Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

महिनावारी स्त्रीले बार्नुपर्छ भनेर कुनै धर्मले भनेको छैन


मातृ देवो भव: अर्थात् आमा देवताभन्दा पनि ठूलो हुन्। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी: अर्थात् जन्म दिने आमा र जन्मभूमी स्वर्गभन्दा पनि उच्च छ। पृथ्वीलाई माता भन्ने संस्कार हामीलाई हाम्रो धर्मले सिकाएका छन्।

पृथ्वीले प्राणी जिउनलाई चाहिने आवश्यक अन्नपात, औषध उपचारका लागि आवश्यक जडिबुटी लगायत सवै उत्पादन गरिदिन्छ। जन्म दिन सक्ने क्षमतावान् नै माता हुन्। जन्म दिने क्षमता प्रकृतिले स्त्रीजातिलाई दिएको छ। प्रजनन शक्ति वरदान पाएका स्त्रीजातिमा हुने अनि प्रजनन प्रकृयासंग प्रमुख सम्बन्ध रहेको एउटा प्रकृया हो। ‘महिनावारी’ यसलाई मासिक स्राव वा रजक भएको भन्ने पनि गरिन्छ। महिनावारी नारीहरूका साथ मासिक श्रृंखलाबद्ध हुने प्राकृतिक शारीरिक प्रक्रिया हो।

सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन्।

महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ। नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हो। महिनावारी महिलाको प्रजनन् क्षमतासँग जोडिएको हुन्छ र यो महिलाको शारीरिक परिपक्वताको मानक पनि हो। अनि यो महिलाको प्रजनन क्षमता र सुस्वास्थ्यको संकेत पनि हो। प्रजनन सम्बन्धी आवश्यक रासायनले महिलाको गर्भाशयलाई हरेक महिना गर्भाधानका लागि योग्य बनाइदिन्छ। यस अवधिमा महिलाले गर्भाधान गरिनन् भने यी रसायन रगतमा मिसिएर योनी हुँदै शरीरबाट बाहिरिन्छ। महिलाको शारीरिक यहि प्राकृतिक प्रकृया नै रजश्वला याने महिनावारी अथवा रजश्वाला हो।

स्त्रीजाती मानव सृष्टिकाका मूल आधारभूमि अनि प्रजन क्षमताका शारीरिक मानक नै महिनावारी याने रजस्वला हो। यस यथार्थ हुँदाहुँदै पनि सनातन धर्म ग्रन्थ लगायत संसारका सबै धर्म ग्रन्थहरूमा महिनावारीलाई धार्मिक, संस्कृतिक लगायत दैनिक जीवनमा वर्जित गरिएको छ। सनातन धर्मको मूल आधार चारै वेदमा भने महिलाको महिनावारिलाई छुन नहुने भनेर भनेको छ भनेर वेद ज्ञाताहरू कसैले यहाँ भन्न सकिरहेका छैनन्। तर पनि सनातन समाजमा महिनावारिले महिलाहरूमा आततयिक संस्कारका रुपमा जडा गाडेका छन्।

उसो त नेपालमा किराँत, बोनपो लगायत धर्म मान्ने जनजाति तथा सनातनी शैव सम्प्रदायका जनजाती नेवार समुदायमा महिनावारी बार्ने परम्परागत चलन छैन। तर आधुनिक जनजाती समाजमा महिनावारिलाई छुन नहुने संस्कारका रुपमा चलनचलाई आएको यहाँ देख्न पाइन्छ। यसको मूल कारण हो गैर सनातनी जनजातिको संस्कारको प्रभाव।

