Loading... आजः आइतवार, कार्तिक ९, २०७७

माधव नेपाल नै ओली गुटमा

काठमाडौं । फागुन ५–१०, २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ महाधिवेशनले ‘नेपाल मूलतः अर्धऔपनिवेशिक, अर्धसामन्ती, अर्धपुँजीवादी मुलुक हो’ भन्ने राजनीतिक लाइन पास गर्‍यो । यो वैचारिक हिसाबले तत्कालिन एमाले स्थायी कमिटी सदस्य एवम् अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले बोकेको राजनीतिक विचार थियो । तर, नेतृत्वमा झलनाथ खनालले विजय हात पारे ।

त्यस्तै, २०७१ असार १९– साउन १ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनले ‘सामन्तवादी युग विघटन हुँदै नेपाली समाज पुँजीवादी युगमा प्रवेश गरेको र अर्थतन्त्र दलाल नोकरशाहीको हातमा रहेको’ राजनीतिक लाइन पास गर्‍यो । यो महाधिवेशन पनि अघिल्लो जस्तै भयो । राजनीतिक लाइन माधव नेपाल विचार समूहले बोकेको पारित भयो । तर, नेतृत्वमा चाहिँ अघिल्लै महाधिवेशनका प्रत्यासी केपी शर्मा ओली विजयी बने ।

२०७५ को शुरूआतमा आइपुग्दा भने एमालेमा माधवकुमार नेपाल समूह कमजोर बनेको छ । विशेष गरेर नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नजिकिँदै जाँदा एमालेभित्र ध्रुवीकरण शुरू भएको छ ।

माधव सुटुक्क ओलीतिर
पछिल्लो समय केपी शर्मा ओली र माधव नेपालले पार्टीभित्र छुट्टाछुट्टै गुट चलाइरहेका थिए । ०५०–०६५ सम्म पार्टी प्रमुख चलाएका नेता नेपालले बुटवल महाधिवेशनबाट पुनरागमन हुने सोचेका थिए । देशभरका युवा पार्टीभित्रका बौद्धिक खेमा झलनाथतिर लागेपछि झलनाथलाई सहयोग गरेनन् ।

तर, पार्टी प्रमुख हुने लालसा नत्यागेका नेता नेपाल ०७० को निर्वाचनसम्म आइपुग्दा पार्टी अध्यक्षसमेत रहेका झलनाथ खनाललाई संसदीय दलको नेतामा सहयोग गर्न राजी भए । तर, उनको सपनाले सार्थकता पाउन सकेन । स्थायी कमिटी सदस्य केपी शर्मा ओलीसँग झलनाथ खनाल दलको अध्यक्षमा पराजित भए ।

त्यसपछि एमालेमा व्यापक ध्रुवीकरण शुरू भयो । आठौँ महाधिवेशनमा अध्यक्ष झलनाथ खनालको पक्षमा उभिएका वामदेव गौतम ओली कित्तातिर लागे । धेरै ठूलो समूह त लान सकेनन् तर रवीन्द्र अधिकारीलगायतका केही युवा नेताहरु पनि ओलीतिरै लागे ।

०५४ सालमा एमाले विभाजन भएर माले खेमामा लागेका घनश्याम भुसाल, योगेश भट्टराईलगायत युवा नेताहरूको दह्रो साथ नेता नेपालले पाए र अध्यक्ष ओलीसँगको मतान्तर कम भयो । ४४ मतले मात्रै ओली भन्दा पछि परेका हुन् नेता नेपाल ।

एमाले–माओवादी एकता अघि बढिरहँदा अहिले नेता नेपाल आफैँ ओली क्याम्पतिर डेरा सरेका छन् । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष ओलीले एमाले–माओवादी केन्द्र एकतापछिको महाधिवेशनमा अध्यक्षको उमेदवार बनाउने बचन दिएका छन् । त्यसैले उनी संस्थापनतिर ढल्किएका हुन् । “उहाँलाई अध्यक्ष दिउँला भनेको होला, अहिले त्यता लोभिनुभएको छ,” उनले भने ।

