Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

कथा : नाङ्गो सहर र नाङ्गा मान्छेहरू

माधवप्रसाद उपाध्याय ‘सयपत्री’

यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती नाङ्गिनु, अनकन्टार जलकुण्डमा पौडिखेल्दा नाङ्गिनु, सानासाना नानीहरू नाङ्गिनु कुनै नौलो विषय होइन श्रीमान् । यहाँ त दिनदहाडै सहर नाङ्गै उभिएको छ । के हामी नग्न सहरको गुप्त अङ्ग हेर्ने नानीहरूका आमा हौँ श्रीमान ?

श्रीमान् मैले साँचा कुरा भन्न पाइनँ । देखेको कुरा भन्न पाइनँ । साँचा र आफ्नै आँखाले देखेको कुरा भन्न नपाउने यो देशको न्याय प्रणाली कस्तो हो श्रीमान् ! देखेका र साँचा कुरा भन्न पाइने ठाउँ कहाँ छ ?

श्रीमान्, म तपाईंको व्यक्तिगत जीवनमा, जीवन भोगाइका तौरतरिकामाथि प्रश्न गर्दिनँ । त्यसो गर्नु सर्वथा अनुचित हो तर कसैले नाङ्गै हिँडेर अरूलाई लज्जित पार्छ भने त्यहाँ प्रश्न गर्न पाइने कि नपाइने ?

यो सहर नाङ्गै हिँड्यो भनेर नै मैले अदालतमा मुद्दा दायर गरेको हुँ । सहरको नाङ्गोपनाले म मानसिकरूपमा अर्ध विक्षिप्त भएको छु । मेरो संवेदनशील अङ्गहरूमा झञ्झनाहट भएको छ । म डिप्रेसनको सिकार भएको छु । जुनै अस्पतालमा गए पनि मेरो रोगको उपचार भएन । जुनै उपकरण प्रयोग गरेर हेर्दा पनि कुनै रोग देखिँदैन । डाक्टरसाहेब भन्नुहुन्छ- तपाईंलाई फुल्ली डिप्रेसन भएको छ । यो सबै यौन मामिलासँग सम्बन्धित छ । के तपाईंलाई कसैले जवरजस्ती यौनशोषण गरेको थियो ?

डा. साहेबले भन्नु र ममा देखिएको प्रहेलिका किसिमको रोगको लक्षण कसरी मिल्न गयो श्रीमान् । मलाई शारीरिक यौनशोषण वा बलात्कार कसैले गरेको छैन । त्यस्तो कारणबाट म कसरी मानसिक रोगी भएँ रु अर्काको कारणबाट म रोगी भएको छु । त्यसको क्षतिपूर्ति कस्ले दिन्छ ?

मैले श्रीमान्को घर-कम्पाउन्डमा आएर यसरी दवाबको भाषा बोल्नु हुँदैनथ्यो । मर्नुभन्दा बहुलाउनु निको ठानेर म यहाँ आएको हुँ श्रीमान् । कानुनको परिभाषा गर्ने वकिलहरूले ठूलै धनराशि गुमुक्र्याएर मलाई हराएका हुन् । त्यसमा तपाईंले अलिकति पनि विवेक प्रयोग गर्नु भएन श्रीमान् । एउटी नारी मानसिक प्रताडनाको सिकार भएकी तपाईंले टुलुटुलु हेरिरहनुभयो । के श्रीमान् तपाईं सहर नाङ्गो देख्नु हुन्न ? उतरआधुनिकताको कृतिम जलपमा टिलिक्क टल्किएको जस्तो देखिए पनि पक्कै हो श्रीमान् यो सहर निर्लज्ज छ, नाङ्गो छ ।

