Loading... आजः सोमवार, कार्तिक १०, २०७७

धुवाँधुलो नियन्त्रणका लागि वातावरण मन्त्रालय छुट्टै इकाइ गठन

काठमाडौं २३ चैत।  वन तथा वातावरण मन्त्रालयले धुवाँधुलो नियन्त्रणका लागि मंगलबारदेखि छुट्टै इकाइ गठन गरेको छ। उपत्यकाको धुवाँधुलो समस्या समाधानमा गर्न मन्त्रालयअन्तर्गत शाखाकै रूपमा रहने गरी ‘धुलो नियन्त्रण इकाइ’ गठन गरेको हो। पाँच वर्षयता काठमाडौं उपत्यकामा सडक मर्मत–विस्तार र मेलम्ची खानेपानी परियोजनाका कारण वातावरणमा धुलोको मात्रा धेरै बढेको छ। वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा सोसम्बन्धी समिति गठन गरिएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतका सञ्चार सल्लाहाकार दयानिधि भट्टले बताए।

‘मन्त्रीज्यूको निर्देशनमा धुलो नियन्त्रण इकाइ गठन भएको छ’, भट्टले अन्नपूर्ण पोस्टसँग भने, ‘अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिनेछ।’ मन्त्री बस्नेतको निर्देसनमा तत्काल धुवाधुलो नियन्त्रणका लागि इकाइ गठन गरी काम शुरु भएको हो। बस्नेतले संविधानले हरेक नागरिकको स्वच्छ वातावरणमा बाँच्ने पाउने अधिकार रहेकाले राज्यले अधिकारको ग्यारेण्टी गर्न कुनै कन्जुस्यार्इँ नगर्ने बताए।

उपत्यकालगायत देशका ठुला शहरमा उब्जेको धुलोका कारण सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको स्वाथ्यकर्मीहरूले बताउने गरेका छन्। धुलोले स्वास्थ्यमा पार्ने नकारात्मक असरसँगै दैनिक जीवनसमेत कष्टपूर्ण रहेको भन्दै यो अवस्था यथासक्य चाँडो अन्त्य गर्नेगरी काम अघि बढाएको मन्त्रीले बताए। उपत्यकालाई मास्कमुक्त बनाउनेमा प्रतिवद्ध भएर काम गर्न विज्ञ, प्राविधिक र कर्मचारीसँग सहकार्य गरी इकाईले काम अघि बढाएको छ।

धुलो र धुवाँ फैलनुको कारणबारे मन्त्रीकै निर्देशनमा वातावरण विभागले अध्ययन प्रतिवेदन तयार पारेर बुझाइ सकेको छ। प्रतिवेदनले औंल्याएका समाधानका उपाय अबलम्बन गरेर धुलोधुवाँबाट मुक्त बनाउन मन्त्रालयले कार्ययोजनासहितको काम अघि बढाएको छ। धुलोको प्रमुख स्रोत सडक मर्मत, निर्माण र मेलम्ची खानेपानीको पाइप विस्तार हो भने धुवाँको मूख्य कारण सवारीसाधन, शहर नजिकका इँटाभट्टा, कलकारखाना, खुल्ला रूपमा प्लाष्टिकजन्य वस्तु जलाउने कार्य रहेको वातावरण विभागले बताउँदै आएको छ। सर्वोच्च अदालतले धुँवाधुलो प्रदुषण नियन्त्रण गर्न वातावरण मन्त्रालयलगायत राज्यका १८ निकायविरुद्ध परमादेश जारी गरीसकेको छ।

आखाँले नदेखिने साना धुलो पार्टीकुलेट म्याटर (पिएम) २.५ साइजका धुलोलाई विश्व स्वास्थ्य संगठनले स्वस्थ्य रहनका लागि २५ र राष्ट्रिय मापदण्डले ४० माइक्रोग्राम परमीटरक्यूव तोकेको छ। तर काठमाडौंमा दुई सय पिएमसम्म धुलो पुग्नेगरेको छ। सवारीसाधनको प्रदूषण नियन्त्रण गर्ने दायित्व सरकारले २०५६ सालदेखि यातायात व्यवस्था विभागलाई दिएको छ।


ताजा समाचार