Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

अाज नेपाल र यूएई भिड्दै, ब्याटिङकै चिन्ता अाजपनि

काठमाडौं । अघिल्लाे दुई खेलमा ब्याटिङमै संघर्ष गरेको नेपाली टोलीले विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दा पनि ब्याटिङकै चिन्ता देखिएको छ ।

प्रतियोगिताको शीर्ष दुईभित्र रहँदै डिभिजन एकमा फर्कने र सन् २०१९ को विश्वकपका लागि आगामी मार्चमा जिम्बाब्वेमा हुने अन्तिम चरणको छनोटमा स्थान सुरक्षित गर्ने उद्देश्य बनाएको नेपाललाई यूएईविरुद्धको जित आवश्यक छ । यूएईविरुद्धको जितका लागि ब्याटिङमै सुधार आवश्यक छ ।

ब्याटिङका लागि मुस्किल मानिएको नामिबियाको पिचमा रन जोड्न नेपाललाई मुस्किल देखिए पनि अन्य टोलीहरूले भने सहज ब्याटिङ गरिरहेका छन् । शनिबार नेपाल एक सय ३८ रनमै समेटिँदा ओमानले सहजै पार गर्दै ६ विकेटको जित भेट्टायो । त्यसअघि बिहीबार आयोजक नामिबियाविरुद्ध अन्तिम ओभरमा एक रनको जित हात पार्दा पनि नेपाललाई एक सय ३९ रनको लक्ष्य भेट्टाउन निकै मुस्किल देखिएको थियो ।

त्यसैले नेपाललाई प्रतियोगिताको शीर्ष दुईको यात्रा पक्का गर्न यूएईविरुद्ध जितका लागि ब्याटिङमा सुधार अत्यावश्यक छ । यूएईलाई पराजित गरेको अवस्थामा नेपालसामु अंक तालिकाको दोस्रो स्थानमा उक्लने अवसर छ । एक/एक जित हात पारेका यूएई, नेपाल र ओमानको दुई/दुई अंक छ । लगातार दुई जितसहित क्यानडा शीर्ष स्थानमा पुगिसकेकाले यूएईलाई पराजित गरे नेपालले शीर्ष दुईमा पुग्ने दोस्रो टोलीका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछ ।

यद्यपि पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने नेपाल निकै कमजोर देखिएको छ । नेपालले हालसम्म एक दिवसीय क्रिकेटमा यूएईसँग १२ पटक प्रतिस्पर्धा गर्दा मात्रै दुई जित हात पारेको छ । एकमा बराबरी खेल्दा बाँकी नौ खेलमा पराजय बेहोरेको छ ।

पछिल्लोपटक गत डिसेम्बर ६ र ८ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेलमा पनि नेपाल यूएईसँग भारी अन्तरले पराजित भएको छ । पहिलो खेलमा ६ विकेटले पराजय बेहोरेको नेपालले दोस्रो खेल पनि ६३ रनले गुमाएको थियो । नेपाललाई पछिल्लो पराजयको बदला लिँदै प्रतियोगितामा अघि बढ्न आइतबारको खेलमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकरलगायत सिनियर ब्याट्सम्यानहरू चल्नुपर्नेछ ।

अन्नपुुर्णपाेेष्ट बाट


ताजा समाचार