मैले न्यायमूर्तिको अगाडि बसेर यति धेरै याचना गरिरहँदा पनि उहाँ एकवचन बोल्नुभएन । मात्र घोप्टे जुँगामा ताउ लाउँदै जिउ मर्काउनु भयो । मानौँ, मेरा दुःखदर्दको बयान सुन्दै सुन्नु भएन । मलाई झनै पीडास्पद चस्का पर्‍यो । दुनियाँले देखेको यथार्थ विषयलाई उहाँले नजरअन्दाज गर्नु भयो । उहाँले चाहेको भए मलाई मुद्दा जिताउन सक्नुहुन्थ्यो । मेरा वकिलहरूले दरादरा दलिल र प्रमाण जुटाएका हुन् तर पनि मैले मुद्दा हारेँ ।

न्यायमूर्ति आसनबाट उठ्न खोज्नु भयो । अझै केही बोल्नु भएन । मैले उहाँसामु थप याचना पोखेँ । म उठेर अझै ठूलो स्वरमा बोलेँ -‘श्रीमान् यो तपाईंको निजी घर हो । यहाँ आएर यहाँको निजी समयलाई वर्वाद गर्नुपर्दा म आफैँले अनुचित काम गरेजस्तो लागिरहेछ तर श्रीमान्, म सहन सक्दिनँ । यो सहर ननाङ्गियोस्, सभ्य र शालीन बनोस् भनेर मैले अदालतको ढोका घच्घच्याएँ । सार्वजनिक मामिलामा मुद्दा हाल्नु मेरो गल्ती थियो त ! यसको अश्लील र नाङ्गो रूप पछिका पिँढीहरूले देख्नु नपरोस् । सहर सुध्रियोस् भन्ने मेरो कामना गलत भयो र ! श्रीमान् ! यहाँको एकल फैसलाबाट यो झनै स्वतन्त्र भएको छ । के स्वतन्त्रता नाङ्गो हुनलाई दिनु हो र ! देख्नु होला यो सहर अब नग्न ताण्डवनृत्य नाच्छ । तपाईंहरूले पुनर्विचार गर्नु भएन भने भावी सन्तान झनै पीडित हुने छन् ।

श्रीमान् अझै बोल्नु भएन । उहाँ बैठककक्षकै बाथरुममा पस्नुभयो । मैले धेरै कुरा भनिसकेकी थिए । न्यायमूर्ति बाथरुमबाट बाहिर ननिस्किँदै मलाई त्यहाँबाट हिँडूझैँ लागेको थियो तर मनको वह पोखिसकेकी थिइनँ । घाउको पीडा रत्तिभर समन भएको थिएन । त्यो मानसिक पीडाको अबयक्तरूपले म जठराग्निमा दनदन्ती जलिरहेकी थिएँ । त्यसैले पनि म हिडिनँ ।

न्यायमूर्ति अझै बाथरुमबाट बाहिरिनु भएन । नुहाउन पसेको हो कि’कति समय बसिराखूँ, हैन बस्छु । मेरो मानसिक घाउको पीप न्यायमूर्तिको बैठककक्षभरि नपोखी जान्न ।

पत्रिकावालाले एउटा राष्ट्रिय दैनिक झ्यालबाटै छिराएर गयो । सडकबाट फालेको त्यो समाचार पत्रिका मेरो अगाडि आएर पछारियो । पत्रिकाको कभरपृष्ठ आफैँ खुल्यो विस्तारै र त्यो नाङ्गियो । मैले त्यसमा नाङ्गो व्यानर न्युज देखेँ । पत्रिका टिपेर पुरै नङ्ग्याएँ । फ्रन्ट पेजको हेड न्युजमा मेरा आँखा परे -‘एउटी विक्षिप्त तरुनीले सहरलाई नाङ्गो बनाई ।’

व्यानरन्युजको हेडलाइन बढी युनिक र हास्यास्पद लाग्यो । मलाई त्यै समाचार पहिला पढ्न कुतकुती जाग्यो । लेखिएको थियो-‘काठमाडौँ संवाददाता, समाजशास्त्रमा स्नातकोत्तर एउटी महिलाले सहर नाङ्गो भएको जिकिर गर्दै हालेको मुद्दामाथि वहस पैरवी हुँदा निज महिलाले मुद्दा हारेकी छिन् । जिल्ला अदालतमा हालेको सो अनौठो मुद्दाको सुनुवाई पछि‘‘।न्यायाधीशको एकल इजलासले सो विषयलाई अनावश्यक र विक्षिप्त प्रकृतिको भनी त्यसलाई खारेज गरेको छ । मुद्दा हाल्ने महिला कस्तो पृष्ठभूमिकी हुन् थाहा हुन सकेको छैन ।

