Loading... आजः शनिबार, कार्तिक ६, २०७८

डिपिएलमा कुन खेलाडीको मूल्य कति ?

काठमाडौं । आगामी चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सकिएको छ।

लिगमा सहभागी हुने ६ टिमले अक्सन मार्फत कुल ७२ खेलाडी खरिद गरेका छन्। कुल १९२ जनाले आवेदन दिएका थिए। १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो।

खेलाडीलाई ४ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो।

‘ए’ श्रेणीको खेलाडीहरु माथि बोलि लगाउँदै सुरू गरिएको अक्सनमा बसन्त रेग्मी, करन केसी, आरिफ शेख, सागर पुन सबैभन्दा महँगो १ लाख ५० हजार रुपैयाँमा बिके।

रेग्मीलाई पारस खड्का रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले, करन केसी र आरिफ शेखलाई बिनोद भण्डारी रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले तथा सागर पुनलाई शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले खरिद गर्‍यो।

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल साहलाई समान १ लाख रुपैयाँमा खरिद गर्यो।

१२ खेलाडी किन्न सबैभन्दा कम ७ लाख २० हजार खर्चेको दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई १ लाख रुपैयाँमा तथा सन्दिप जोरालाई ९० हजार र सुबास खकुरेललाई ८० हजार रुपैयाँमा किन्यो।

यु-१९ राष्ट्रिय क्रिकेट टिमका सदस्य रहिसकेका शुवांकर उराउलाई च्यालेन्जर्सले ८५ हजार रुपैयाँमा किन्यो।

ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले नरेश बुढाऐरलाई सर्वाधिक १ लाख २० हजार रुपैयाँमा तथा ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतो र शाहब आलमलाई १ लाख रुपैयाँमा खरिद गर्‍यो। सन्तोष भट्टलाई ९५ हजार रुपैयाँ तथा राशिद खानलाई ५५ हजार रुपैयाँमा गोल्डेन्सले खरिद गर्यो।

महेन्द्रनगर युनाइटेडले करन केसी र आरिफ शेखलाई १ लाख ५० हजार खर्च गर्दा रोहित पौडेल र भुवन कार्कीलाई १ लाख रुपैयाँमा किन्यो। हरिशंकर शाहलाई ९५ हजार तथा अभिनाश कर्णलाई ८० हजार रुपैयाँमा किनेको टिमले आसिफ शेखलाई किन्न ५५ हजार खर्चियो।

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, बिक्रम भुसाल, सुशन भारि र सिद्धान्त लोहनीलाई १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मुल्य पाए।

सोमपाल कामि रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले योगेन्द्र सिंह कार्की, ललित सिंह भण्डारी, सोनु तामांग र सुनिल धमलालाई १ लाख रुपैयाँमा किन्यो। राजेश पुलामीले ८० हजार मुल्य पाए भने शंकर राना र रबिन्द्र जंग शाही ५५ हजार रुपैयाँमा खरिद भए सेतोपाटिमा खबर छ ।

 


ताजा समाचार