त्यस्तै उनले एक्लै मुकाविला गर्ने हैसियत नबनाएपछि कम्युनिस्ट आन्दोलनमा अरूको सहारा खोज्नुपर्ने बाध्यता रहने र त्यसैको उपयोग गरेको भन्दै कटाक्षसमेत गरे ।
त्यसको छनक यसअघि नै नदेखिएको होइन । तीनै तहको चुनावअघिसम्म अध्यक्ष ओली र नेता नेपालबीच हरेकजसो निर्णयमा मतभिन्नता हुन्थ्यो । तर, प्रदेश प्रमुख चयन र प्रतिनिधिसभाको उपाध्यक्ष र राष्ट्रियसभाको अध्यक्ष ओली निकटस्थ चयन हुँदा नेपाल मौन बसे ।

राष्ट्रपति पदमा वरिष्ठ नेता झलनाथ खनालको आकांक्षा थियो । नेता नेपालले अडान लिएको भएमात्रै पनि विद्या भण्डारीको नाममा सर्वसम्मति जुट्दैनथ्यो । नेता नेपालले मुख नखोलेकाले खनालले ‘वाकओभर’ दिनुपर्ने अवस्था आएको चर्चा अहिले एमालेभित्र चल्ने गरेको छ ।

त्यस्तै, ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने सम्भावना थियो । तर, नेपालले खुलेर अष्टलक्ष्मी शाक्यलाई सहयोग गरेनन् । परिणामस्वरूप उनले पराजय बेहोरिन् ।

गुटको नेता को त ?

लामो समय अन्तरसङ्घर्षमा रुमल्लिएका अध्यक्ष ओली र नेता नेपाल एकै कित्तामा उभिएपछि गुटको नेता कसलाई बनाउने भन्ने विलखबन्दमा परेका छन् नेपाल खेमाका सदस्यहरू ।
पछिल्लो समय अध्यक्ष ओलीसँग असन्तुष्ट बनेका छन् उपाध्यक्ष वामदेव गौतम । पार्टीभित्रबाट लागिपरेर सांसद् हराएको उनको गुनासो छ । संसदीय मोर्चाबाट पाँच वर्षका लागि पर बस्नुपरेको पीडा पनि रहेको एमालेका एक नेता बताउँछन् ।

उमेरका कारण सक्रिय राजनीतिबाट टाढा हुन्छु कि भन्ने भय छँदैछ । त्यसैले उनी आफ्नै गुट बनाउन लागिपरेका छन् । नेता नेपाल सुटुक्क ओलीतिर लागेपछि रिक्त स्थान नेता गौतमले लिने आँकलन एमालेभित्र हुन थालेको छ ।

त्यसका लागि उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराईलगायत केही नेताहरूले प्रयत्नसमेत गरिरहेका छन् । त्यस्तै उपाध्यक्ष भीम रावल पनि ओलीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन् । निर्वाचनपछि भूमिकाविहीनजस्तै देखिएका रावल आफ्नै गुट बनाउने कसरतमा छन् । नवौँ महाधिवेशनमा नेता नेपालकै समूहबाट उपाध्यक्ष जितेका रावलले आफूहरूलाई साथ दिने युवा नेताहरूको विश्वास छ ।

यता पार्टीभित्र लामो समय राजनीतिक वैचारिक धारको नेतृत्व गरेका वरिष्ठ नेता खनाल पनि राजनीतिबाट ओझेल परिसकेका छैनन् । कुनै नै कुनै रूपमा आफ्नो भूमिका खोजिरहेका छन् खनाल । त्यसका लागि उनी पनि गुट बनाउने कसरतमा छन् । संस्थापन इतरको गुट बनाउन क्रियाशील विचार समूहले नेता खनालसँग पनि निरन्तर सम्वाद गरिहेको युवा नेताहरूले बताउँदै आएका छन् ।

बाह्रखरी बाट


ताजा समाचार