महिलामा हुने आततायी संस्कारको रुपमा चली आएको महिनावारी छुन नहुने संस्कारका रुपमा अन्यत्र जिल्लामा भन्दा पनि नेपालको पश्चिम, मध्यपश्चिम तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा बढी नराम्रोसँग जडा गाडेको पाइन्छन्। यस क्षेत्रका महिलाहरू पहिलोपटक महिनावारी हुने किशोरीले ११ देखि १५ दिनसम्म, अन्य युवतीहरूले पाँचदेखि सात दिनसम्म र विवाहिताले चार दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने हुन्छ। यहाँको स्थानीय भाषामा महिनावारी हुनुलाई छाउ अथवा छुई भन्ने चलन छ।

त्यसरी महिनावारी भएकी महिलालाई घरभन्दा टाढा बनाइएको सानो झुपडी वा गाईवस्तु बाँध्ने गोठमा राख्ने गरिन्छ। त्यसरी राखिएका वा बस्न विवश महिला ‘छाउपडी’ हुन्छन्। छाउपडी गोठको ढाँचारस्वरूप जिल्ला, गाउँ तथा स्थानअनुसार फरक–फरक हुने गर्छ। छाउ भएको समयमा सार्वजनिक स्थान (धारो, बाटो, विद्यालय, मन्दिर आदि) प्रयोग गर्न नपाउनुका अतिरिक्त कसैलाई नछोइकन अलग्गै बस्नुपर्छ। सरसफाईको अत्यन्त आवश्यक हुने यस बेलामा किशोरी तथा महिलाहरूलाई साबिकको पँधेरो, धारा तथा कुवा छुन दिइँदैन। साथै पोषणयुक्त खाने कुरा (दूध, दही, घ्यू आदि) खान नहुने मान्यता पनि छ।

छाउ भएकी महिलालाई घरभित्रको आन्तरिक काम गर्न प्रतिबन्ध छ तर घरबाहिर भारी काम गर्न (घाँस, दाउरा, खेतबारी खन्न, ओखल तथा ढिकी कुट्न) लगाइन्छ। यस अवस्थामा पौष्टिक पदार्थको सेवनलाई वञ्चित गरिएको छ भने कामको बोझलाई कम गर्ने बारेमा केही सोचिएको छैन। छाउपडी गोठमा बसेका बेला किशोरी तथा महिलाहरू कोही जाडोका कारण, कोही सर्पले टोकेर तथा कोही धुँवाबाट निस्सासिएर मर्ने गरेका समाचारहरू अहिले पनि हेर्न र सुन्न पाइन्छन्। यसैगरी छाउगोठमा बसेका महिला तथा किशोरीहरू बलात्कृत पनि भएका छन्। एउटा निश्चित उमेरसम्म प्रजननका लागि प्रकृतिले दिएको स्वाभाविक प्रक्रियाका कारण प्रत्येक महिना पश्चिमी भेगका लाखौँ किशोरी तथा महिलाको जीवन कष्टकर तथा अस्वस्थ बनेको छ।

यदि महिलाहरूमा हुने महिनावारी छुन नहुने संस्कार नै हो वा सनातनी धर्मका ग्रन्थ मनुस्रुती लागायतका ग्रन्थाका आधारलाई स्विकार्ने हो भने स्त्रीजातिमा हुने शारिरिक प्राकृतिक बनोटअनुसार हुने प्रकृया अन्तर्गतका यो मासिक स्राव याने महिनावारी हुँदाका अवस्थामा सनातनिले सनातनदेखि श्रध्दा र भक्तिले पुज्दै आएका महाशक्तिदायिनी महादेवी पार्वती, लक्ष्मी र सरस्वती लगायतका कुनै देवी सात दिनसम्म पर सरेको, आफ्ना स्वामी र आफ्ना धामको (घरको) केही सरसामान नछुन छाउगोठमा बसेका थिए भनेर कुनै धार्मिक ग्रन्थ तथा कथाहरूमा उल्लेख भएको देखिँदैन।

यसको अर्थ हो सनतनी धर्मले महिनावरी भएको स्त्रीलाई छुन नहुने भनेर भनेको नै छैन वा बार्नुपर्छ भनेको छैन। महादेवीहरूमा पनि मासिक स्राव हुन्थ्यो त्यस्को एउटा प्रमाण नागार्जुनको तल गोल्ढुङ्गास्थित पुरानो गुहेश्वरी पीठलाई लिन सकिन्छ।

