Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

कोहलपुर नगर विकासको करिब ३० करोडको जग्गा भेटियो

संगिन शर्मा,
काहलपुर । कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्ययन र पहलमा समितिको करिब रु ३० करोडको गुमनाम जग्जा फेला परेका छन् ।

कोहलपुर नगर विकास समितिको दोश्रो चरण अन्तरगतको शिक्षण अस्पताल कोहलपुरको उत्तरी गेटदेखि करिब ५० मिटर उत्तर सडकको पूर्व पट्टीको कि.नं ६० को एक कठ्ठाको घरेलीमा टिनका टहरा बनाएर मानिसहरु बसिरहेका छन् । त्यस्तै सोही सडकको पश्चिम पट्टी कर्नरमा रहेका कि. नं ७८ र ७९ का एक/एक कठ्ठाका दुई वटा घरेलीमा पनि मानिसहरु अस्थायी टिनका टहरा बनाएर बसिरहेका छन् । ती दुई घरेली आफ्ना भएको केही मानिसहरुले शुरुमा दावी गरेका थिए । तर उनीहरु सँग कुनै प्रमाण नभए पछि अहिले पछाडि हच्किएका छन् । ती तीन वटै घरेलीहरुलाई खाली गराउने र नगर विकास समितिले टेण्डर गरी विक्री गर्ने वा आफ्नै स्वामित्वमा राखेर बहुआयामीक भवन बनाउने बारेमा छलफल भइरहेको नगर विकास समिति अध्यक्षले बताए ।

हाल टेण्डर गर्दा ती एक कठ्ठाका प्लटहरु करिब रु २ करोड देखि रु ३ करोड सम्ममा विक्री हुने सम्भावना रहेको खड्काले बताए । नगर विकास समितिको तथ्याङ्क अनुसार २०५४/५५ साल तिर त्यस चरणका घरेलीहरु विक्रीका लागि टेण्डर गर्दा ती प्लटहरुमा टेण्डर नपरी बाँकी रहेका र त्यस यता कुनै पनि समितिले त्यसबारे वास्ता नगरेको वा त्यस क्षेत्रका सबै प्लट विक्री भइसकेका भनेर बसेको अवस्था थियो । हालका अध्यक्षले सबै तथ्याङ्कहरु हेर्दा र मालपोतमा श्रेस्ता हेर्दा ती प्लटहरु हाल सम्म विक्री नभएका तर अरुले नै प्रयोग गर्दै आइरहेको फेला परेको हो । त्यस्तै दोश्रो चरणकै कोहलपुर शिक्षण अस्पतालको पश्चिम पट्टीको महेन्द्र राजमार्ग देखि पर्यटन कार्यालयको अगाडि सम्मको १३ मिटर चौडा सडकको पश्चिम पट्टी रहेका करिब ३५ वटा घरेलीहरु पनि विक्री नभएको अवस्थामा फेला परेका छन् । त्यहाँ २७ वटा घरेलीहरु कोही ८ धुर त कोही ९ धुरका रहेका छन् । हाल त्यहाँको १३ मिटर सडक पिच गरिएको छ र सडक सँगै बनाएको नाली निर्माणकै क्रममा भत्कीएको छ । ती २७ वटा घरेली मध्य केही नगर विकास समितिको क्षेत्र भन्दा पश्चिम पट्टी घरेली भएका व्यक्तिहरुले आफ्नो जग्गा देखि नगर विकासका ती प्लटहरुलाई अतिक्रमण गरी घर बनाएका छन् । ती २७ वटा घरेलीको १३ मिटर सडक ग्राभल रहेको अवस्थामै प्रति धुर रु २ लाख २० हजार मुल्याङ्कन रहेको छ । हाल सो सडक पिच भइसकेकाले त्यसको न्यूनतम मूल्याङ्कन प्रति धुर रु ३ लाख भन्दा माथि हुने र टेण्टर प्रक्रियामा जाँदा प्रति प्लट रु ३० लाख भन्दा माथि विक्री हुने देखिन्छ । यस हिसाबले ती घरेलीको मात्रै रु ८ करोड भन्दा बढी मूल्याङ्कन हुन्छ । अन्य बाँकी प्लटहरुको क्षेत्रफल कम भए पनि मूल्याङ्कन त्यही अनुपातमै हुने निश्चित छ । त्यसको पनि करिब रु २ करोड मूल्य बराबर हुन जान्छ । यसरी ती ३५ वटा प्लटको मूल्याङ्कन मूल्य करिब रु १० करोड बराबर हुन्छ भने टेण्डर प्रक्रियामा जाँदा त्यो भन्दा बढी नै हुन्छ ।

अचम्मको कुरा त के फेला पर्यो भने त्यस ठाउँका ती प्लटहरु नगर विकास समितिका प्लट भन्दा पश्चिम पट्टी घरेली भएका व्यक्तिहरुले यस अघिका समितिका कतिपय अध्यक्षहरुसँग भित्री रुपमा साँठगाँठ गरी टेण्डर नगरी आ–आफ्ना घरेलीको अगाडिको प्लटहरु मिलाएर किन्ने पहल गरेको समेत खुल्न आएको छ । त्यस्तै कोहलपुर–नेपालगञ्ज सडक खण्डको एनटिभि जाने चोक देखि करिब ५० मिटर पश्चिम नगर विकास समितिका ४ वटा प्लटहरु र सडक समेत अतिक्रमण गरी केही व्यक्तिहरुले घर समेत बनाएको नापजाँचको क्रममा भेटिएको छ ।

ती प्लटहरुको मूल्य हाल करिब १० करोड बराबर हुन जान्छ । ती सबैमा हाल नगर विकास समितिले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत , वडा नं .११ का वडा अध्यक्ष कर्ण बहादुर थापा सहितको अनुगमनमा घर भत्काउन रेखाङ्कन समेत गरिसकेको नगर विकास समिति अध्यक्ष खड्काले बताए । हाल कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले संयुक्त रुपमा अनुगमन गर्ने र यसरी अतिक्रमणमा रहेका जग्गाहरु पत्ता लगाई नाप नक्सा गराउने कार्य गरिरहेको बताएका छन् ।


ताजा समाचार