Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

बामपन्थी सरकारले भोली पूर्णता पाउने, को-को बन्दैछन् मन्त्री ?


काठमाण्डौ । संघीय नेपालको पहिलो सरकारले भोली बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिदेखिको सबैको चासोको विषयमा रहेको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको लागि सोमबार मध्यराति सहमतिमा हस्ताक्षर भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सोमबार पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक भइसकेकोले सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । त्यस्तै, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बुधबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरिन् ।

पार्टी अध्यक्ष प्रचण्ड मंगलबार चितवन गएको र बुधबार त्यहाँबाट फर्कने कार्यक्रम रहेकाले उनी फर्किएलगत्तै छलफल गरेर सरकारमा सहभागी हुने नेतृ भुसालको दाबी थियो ।

यता, एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधबारसम्म सरकार विस्तार हुने विश्वास व्यक्त गरे । दुई पार्टीबीच पार्टी एकताको आधारपत्रमा हस्ताक्षर भइसकेकाले सरकार विस्तारमा विलम्ब नहुने उनको भनाइ थियो । एमालेसँग पार्टी एकताबारे ठोस सहमति नगरी सरकारमा सहभागी नहुने माओवादी अडानका कारण एमाले अध्यक्ष ओलीको क्याविनेट माओवादीविहीन बनेको थियो ।

पहिलो बामपन्थी सरकारमा को–को बन्दैछन् मन्त्री ?
नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको सहमती भएको कारण मन्त्री परिषद् ठूलो हुने संकेत देखिएको छ । तर संविधानतः राज्यमन्त्रीसमेत गरी २५ जनाभन्दा बढी सदस्यीय मन्त्रिपरिषद बनाउन पाइँदैन ।

केपी ओली नेतृत्वमा रहने सरकारमा एमालेको तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सोम पाण्डेको नाम चर्चामा छ । त्यस्तै तीन पटक सांसद बनिसकेका तर मन्त्री बन्ने मौका नजुरेका कास्कीका रवीन्द्र अधिकारी, मोरङबाट निर्वाचित भानुभक्त ढकाल पनि मन्त्री बन्नको लागि केन्द्रदेखि स्थानिय तह सम्म ठूलै दौडधुप गरीरहेका छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट रामबहादुर थापाको नेतृत्व नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणी पोखरेल सरकारमा सहभागी हुन इच्छुक देखिएको स्रोतले जानकारी गराएको छ ।

एमाले सविच ज्ञवालीले आजभोलि नै पार्टीको बैठक बसेर सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंग्याउने जानकारी दिए । त्यस्तै पम्फा भुसालले पनि पार्टी अध्यक्ष चितवनबाट फर्किएपछि सरकारमा सहभागी हुनेहरूको नाम निरूपण हुने बताइन् ।

tapaikokhabar


ताजा समाचार