प्रदेशस्तरीय क्रिकेटमा सुर्खेत, जुम्ला र सल्यान विजयी
सुर्खेत । सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका खेलमा सुर्खेत, जुम्ला र सल्यान विजयी भएका छन्।
बुधबार सम्पन्न पहिलो खेलमा सल्यान विजयी भयो। सल्यानले दैलेखलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिंग गरेको दैलेखले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो । दैलेखका पदम शाहीले सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन्। सल्यानका लागि समिप श्रेष्ठले ३ तथा चन्द्र बिसीले २ विकेट लिए।
९३ रनको लक्ष्य पछ्याएको सल्यानले ९ दशमलव १ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्यो। सल्यानका लागि चन्द्र बिसीले ४३ तथा राजु थापाले ३२ रनको योगदान गरे। ४३ रन बनाउनुका साथै दुई विकेट लिएका सल्यानका चन्द्र बिसी खेलको म्यान अफ दि म्याच घाेषीत भए ।
त्यस्तै अर्काे खेलमा सुर्खेतले जाजरकोटलाई ७६ रनले पराजित गर्यो। टस जितेर जाजरकोटले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि सुर्खेतले ब्याटिङ गरेको थियो । सुर्खेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनायो जसमा निश्चल रावलले सर्बाधिक ७० रन जोडे ।
दुई सय १५ रनको लक्ष्य पछ्याएको जाजरकोट १८ दशमलव १ ओभरमा एक सय ३८ रनमै समेटियो । जाजरकोटका सुमन गुरुङले ४७ र मोविन शाहीले ३१ रन जोड्दा सुर्खेतका ललित प्याकुरेल एक्लैले पाँच विकेट लिए । ७० रन बनाएका सुर्खेतका निश्चल रावल खेलको म्यान अफ दि म्याच बने । लगाचार चार वटा खेल जितेको सुर्खेत ८ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा छ ।
बुधबार नै जुम्लाले रुकुमलाई पराजित गरेको छ। जुम्लाले रुकुमलाई १० विकेटले पराजित गरेको हो। टस हारेर पहिलो ब्याटिङमा निम्त्याइएको रुकुमले ११ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्रै बनाउन सक्य । रुकुमलाई सस्तैमा समेट्ने क्रममा जुम्लाका अमर केसी र जितेन्द्र शाहीले ३-३ विकेट लिए। ५६ रनको लक्ष्य जुम्लाले विनाकुनै क्षति ६ ओभरमा पूरा गर्यो । उसका लागि समिर चन्दले ३६ र सुवर्ण शाहीले १४ रन बनाए ।
प्रतियोगिता अन्तर्गत बिहीबार दैलेख र जाजरकोट, सुर्खेत र रुकुम तथा सल्यान र जुम्लाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएकाे छ ।