मलाई त्यो नाङ्गो पत्रिका ध्वारध्वारी च्यात्न मन लागेको थियो तर अर्काको घरमा आउने पत्रिका च्यात्ने मेरो अधिकार के ? त्यसैले पत्रिकालाई मैले सोफामै फालिदिएँ र पल्लोछेउमा गएर बसेँ ।

झण्डै आधा घण्टापछि न्यायमूर्ति निस्किनु भयो । उहाँलाई मदेखि एलर्जी भएको हुनुपर्छ । म आफ्ना अन्तिम भनाइहरू राखेर बाहिर निस्कने निर्णयमा पुगेँ । न्यायमूर्तिले तौलियाले हातमुख पुछ्नुभयो । म त्यहीँ हुँदै उहाँलाई बैठककक्षबाट अन्त जान अप्ठेरो भएको हुनुपर्छ ।

न्यायमूर्तिले कम्प्युटर अन गर्नुभयो । आफ्नो इमेल चेक गर्नुभयो । म नदेखेझैँ देखिरहेकी थिएँ । एउटा ई-पत्र स्क्रिनमा देखियो-‘न्यायमूर्ति श्रीमान्, मैले त्यो जग्गा प्राप्त गरेँ भने यहाँलाई शुभलाभ नै हुनेछ ।’

अहो ! अचम्म कानुन बर्खिलाप गर्न न्यायाधीशलाई इमेल ! अब जनता न्याय खोज्न कहाँ जान्छन् रु न्यायमूर्तिले मेरो आँखा छलेर अरू इमेलचेक गर्न लाग्नुभयो । म उहाँको नजिकै गएँ र फेरि बर्सिएँ -‘ श्रीमान् अब म न्याय खोज्न कहाँ जाउँ ? मलाई यतिमात्र भनिदिनुस् म पुनरावेदन गरुँ कि नगरुँ ? तपाईं छातीमा हात राखेर भन्नुस् सहर नाङ्गो छ कि

छैन ? तपाईं आफैँ अन्तरदृष्टिले हेर्नुस् । ऊ, सहर नाङ्गै हिँडिरहेको छ ।”

बल्लबल्ल श्रीमान् मुस्कुराउनु भयो – ”सुन्दरी ! नाङ्गो नै सुन्दर हुन्छ, हैन र । सानो नाङ्गो बच्चालाई हेर्नुस् त त्यो कति सुन्दर हुन्छ । तपाईंकै तर्कअनुसार कुरा गर्दा पनि नाङ्गो हुनु सुन्दर हुनु हो । अझ तपाईंजस्ती सुन्दरी नाङ्गी हुँदा त त्यहाँभन्दा अलौकिक र सत्यम्, शिवम्, सुन्दरम् अरू के नै हुन सक्तछ र ! नरिसाउनु होला, मैले तपाईंको तर्कमा मेरो तर्क मिलाउन खोजेको मात्र हुँ । तर्क मिल्नु मन मिल्नु हो । मन मिल्नु भनेको दुबै एक हुनु होइन र ! अ‘ तपाईंको मुद्दाको जुन विषय छ, त्यहाँ विपक्षका तर्कहरू बढी बलिया देखिए । तपाईंका वकिलहरूले सहर नाङ्गो भएको प्रमाण जुटाउन सकेनन् । हामीले त ऐनरकानुनले के बोल्छ, त्यै गर्ने हो ।”

