Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

हेलिकोप्टर मार्फत मृत्युको मुखमा पुगेकी सुत्केरीको उद्दार

जाजरकोट, २२ फागुन । दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी कुशें गाउँपालिका –४, तम्ती जाजरकोटकी ४० वर्षीया विपना शाहीको सोमबार हेलिकोप्टर मार्फत उद्दार गरिएको छ । शाही सुत्केरी व्यथाले थलिएपछि हेलिकोप्टर मार्फत उद्दार गरिएको कुशें गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
अर्छानी स्वास्थ्य चौंकीमा प्रसूती गराउँन सम्भव नभएपछि उपचारका लागि हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज नरसिंह होममा लगिएको छ । अहिले उनको उक्त नरसिंह होममा उपचार भईरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कुशें गाउँपालिका –४, तम्तीमा सडक सञ्चाल नजोडिएकोले हेलिकोप्टर मार्फत उद्दार गरिएको हो ।

हेलिकोप्टर कसरी उडाईयो ?

शाहीको परिवारमा श्रीमान, ३ छोरी र १ छोरा छन् । भने, उनको पारिवारीक अवस्था नाजुक भएकोले प्रसूती गराउँन सुविधा सम्पन्न अस्पतालमा लिन समस्या भएको थियो । उक्त समस्याका कारण मृत्युको मुखमा पुगेकी उनको उपचारकालागि कुशें गाउँपालिकाको राहत तथा उद्दार कोषबाट ४ लाख ५० हजारमा खर्च गरेर पोखराबाट हेलिकोप्टर मगाएर उद्दार गरिएको कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

जिल्लाको उत्तर, पश्चिम क्षेत्रमा पर्ने कुशें गाउँपालिका –४, तम्तीका प्रायः सुत्केरी आईमाई घरमै सुत्केरी हुने, उच्च रक्तश्राव हुने, नवजात शिशुको ज्यानै जाने समस्या विकाराल बन्दै गएको उक्त गाउँपालिकाका अध्यक्ष बस्नेत बताउँछन् । आफ्नै अगाडी सुत्केरी आमा, दिदी, बहिनीहरु प्रसूती हुन नसकेर मृत्यु भएको आफूले देख्नै नचहाने गाउँपालिकाका अध्यक्ष बस्नेतको तर्क छ । यी र यस्ता समस्याका कारण अकालमै ज्यान नगुमाउन भनेर आफूले हरहमेशा सम्बन्धित निकाय र आफ्नो तहबाट कोशिश गरिरहेको अध्यक्षले बताए । त्यसैले यस्ता समस्या बारम्बार दोहोरीन नदिन कुशें गाउँपालिकामा २५ शैंयाको हस्पीटल निर्माणका लागि सरकारले पहल गरिदिनु पर्ने अध्यक्ष बस्नेत बताउँछन् ।


कुशें गाउँपालिकाको राहत तथा उद्दार कोषबाट आजसम्म के–के कार्य भयो ?
आर्थिक वर्ष २०७४÷०७५ असार महिनाको २९ गते कुशें गाउँपालिकाले गाउँ परिषद्बाट राहत तथा उद्दार कोषका लागि ४२ लाख छुटाईएको कुशें गाउँपालिकाका लेखापाल छवी खनालले बताए । राहत तथा उद्दार कोष मार्फत गाउँपालिकामा अकस्मात आईपर्ने समास्याको समधानका लगि सो रकम प्रयोग गरिने लेखापाल खनाल बताउँछन् ।

कुशे गाउँपालिका –७ की १५ वर्षीया एलिना हमाललाई ब्लड क्यान्सर भएको थियो । हमालको सिभिल हस्पिटल काठमाण्डौंबाट गत असोज महिनमा ब्लड क्यान्सर भएको रिपार्ट र पत्र प्राप्त भएपछि उक्त कोषबाट ६ लाख रुपैंयाँ राहत स्वरुप प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष बस्नेतले बताए । हमालले आफूलाई आफ्नो गाउँपालिकाकाले राहत स्वरुप ६ लाख प्रदान गरेर आफूले नयाँ जीवन पाएको बताउँछिन् ।

त्यस्तै गत असोज महिनामा आएको बाढीले झण्डैं ३१ घरधुरिका सयौं कुन्टल धान फल्ने खेत बगाएको थियो । सयौं स्वीन्टल धान फल्ने खेत बाढीले बगाएपछि बाढी पीडितलाई राहत तथा उद्दार कोषबाट साढे ३ लाख बराबर ६० क्वीन्टल चामल खरिद गरी पीडितलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बस्नेतले बताए ।

त्यसैगरी वर्षातको सिजनमा कमाई गर्न भारतको धारचुला पुगेका कुशें गाउँपालिकाका ९ जनाले धारचुलाको बाढी पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । ज्यान गुमाएका प्रत्येक आफन्तलाई किरीया खर्च वापत २५, २५ हजार रुपैंयाँ वितरण गरिएको छ ।
कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत भन्छन्, ‘कुशेंका जनता रोग, भोक, गरिबी, अशिक्षाबाट बाँचे र बचाउँन पाए गाउँपालिकाको विकास निर्माण र हरेक कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ ।’


ताजा समाचार