Loading... आजः शनिबार, मंसिर ११, २०७८

एसईईमा ‘होम सेन्टर’ परिवर्तनले विद्यार्थी खान बस्नको समस्या

 

जाजरकोट ८ चैत । विहिवार देखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भैरहेको छ । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालय खलंगामा अध्ययनरत छात्रा कुशला हमाल पनि यसपटकको एसईई परिक्षाकी परीक्षार्थी हुन् । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनु पर्ने भएपछि उनी निकै तनावमा छिन् । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाईने नियम लगाएपछि उनी जस्तै हजारौ विद्यार्थी समस्यामा परेका हुन् ।

परीक्षा दिने अघिल्लो दिन सम्म पनि उनी कोठा खोज्नमै तल्लीन थिईन । आफु पढिरहेको विद्यालयबाट परीक्षा दिन नपाएपछि उनी एक दिन टाढाको शिवशंकर मावि जगतिपुर जानु पर्ने बाध्यता आईपरयो । उनी दुई दिन अघि नै त्यहाँ पुगेपनि कोठा खोज्न निकै सकस पर्यो । बल्ल तल्ल पाएको कोठामा पनि न त बत्तिको सुविधा छ न खानेपानी र सुरक्षाको नै । त्यही कोठामा चार जना कोचिएर बस्नु परेको उनले गुनासो सुनाईन ।
सोही विद्यालयकी छात्रा विन्दु रोकायको समस्या पनि उस्तै छ । पहिलो पटक एसइइ परिक्षा दिन थालेकी उनलाई परीक्षा केन्द्र घरभन्दा निकै टाढा भएको र त्यहाँ खान बस्नको समस्या भएपछि उनी चिन्तामा छिन् ।

होटल नहुँदा केही दिनका लागी भएपनि डेरा खोजेर बसेका छौ । कोठा नपाउँदा ५ जना एउटै कोठामा कोचिएर बस्नु परेको छ न त खानेपानीको सुविधा छ न विजुली बत्तीको नै उनले भनिन ‘ हामीलाई साह्रैै समस्या भयो । परीक्षाको तयारी भन्दा अन्य ब्यवस्थापकिय तयारीमा ध्यान दिनु पर्दा परीक्षा विग्रने हो कि भन्ने कुराले सताईरहन्छ । ’
उनीहरु जस्तै सयौ विद्यार्थी यस्तै तनाव र चिन्तामा छन् होम सेन्टरबाट परीक्षा दिन नपाईने सरकारी निर्णयले । विद्यार्थी मात्र होइन उनका अभिभावक समेत चिन्तामा छन् होम सेन्टर हटाउने निर्णयले । दश बर्ष सम्म घरबाटै विद्यालय गईरहेका छोरा छोरी एसएलसी परीक्षा दिन मात्र अर्को विद्यालय जानु पर्ने भएपछि अभिभावक समेत चिन्तामा परेका छन् ।

भेरी २ का अभिभावक गणेश रोकायले परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने काम भएको गुनासो गरे ।
अझ जाजरकोट जस्तो दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ एउटा गाँउबाट अर्को गाँउ जान घण्टौ हिड्नु पर्ने बाध्यता छ त्यस्ता ठाँउमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता , तनाव र सास्ती मात्र दिने गरेको नागरिक अगुवा केदारबहादुर शाह बताउँछन् । अहिले पनि जिल्लाका अधिकांश विद्यालयमा विषयगत शिक्षक छैनन् । तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् । धेरै विद्यालयमा अहिले सम्म आधा कोर्स पनि पुरा भएको छैन उनले भने– ‘ एक जना विद्यार्थीको कम्तिमा २० हजार खर्च हुन्छ गरीव विद्यार्थीले कसरी उक्त पैसा जुटाउने ? ।’ कतिपय यस्ता ठाँउ छन् जहाँ पैसा खर्च गरेर पनि खानेबस्ने होटल पाइदैनन् । गाँउलेको घरमा बस्नु पर्छ आफै खान पकाएर खानु पर्ने बाध्यता छ परीक्षाको समयमा । खानेपानी र विजुली बत्तीको समस्या उत्तिकै छ ।

