Loading... आजः शुक्रबार, अशोज १, २०७८

नेपाली क्रिकेटका लागि २०७४ कस्ताे भयाे ?

काठमाण्डाै । नेपाली क्रिकेटको संस्थागत निकाय क्रिकेट एशोसिएशन आफ नेपाल (क्यान) इन्टरनेशनल क्रिकेट काउन्सिल(आईसीसी)को निलम्वनमा छ । एसोसियट राष्ट्रमध्ये सबैभन्दा धेरै क्रिकेट फ्यान भएको देश भनेर चिनिने नेपालका क्रिकेटप्रेमीहरु चाँडै यो समस्याको समाधान गर भनेर दवाव दिइरहेका छन् ।

नेपाली क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गरेसँगै फ्यानहरु स्टेडियम चाहियो भनेर कराइरहेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसन यतिबेला स्टेडियम बनाउने भन्दै जग्गाको खोजीमा छ । यी तमाम समस्याका बीच पनि नेपाली क्रिकेटमा यो वर्ष केही सफलता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमा यो वर्ष भएका केही उपलब्धिहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. ओडीआई स्टाटस प्राप्त
नेपाली क्रिकेटपे्रमीहरुका लागि चैत १ निकै उत्साहित दिन थियो । नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी विश्वकप छनोटअन्तर्गत जिम्बावेमा खेलिरहेको थियो । पपुवा न्युगिनीलाई ६ विकेटले हराएकोे नेपालले एक दिवसीय टोली(ओडीआई)को मान्यता पाउनका लागि नेदरल्यान्डस र हङकङ बीचको खेलको नतिजा कुर्नू पर्ने भयो । सबै नेपालीले त्यो बेला नेदरल्यान्डसले जितोस् भनेर प्रथना गरिरहेका थिए । अन्त्यमा नेपालीको प्रथनाजस्तै नेदल्यान्सले खेल जित्यो, नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो । नेपाली क्रिकेटले यो सफलता पाउन २२ वर्ष लाग्यो । यो मान्यता आगमी ४ वर्षसम्म अर्थात सन् २०२२ सम्म रहने छ ।

२. पहिलो पटक आईपीएलमा नेपाली खेलाडी
यो वर्षका इन्डियन प्रिमियर लिग (आईपीएल) नेपालीहरुका लागि विशेष रहेको छ । नेपाली राष्ट्रिय टोलीका खेलाडी आईपीएलका लागि छनोट भए । लेग स्पिनर सन्दिप लामिछाने आईपीएलका लागि छनोट भएका हुन् । नेपालले यो वर्ष प्राप्त गरेको अर्काे सफलता यो पनि हो ।यो भन्दा अगाडि कुनै कुनै नेपाली खेलाडी आईपीएलको अक्सनमा परेका थिएनन् । सन्दिप नै पहिला खेलाडी हुन् जो अक्सनमा परे र बिके पनि । उनलाई दिल्ली डेयरडेभिल्सले उनको न्यूनतम मूल्य २० लाख भारुमा किनेको हो । अहिले आईपीएल चलिरहेको भए पनि उनी टिमको प्लेइङ इलावेनमा परेका छैनन्

३. नेपालद्वारा पहिलो पटक भारत पराजित र पहिलो पटक सेमीफाइनलमा
मलेसियाको क्वालालम्पुरमा एसीसी अन्डर १९ एशियाकप भैरहेको थियो । उक्त प्रतियोगितामा दूई समुहमा नेपाल लगाएत ८ टिमले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा अघिल्लो वर्षको विजेता भारतलाई नेपालले पराजित गरेको थियो । १९६ रनको लक्ष्य दिएको नेपालले १९ रनले भारतलाई पराजित गर्यो । अहिलेसम्म कुनै पनि स्तरको क्रिकेटमा नेपालले भारतलाई जितेको यो पहिलो घटना हो ।
उक्त एसीसी अन्डर १९ एशियाकपको पहिलो पटक सेमीफाईनलमा पुगेर रेकर्डसमेत बनाएको थियो ।

४. ईपीएल : विदेशी खेलाडीसहितको घरेलु टुर्नामेन्ट
वर्षको पुस महिनामा काठमाडौंको कीर्तिपुरमा नेपालको इतिहासमै सबैभन्दा ठूलो २१ लाख पुरस्कार राशीको एभरेस्ट प्रिमिएर लिग भयो । पुस ३ गतेदेखि सुरु भएको उक्त लिगमा पहिलो पटक विदेशी खेलाडीहरु मिसाएर घरेलु टुर्नामेन्टको आयोजना गरिएको थियो । ६ टोली सहभागी भएको उक्त प्रतियोगितामा प्रत्येक टिमले ३ जना विदेशी खेलाडी सहभागी गर्न पाउने व्याबस्था थियो ।

५. अनलाइनबाट टिकट बिक्री
एभरेस्ट प्रिमिएर लिग (ईपीएल)मा पहिलो पटक अनलाईनमार्फत टिकट वुकिङको सुरुवात गरिएको छ । योभन्दा पहिले कुनै पनि घरेलु टुर्नामेन्टमा अनलाइनमार्फत टिकट काटेर खेल हेर्ने सुविधा थिएन । यस खेलमा भने आईएमईमार्फत टिकट काट्ने व्याबस्था थियो । यसैको फलो गर्दै धनगढी प्रिमियर लिगमा पनि ई–सेवामार्फत अनलाईन टिकटको व्यावस्था गरेको छ ।

६. घरेलु टुर्नामेन्टमा पहिलो पटक थर्ड एम्पाएर र सबैभन्दा बढी दर्शक
एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा नै पहिलो पटक थर्ड अम्पाएरको व्यावस्था गरिएको थियो । उक्त टुर्नामेन्टको फाइनलमा १६ हजारभन्दा धेरै दर्शकले टिकट काटेर खेल हेरेका थिए । यति धेरै दर्शकले टिकट काटेर खेल हेरेको यो पनि पहिलो पटक हो ।

७. सबैभन्दा महङ्गो प्रत्यक्ष प्रसारण अनुमति
एभरेस्ट प्रिमियर लिगले यो सिजनमा धेरै रेकर्ड बनाएको छ । तीमध्ये एपीवान टेलिभिजनले उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि ३ करोडमा सम्झौता गरेको थियो । यो अहिलेसम्म नेपालमा भएको खेलको प्रत्यक्ष प्रसारणको लागि तिरिएको सबैभन्दा बढी रकम हो


ताजा समाचार