पौराणिक कथा अनुसार समुन्द्र मन्थानबाट निस्केको कालकुट विष देवादी देव महादेवले सेवन गरेपछि छटपटाउँदै चिसो ठाउँ खोज्दै जाने क्रममा सतीदेवी पनि सँगै जाँदा नागार्जुन पर्वतको फेद रमणिय फुलवारीमा आइपुग्दा सतीदेवीलाई रजस्वला भएको र रजस्वला भएको अवस्थामा यात्रा गर्न उचित नभएकाले सतीदेवी यहाँ चारदिन विश्राम लिनु भएको र शिवजी गोसाइँकुण्ड जानुभएको भन्ने छ।

सतीदेवी रजस्वला भएको त्यही स्थान तथा चारदिन विश्राम लिनुभएको त्यो स्थल नै कालन्तरमा गुह्यस्वरी पिठको नामले सवैले पुज्न थाले। सतीदेवी रजस्वला भएको स्थल पवित्र र पुण्यभूमी हुने अनि रजस्वला भएकी नारी चाहिँ अपवित्र हुनेरु त्यस्तै अर्को एउटा प्रामाण भारतको कामरुप कामाख्या शाक्ती पीठ हुन्। कामाख्या देवी रजस्वला भएकी देवी हुन्। त्यस शक्ति पिठमा देवीको मासिक स्राव भइरहेकै अवस्थाको योनिलाई नै पुजा गर्ने गरिन्छन्। धर्मले रजस्वला भएकी नारी अपवित्र मान्छ भने कामख्या रजस्वला देवी र त्यसस्थलाई किन पुजा गर्छन् अनि किन शक्तिपीठ मान्छन्रु

हुन त केही पौराणिक कथा अनुसार देवराज इन्द्रले विस्वरुपको शीरलाई तीन टुक्रा पारेर ब्रम्हहत्याको पाप भोग्न परेकाले चतुरमुखी ब्रम्हा कहाँ पुगि सबै वृतान्त सुनाउनु भयो। तब ब्रम्हाजीले इन्द्रको ब्रम्ह हत्यापाप निवारण गराउनका निमित्त ब्रम्ह हत्याको दोषको पाप मध्यको एक वर्षसम्म इन्द्रले भोग गरि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्री गरि चार भाग लगाई चार स्थानमा फ्याँकी दिनुभयो। पछि त्यही नै उषरभूमी वृक्षबाट निस्केको खोटो बुदबुद फेन जल र स्त्रीको रजमा त्यो पाप देखिन्छन्। यसै कारण महिनैपिच्छे रजस्वला हुने रजवती महिलालाई तीन दिनसम्म छुनै हुन्न भन्ने शास्त्रीय मान्यता रहेका पनि छन्। केही शास्त्रमा त्यस्तो उल्लेख हुँदैमा इन्द्रको ब्रम्ह हत्यापाप सर्व नारीजातिले भोग्नु नै पर्ने छ भनेर वेद लगायत कुनै धर्म शास्त्रमा न त भनेको छ न त निर्देशित नै छ।

‘यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर सनातनी धर्म शास्त्रहरुले नारीको महिमा गाइरहेको अवस्था पनि मातृशतात्मक राज्य शासनको अन्त्य सँगै समाज विकासको क्रममा मध्ययुगसम्म आइपुग्दा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाप्रति भेदभाव गरिएको महिनावरिको यो छुन नहुने प्रथा आजको आधुनिक युगसम्म आइपुग्दा अशिक्षित समाजमा मात्र पनि हैन शिक्षित समाजभित्र पनि यस प्रथाले पूर्ण मुक्ति पाउन सकिरहेके छैन।


ताजा समाचार