गाडीवाटै परीक्षा केन्द्र सम्म जान सकिने तराई तथा शहरी क्षेत्रका केही विद्यालयमा होम सेन्टर परिवर्तन गरेपनि खासै फरक पदैन तर भौगोलिक रुपमा विकट रहेका जहाँ होम सेन्टर परिवर्तन गर्दा डेरा नै लिएर बस्नु पर्छ जहाँ एकै पटक ठुलो संख्यामा जाने अभिभावक र विद्यार्थीको लागी खानबस्नको समेत समस्या पर्छ त्यस्ता ठाँउको लागी यो निर्णय विल्कुल गलत र अब्यवहारिक छ त्रिभुवन माविका प्रधानाध्यापक हेरम्बबहादुर शाहले भने–‘कतिपयका अभिभावक समेत साथमै जानु पर्ने हुन सक्छ । यसो हुँदा सदरमुकाममा आउनेले त होटल र कोठा पाउलान तर गाँउमा एकै पटक सयौको संख्यामा गएका अभिभावक र विद्यार्थीको बासको समस्या टडकारो रुपमा देखा पर्ने पर्छ । तसर्थ यो निर्णय तत्काल सरकारले फिर्ता लिनु पर्छ ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माध्यमिक विद्यालयका १९ ओटा परीक्षा केन्दबाट करीब ५ हजार विद्यार्थीले परीक्षा दिदैछन् । कुनै पनि विद्यालयले आफु अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्र अनुसार नै यो निर्णय विगत ५ बर्ष देखी लागु गरिदै आएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहले बताए । तर परिक्षामा कुनै सुधार आएको छैन । जाजरकोट लगायतका कतिपय दुर्गम पहाडी तथा हिमाली जिल्लामा होम सेन्टर हटाउने निर्णय ब्यवहारीक छैन जिल्ला शिक्षा अधिकारी सिहले भने ‘ अधिकाँश परीक्षा केन्द्रमा खानेपानी र शौचालयको अभाव , दुषित पानीको प्रयोग , सरसफाईको कमी ,गासबासको समस्या , छात्राहरु यौन हिंसामा पर्ने गरेको , दाउराको समस्या , पढाईको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य हुने गरेका छन् ।

 

’ यसकारण होम सेन्टर परिवर्तन हटाउन आफुले सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाई नभएको उनले बताए ।
होम सेन्टर परिवर्तनका कारण अर्को ठाँउमा एक जना विद्यार्थीको साथमा थप २ जना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नु पर्ने भएकोले पठनपाठनमा त विद्यार्थीलाई समस्या पर्छ नै स्वास्थ्यमा समेत समस्या पर्ने देखिन्छ । शिक्षा ऐन अनुसार विद्यालय तह सम्म घरबाट आधा घण्टाको दुरीमा अध्यापन गराउने ब्यवस्था मिलाईने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनु बाल अधिकारको समेत हनन हुने अधिकारकर्मीको धारणा छ ।


जिल्ला शिक्षा कार्यालयको पहलमा जिल्लाका सवै परीक्षा केन्द्रमा स्यानेटरी प्याड राखिने भएको छ । महिनावारी भएकी छात्राको सजिलोका लागी स्थानेटरी प्याडको ब्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिहले बताए । उनले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापनाका लागी पनि जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह अनुसार सम्भव हुने ठाँउमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्थापना गर्ने प्रतिबद्धता आएको बताए । परीक्षालाई मर्यादित बनाउँने भन्दै होम सेन्टर परिवर्तन गरिएपछि चिट चोर्ने र चोराउने कुरा थप चुनौतिपुर्ण बन्दै गएको जिशिअ सिंहको भनाई छ ।


ताजा समाचार