आज फागू पूर्णिमा, पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइदै

जाजरकोट । आज फागू पूर्णिमा, पहाडी जिल्लाहरुमा होली खेलेर हर्षोल्लासका साथ मनाइदैछ ।
आज जाजरकोट सहित पहाडी जिल्ला र भोलि भित्रि मधेसहित तराईका जिल्लामा होली मनाइने छ । फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ ।
फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ ।
होली पर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ । त्रेतायुगमा हिरन्यकश्यप नामक दानवले आफनै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफनी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।
भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसंग जोडिएको छ ।