Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई, प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । सरकारले विश्वकप छनोट खेल्ने जिम्बाब्वे जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको छ । राजधानीमा एक विशेष कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई विदाई गर्नुभएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै उहाले नेपाली क्रिकेट टोलीले हालैका दिनहरुमा सफलता पाउदै गएकोमा हर्ष प्रकट गर्दै यसलाई निरन्तरता दिदै जानुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘आत्मविश्वासका साथ खेल्नुस, धैर्यताका साथ खेल्नुहोस्, जितेर आउनुहोस्’ । उहाले खेलक्षेत्रलाई अगाडी बढाउने सरकार बनेको भन्दै खेल र खेलाडीसगै यो सरकार सदैव रहने बताउनु भयो । ‘युवा तथा बालबालिकाको विकासका लागी यो सरकारले काम गर्नेछ, खेलक्षेत्रलाई अगाडी बढाउन हरसम्भव प्रयास यो सरकारले गर्नेछ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रधानमन्त्रीज्यूको पाँच वर्षे कार्यकालमा क्रिकेट र फुटबल रंगशाला बन्नेमा आशावादी रहेको बताए । उनले आगामी दिनमा सरकारले क्रिकेट सहित सबै खेललाई अगाडी बढाउने पहल गरिदिन आग्रह गरेका थिए । साथै उनले नेपाली क्रिकेटलाई अझै माथि लैजानका लागी अझै धेरै मेहनत गरेर अघि बढ्न कोसिस गर्ने बताए ।

कार्यक्रममा पूर्व घोषणाअनुसार डिभिजन टू खेलका उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई जनही ३ लाखको चेक पनि हस्तान्तरण गरिएको थियो । आजैका दिन ६७ औं वर्ष पुरा गरेका ओलीले केक काटेर कप्तान खड्कालाई खुवाएका थिए ।

janatatimes


ताजा समाचार