।

तस्कर गिरोहले पशु क्वारेनटाइन र प्रहरी प्रशासनकै मिलेमतोमा निर्धक्क गाई, गोरु तस्करी गरिरहेका छन् । पूर्वपश्चिम राजमार्ग हुँदै विभिन्न स्थानबाट ल्याइएका गाई, गोरु सर्लाहीको नवलपुर पुर्याइन्छ । त्यहाँबाट अर्को व्यापारी गिरोहले भारतलगायतका तेस्रो मुलुकमा पुर्याउने कार्य प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको स्थानीयको भनाइ छ ।

गाई, गोरु मासु प्रयोजनका लागि भारत नाकाबाट ओसारपसार गर्न रोक छ । तर, नेपालमा भने तस्करले प्रहरी प्रशासनको आडमा धन्दा चलाइरहेका छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । तर, पनि गाडीका गाडी राजमार्गबाट गाईको ढुवानी भैरहँदा ठाउँ–ठाउँमा रहेका प्रहरी, सशस्त्र प्रहरी चुप छन् । सुरक्षा निकायको मिलेमतोमा तस्कर गिरोहले यस्तो काम गरिरहेको स्रोतको दाबी छ ।

‘चेकजाँचका लागि रोकेको खण्डमा गिरोहको धम्की र माथिल्लो निकायबाट पनि छाड्ने आदेश आउने गरेको छ’ राजमार्गमा खट्ने एक प्रहरीले नाम गोप्य राख्ने सर्तमा भने, ‘कागजपत्र सबै ठीक पारेका हुन्छन, हामी तलका कर्मचारीले के गर्ने ?’ ती प्रहरीले भने । तीन/चार वर्ष अघिदेखि राजमार्गमा रहेका प्रहरी कार्यालयमा मासिक र प्रति ट्रकका दरले रकम दिएर गाई, गोरुको तस्करीले बढावा पाएको हो । अहिले माथिल्लो निकायको समेत सहभागिता हुने गरेको गुनासो छ । मासु प्रयोजनका लागि नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा गाई, गोरु व्यावसायिक रूपमा लामो समयदेखि निकासी हुँदै आएको छ ।

बाँकेको ढकेरी, अगैया र कुसुम नाकाबाट गाई, गोरुलाई ट्रकमा हालेर नेपालको पूर्वी नाका भएर गाई, गोरु भारतको पश्चिम बंगाल, सिक्किम निकासी हुने गरेको स्रोतले जनाएको छ । भारतमा एक प्रान्तबाट अर्को प्रान्तमा गोरु ओसारपसार गर्न नपाइने कानुनी व्यवस्था छ । त्यसैले कारणले पेसेवर व्यापारीहरूले नेपाली भूमि प्रयोग गरी भारतको पश्चिम बंगाल लाने गरेका छन् । पश्चिम बंगाल पुर्याइएका गाई, गोरु भुटान पनि निर्यात हुने गरेको स्रोत बताउँछ ।

तस्कर र प्रहरी प्रशासनको मिलोमतोमा बाँकेलाई सेल्टर बनाउँदै कोहलपुरलाई मुख्य नाकाको रुपमा तस्करहरुले लिने गरेको पाइएको छ । प्रहरी घुमुवा र उच्च अधिकृतहरुले महिनावारी तस्करसँग मोटो रकम लिने गरेकाकारण तस्करीमा नियन्त्रणमा समस्या देखिएको जानकारहरु बताँउछन । तस्करसँग केहि गुण्डा नाइके र टोले गुण्डाहरुले पनि हप्ता असुल्ने गरेको पाइएको छ ।


ताजा समाचार