मैले अलि रातो भएर भने-”न्यायमूर्ति सहर नाङ्गो छैन भन्ने प्रमाण के छ नि ! विपक्षी वकिलहरूले जे भने त्यो सदर कसरी भयो ! नाङ्गो हुन लुगा फुकाल्नु पर्दैन । विचार र व्यवहारले पनि त्यो नाङ्गो हुन्छ । साहित्यमा मात्रै बादसाह पनि नाङ्गै हिँडेको सुहाउँछ ।”

न्यायमूर्ति चुपरहनु भयो । पत्रिका टिप्नु भयो र मलाई मेरै विषयको न्युज देखाउनु भयो र भन्नुभयो-”सुन्दरी मेरो चाहना तपाईंलाई मुद्दा हराउने थिइनँ तर प्रमाणहरू तपाईंको पक्षमा बोलेनन् । वकिलहरूले जिब्रो चपाएर कुरा गरे । त्यसैले तपाईंले मुद्दा हार्नुभयो तर सुन्दरी तपाईंले मुद्दा हारे पनि तपाईंको पुनरावेदन जाने अधिकारलाई म रोक्न सक्दिन । तपाईं जान सक्नुहुन्छ तर त्यहाँ पनि प्रमाणहरू जुट्न सक्दैनन् र तपाईंले हार्नुहुन्छ ।’

मैले जिकीर गरेँ -‘ मैले त्यहाँ पनि हार्छु नै भनेर कसरी भन्न सक्नु हुन्छ ? फेरि पनि मैले हार्नुभनेको मैले आत्महत्या गर्नु हो । असहृय पीडाले पीडित मुद्दा गर्छ, पटकपटक हारिरहन्छ भने ऊ किन बाँचिरहन्छ ?

मर्छ नि पासो लगाएर । देखीदेखी नाङ्गो सहरलाई चिरिच्याट्ट लुगा लगाएको देख्नु न्यायदिने पक्षको दृष्टिभ्रम हो श्रीमान् । भ्रमको संसारमा मलाई बाँच्नु छैन । नाङ्गो सहरले मेरो मानसिकतामा बलात्कार गरेको छ । त्यही बलात्कारको पीडाले म डिप्रेस्ड भएकी छु श्रीमान् ।’

उहाँ बोल्नुभयो- बलात्कारको परिभाषा कानुनले अर्कै गर्छ सुन्दरी – तपाईं ‘बलात्कृत’ हुनुभयो त्यसको परिभाषा बताउनुस् त ।

श्रीमान् न्यायमूर्तिले मलाई ढाढस दिनुनै भएन । सान्त्वना दिनु नै भएन । कानुनी शब्दका परिभाषा मात्र पर्गेलिरहनु भयो । परिभाषा कानुनको मात्र हुन्छ र ! त्यसैको परिभाषा मात्र ठीक हुन्छ र ! परिभाषा त आ-आफ्ना हुन्छन् । परिभाषा सिद्धान्त हुन सक्दैन ।

न्यायमूर्ति कुटिल मुस्कुराहटमा देखिनुभयो । वनावटी सद्भाव देखाउनु भयो र भन्नु भयो -‘सुन्दरी तपाईं डिप्रेस्ड होइन, म डिप्रेस्ड भएँ । जानुस् पुनरावेदन गर्नुस् ।

म तपाईंलाई हरतरहले सघाउँला । साँच्चै सहर नाङ्गो छ । मेरो एकलौटी निर्णले छुने भए तपाईंलाई मुद्दा जिताइदिन्थेँ । सुन्दरी तपाईंको पीडा साझा पीडा हो । हो, सहर नाङ्गै छ सुन्दरी तपाईंको मानसिक पीडाले म डिप्रेस्ड भएको छु । त्यसपछि श्रीमान् आफैँ नाङ्गिन थाल्नुभयो । मलाई समात्न लम्किनु भयो । श्रीमान्ले समात्न नपाउँदै म फुत्त बाहिरिएँ । देखेँ, सहर नाङ्गै थियो । त्यो न्यायमूर्तिजस्तै निर्लज्ज, निर्बस्त्र देखियो । ऊफ, मेरो अस्मिता ! के अदालतले जोगाइदेला ?


ताजा समाचार