Loading... आजः मङ्लबार, अशोज ५, २०७८

कोहलपुर आयुर्वेद औषधालयले सुरु गर्यो, स्टिम बक्स उपचार पद्दती


संगिन शर्मा
काेहलपुर । आयुर्वेद औषधालय कोहलपुर शाखाले अत्याधुनिक प्रविधिको स्टिम बक्स भित्राएको छ । आयुर्वेदिक पद्धतीबाट बिभिन्न रोगहरुको उपचार गर्दै आएको शाखाले स्वधन (बाफले सेक्ने) र स्नेहन (मसाज गर्ने) पद्धती मार्फत उपचार सेवा प्रारम्भ गरेको हो ।

स्टिम बक्सको माध्यमबाट बाथको समस्या भएकाहरु तथा
हाड जोर्नी, नशा र ढाडका बिरामीहरुले सहज रुपमै स्वास्थ्यलाभ गर्ने भएकाले यस्तो प्रविधि भित्राईएको आयुर्वेद औषधालय कोहलपुर शाखाका प्रमुख उदिप क्षेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिरामीहरुलाई बिशेष रुपमा तयार पारिएको काठको बाकसमा राखी बाफका माध्यमबाट उपचार गर्ने पद्धतीलाई नै स्टिम बक्स वा स्वधन प्रविधि भनिन्छ ।

अण्डकोषको समस्याबाट गुज्रिरहेका कोहलपुरस्थित कालिकानगर १० का लक्ष्मी प्रसाद काप्लेले नयाँ प्रबिधि निकै सहज र भरपर्दो रहेको बताए । हाडजोर्नीको समेत समस्या रहेको बताउँदै काप्लेले स्टिम बक्स प्रविधिबाट उपचार गराएको १ हप्तामै राम्रो सुधार भएको प्रतिक्रिया दिए ।

आयुर्वेद औषधालयको केन्द्रिय कार्यक्रम अनुसार सबै जिल्लाहरुमा शाखा बिस्तार गर्ने क्रममा कोहलपुर शाखाले पनि स्टिम बक्स र शिरोधारा प्रविधि भित्राएको कार्यालय प्रमुख श्रेष्ठ बताउँछन । बिगत लामो समयदेखी बिभिन्न रोगले ग्रसित बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको औषधालयले आफ्नाे सेवा विस्तार गर्ने क्रममा नयाँ प्रबिधि भित्राएको बताउँदै श्रेष्ठले दैनिक २० देखि २५ जना विरामीहरुले सेवा लिदै आएको जानकारी दिए । यद्यपी आवश्यक जनशक्तिको अभावमा प्रभावकारी सेवा दिन नसकेको श्रेष्ठले गुनासो गरे ।

दरबन्दी अनुसारको कर्मचारी नभएकाले कार्यालय सहयोगीको भरमा सेवा संचालन गर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले स्थानिय सरकारमार्फत आवश्यक जनशक्ती पूर्तिका लागी पहल गरिएको जानकारी दिए । कोहलपुर नगरपालिकासँगको समन्वयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत संचालन गर्दै आएको आयुर्वेद औषधालय कोहलपुरले निःशुल्क रुपमा अशोगन्धा र आमलकी चुर्न समेत बितरण गर्दै आएको छ । सबै रोगका बिरामीहरुले प्रयोग गर्न मिल्ने भएकाले नगरभित्रका बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा आयुर्वेदिक औषधीहरु बितरण गर्दै आएको श्रेष्ठले बताए ।

नगरपालिकाले सो कार्यक्रमका लागी ५ लाख बजेट छुट्टाएको बताउँदै श्रेष्ठले स्थानिय रुपमै जडिबुटि उत्पादन गर्नुपर्नेमा जोड दिए । “स्थानिय स्तरमा उत्पादन हुने जडिबुटिबाट गुणस्तरीय औषधी उत्पादन गर्न सकिन्छ” श्रेष्ठले भने “कोहलपुर नगरपालिकाले औषधि उत्पादनकालागी आवश्यक मेसिन उपलब्ध गराएको खण्डमा हामी आफै औषधी उत्पादन गर्न सक्षम छौं ।” श्रेष्ठले निकट भविश्यमै औषधालय परिसरमा विभिन्न प्रजातीका जडिबुटिहरु उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।


ताजा समाचार