Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

बिष्फोटक पदार्थको अभावमा भीर फोर्ने काम अबरुद्ध

जाजरकोट । बिष्फोटक पदार्थ अभावमा दुई महिना देखि नलसिङ गाड जलविद्युत्त आयोजनाको पहुँच मार्गको निर्माण कार्य अबरुद्ध भएको छ । निकै कडा चट्टान फोर्नलाई आबश्यक पर्ने बिष्फोटक पदार्थ कानुनी जटिलताले सहज रुपमा आपुर्ती हुन सकिरहेको छैन ।

ज्यानको बाजी राखेर नलसिङ गाड जलविद्युत्त आयोजनाको पहुँचमार्ग अन्तरगत पर्ने खाराको भीरलाई फोर्न तयार हुने कामदारहरु रोल्पा, रुकुम, कपिलबस्तु र बाँकेका नागरिकहरु हुन । मृत्युलाई हत्केलामा राखेर भीरमा ड्रिल गर्ने झण्डै ८० जना कामदारहरु बिष्फोटक पदार्थको अभावमा दुई महिना देखि काम बिहीन भएका छन् ।

पहुँच मार्गको ट्रयाक खोल्ने जिम्मा लिएको निर्माण कम्पनीको ढिला–ढालापन र सरकारको कानुनी जटिलताले समयमै बिष्फोटक पदार्थ आपुर्ती हुन नसकेको आयोजना प्रभावित क्षेत्रका नागरीकहरुको भनाई रहेको छ । आयोजनाको पावर हाउस देखि ड्याम स्थल (कालीमाटी देखि लैखम) सम्म १०.८ किलोमिटर पहँुच मार्गको ट्रयाक खोल्ने जिम्मा लामा÷खड्का कृष्ण÷गाल्वा जेभी काठमाण्डौंले लिएको तीन बर्ष बितिसकेको छ तर, पहुँचमार्गको ट्रयाक खोल्ने काम ४ किलोमिटर मात्र सम्पन्न भएको छ । ठेक्का सम्झौता गरेको मितिले ३६ महिना भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको भएता पनि तोकिएको समय सिमा भित्र ४ किलोमिटरको काम मात्र सम्पन्न भएको छ । सम्झौता गरिए अनुसार ६.८ किलो मिटरको काम गर्न अझै बाँकी रहेको छ । आयोजनासंग सम्झौता गरिए अनुसार उक्त निर्माण कम्पनीले खारामा निर्माण गर्नु पर्ने मोटरेबल पुलको काम सुरुवात नै भएको छैन ।

ट्रयाक खोल्ने काममा निकै ढिलाई भएपछि सिंङ्गै बारेकोट गाउँपालिका नागरिकहरुलाई जिल्ला सदरमुकाम खलंगा तथा कालिमाटी बजार आवत–जावत गर्नमा निकै कठिनाई भएको छ । त्यस गाउँपालिकाका नागरिकहरुलाई अत्याबश्यक खाद्यबस्तु तथा अन्य सामाग्री ढुवानी गर्न निकै कठिनाई भएको छ ।

बिष्फोटक पदार्थको अभावमा भीरमा ड्रिल गर्ने काम नपाएर रोल्पा, रुकुम, कपिलबस्तु र बाँकेका कामदारहरु दुई महिना देखि खाली बसेका छन् । घर जानलाई पनि आफुहरुसंग पैसा नभएको रोल्पा गामकी सुनिता विकले वताईन् । यसै खाराको भीरमा आफुले काम गर्न थालेको ढाई बर्ष भएको सुनिताले जानकारी दिईन् । सुनिता जस्तै रोल्पा गामकै सपना विकले पनि यसै भीरमा काम गर्न थालेको ढाई बर्ष वितिसकेको छ । पढाईको काम छोडेर पहर फोर्ने काममा सहभागी सुनिता र सपनाले विल्च्या लगाउने काम गरिरहेको जानकारी दिईन । हाजीरिमा काम गराएमा ठेकेदारले आफुहरुलाई दैनिक ६ सय रुपैया ज्याला दिने गरेको सपनाले वताईन् ।

ढाईबर्ष देखि ड्रिल गरिरहेका रोल्पाका प्रेमबहादुर परियार, रामकुमार विक, अमरराज विक जस्तै ३६ जना रोल्पाकै कामदारहरुले उक्त भीरमा काम गरिरहेका छन् । हाजीरिमा काम गर्दा कम्पेसर र ड्रिल मेशिन चलाउने कामदारको दैनिक ९ सय रुपैया ज्याला हुने र ठेक्कामा काम गर्दा कडा चट्टानको प्रति घनामिटर दुई सय रुपैया आफुहरुले पाउने गरेको प्रेमबहादुर परियारले जानकारी दिए ।

दैलेखको खिर्की ज्युला, कालिकोटको मान्मा, दोलखाको भोर्ले भीर, सल्यानको गर्चे–कैनकाँडा भीर, जाजरकोटको कालाभीर, चमेरे, डोल्पा सडकको मालुवा, मनका बगर लगाएतका भीरमा काम गरिसकेका प्रेमबहादुर परियार खारा भीरमा काम गर्ने १६ जना कामदारका लिडर हुन् ।

जनताले परिवर्तनको अनुभुति गर्न पाउनेगरी विकास निर्माणका कामले गति लिनु पर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको भनाई रहेको छ । नेपाल सरकारको तीन खम्बे (सरकारी, गैरसरकारी र नीजि क्षेत्र) आर्थिक रणनीति अनुसार निर्माण गरिने विकास निर्माणका कामलाई गतिमा लिनु पर्ने प्रमुख रावलको तर्क छ । फेरीको ब्यबस्था अनुसारको अबस्थालाईलाई परिवर्तन गर्न पुर्वाधार विकास निर्माणका कामलाई युग सुहाउदो बनाउनु पर्ने प्रमुख रावलले भनाई राख्दै आएका छन् ।

digitalsanchar


ताजा समाचार