Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

जुत्ता मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ, अर्को बाटो छैन: केपी वली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको बाटोबाट भाग्ने ठाउँ नरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले एकता कुनै पनि हालतमा गर्नुपर्ने स्थिति रहेको बताए ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसमार एमाले–माओवादी एकता संयोजन समितिले राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जसरी पनि एकता गर्नुको विकल्प नरहेको बताए । ‘अब जुत्ताको साइज मिलेन भनेर नलगाउने होइन, अरु खुट्टा ताछतुछ बनाएर भएपनि त्यही जुत्ता लगाउने हो’, अध्यक्ष ओलीले भने, ‘हामी त्यस्तो अवस्थामा पुगिसक्यौँ, अब एकताबाट भागेर जाने कुनै बाटो छैन ।’

पार्टी एकता अघि केही सामान्य भावनात्मक कुरा आउने, आफ्नो अर्काको भन्ने कुरा आउने भन्दै पार्टी एकतापछि त्यो हराउने बताए । ‘एकताअघि केही सेन्टिमेन्टल कुरा आउँछन्, आ–अर्काको भन्ने कुरा आउँछन्’, ओलीले भने, ‘आज पनि दाँतमा किटिक्क ढुङ्गा लागेजस्तै भयो, अब यस्ता कुरामा अल्झिने बेला छैन, अल्झिनु हुँदैन ।’ ओलीको भनाई दिउँसो ब्यानरको विषयमा एमाले–माओवादी कार्यकर्ताबीच भएको विवादतिर लक्षित थियो । सोही विवादले कार्यक्रम झण्डै चार घण्टा ढिला भएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताको कुरा कुनै सुरपमार्केटमा गएर नल्याएको दाबी गरे । एकता गर्ने अवस्थामासम्म आइपुग्दा विभिन्न चरणहरु पार गरेको भन्दै उनले अरु कसैलाई दोष लगाउने, अरुको टाउकोमा जिम्मेवारी थोपेर भाग्ने ठाउँ नभएको र यसको मुख्य जिम्मेवारी आफू र माओवादी अध्यक्ष प्रचण्डले लिनुपर्ने बताए ।

‘अब हामी कुनैपनि हिसाबमा फुट्ने, त्यसको लाभ दक्षिणपन्थीले लिने, कम्युनिष्ट विरोधीले लिने हुनुहुँदैन भनेर लागेर भनेर एकता गर्न लागिएको हो’, ओलीले भने, ‘एकताको कुरा बाटोमा भेटेर टपक्क टिपेर ल्याएको होइन्, सुपर मार्केटमा गएर खोजेर ल्याएको होइन्, यो हामीले गरेको हो, हामीले निर्णयमा पु¥याएरै छोड्छौँ ।’

एमाले अध्यक्ष ओलीले एमाले–माओवादीको एकता मेलामा लगाएको मितजस्तो नभएको पनि स्पष्ट पारे । ‘बिहे अघि दुलाह–दुलहीको घर अलग–अलग हुन्छ’, ओलीले भने, ‘विहेपछि एकअर्काको घरको सबैको कुराको माया लाग्न थाल्छ । कुकुर बिरालोको पनि माया लाग्छ, हाम्रो पनि कुरा त्यही हो ।’


ताजा समाचार