Loading... आजः शनिबार, मंसिर ११, २०७८

डीपीएलको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी, साहब आलमको हृयाट्रिक

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले उद्घाटन खेलमा धनगढी टिम चौराहलाई ७ विकेटले पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन मात्र बनाएको थियो ।  उसका लागि आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे ।

तर, साहब आलमले १८ औं ओभरमा लगातार तीन विकेट लिए । तेस्रो बलमा सुनिल धमलाको विकेट लिएका उनले अर्को बलमा सोमपाल कामीलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । ओभरको पाँचौं बलमा सोनु तामाङको विकेट लिँदै यू-१९ बलर साहबले हृयाट्रिक पुरा गरे ।

१४६ रन पछ्याएको काठमाडौं गोल्डेन्सको सुरुवात राम्रो रहृयो । अनिल श्रेष्ठले पहिलो विकेटका लागि जयमिशन कोल्सावालासँग ५९ रनको साझेदारी गरे । कोल्सावाला १६ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १० र सन्नी पटेल पनि ७ रनमाआउट भए । तर, नरेश बुढायरले चौथो विकेटका लागि अविजित ५४ रनको साझेदारी गर्दै जित दिलाए । श्रेष्ठ ८१ र बुढायर २४ रनमा अविजित रहे ।


ताजा समाचार