Loading... आजः सोमवार, कार्तिक १०, २०७७

कृष्णाको युद्ध, जेल जिबन हुदैँ सांसद सम्मको यात्रा

गाँउले किसान परिवारमा कृष्णा शाहको जन्म २०४० सालको शुरुवातमै भयो । गाँउले जीवनमा अरु जसरी हुर्के उनी पनि त्यसरी नै हुर्किइन् । बिहान बेलुका घाँस, दाउरा र चुलो चौका अनि दिउसो विद्यालयमा पढ्न जाने । जीवन त्यसरी नै वित्यो आधा काम, आधा अध्ययन । घरको कामले साँझ बिहानको गुजारा चलाउन मात्रै सहयोग गर्दथ्यो भने विद्यालयको शिक्षाले पढ्न मात्रै सिकायो जीवन जिउन सिकाएन । नाम मात्रैका स्कुल । न भौतिक पूर्वाधार, न समय सुहाउँदो पाठ्यक्रम, न समयलाई अगुवाई गर्ने शिक्षक । बाँचेको जीवन र पढेको शिक्षाको भेट कहिल्यै भएन ।

विद्यालय शिक्षाको फलामे गेट भनेर आतंक सृजना गरिएको एस.एल.सी. उतिर्ण सँगै उनको जीवन नयाँ गोरेटोमा मोडियो । मुक्ति या मृत्युको पथ । जनयुद्धको पथ । यो पथ रोज्न उनलाई धेरै विषयले प्रभावित गरेको थियो । समाजमा जनयुद्धको आँधितुफान तीव्र गतिमा चलिरहेको थियो । यो उथल पुथल उनको जीवनमा चल्यो, उनको घर जिल्ला स्तरका माओवादी नेताहरुको सेल्टर थियो उत्प्रेरित गर्नलाई । विद्यालयमा उनी अखिल –क्रान्तिकारी) मा संगठित थिइन्, किलो शेरा टु अप्रेशनको बेला गिरफ्तार भइन् , यातना भोगिन र झन् विद्रोही नै बनायो । गाँउघर र विद्यालयकी कृष्णा शाह जनयुद्धकी कमरेड सन्ध्या बनिन् ।

अबको उनको जीवन चर्या बदलियो । सुरक्षित तवरले पार्टी संगठनको काम गर्ने । एकोहोरिएको जीवन । अन्य युवा युवती जस्तै उनको पनि उर्जाशिल समय बिरानो गाँउघर, कमरेडहरु र नयाँ नयाँ कामलाई आफ्नै ठानेर गर्नु पर्ने भयो । अब नीजि जीवन सार्वजनिक जीवनमा फेरियो । नीजि जीवन र आकांक्षा सार्वजनिक जीवन र आकांक्षामा बदलियो ।समाज रुपान्तरण गर्ने, राज्यसत्ता बदल्ने, गरिब किसानको मुक्ति गर्ने यीनै हुन् सपनाहरु,कार्यक्रमहरु र योजनाहरु । यात्रा कति लामो छ, यसका घुम्तिहरु कति छन्, चालकले गाडी कसरी हाँक्छन् यी सबै त उनलाई थाहा थिएन, तर विश्वास भरिपूर्ण थियो । समाजको छाया पार्टी भित्र देखिनै भयो, अब उनको एक्लो जीवन विवाह पछि जीवन साथी सहितको जीवन भयो । आधार वस्ति जुनिको एक नयाँ गोठभित्र  विद्यार्थी नेता रामदिप आचार्य सङ्ग जनवादी विवाह भयो । त्यहाँ गरगहना र दाइजोको कुरा भएन, जन्ती आएनन्, नत घरपट्टी र माइती पट्टी थिए,थिए त सबै कमरेडहरु थिए । दुई रुपैंयाको अबिर र स्थानीय लालीगुराँसको माला एक अर्कालाई लगाइ दिएर उनीहरुको विवाह सम्पन्न भएको थियो । नेताहरुले भाषणद्धारा बधाई दिएका थिए । कम्युनिष्ट घोषणपत्र, आमा उपन्यास, युवाहरुको गीत, बहुचर्चित माओका उद्धहरणहरु उपहार स्वरुप उनीहरुले प्राप्त गरेका थिए । कसै कसैले डायरी र कलम पनि दिएका थिए ।

सबैभन्दा सस्तो विवाहमा सबैभन्दा महंगो प्रतिवद्धता जनाएका थिए उनीहरुले । हाम्रो विवाह क्रान्तिको यात्राको दौरानमा भएको हो, क्रान्ति प्रतिको प्रतिबद्धतानै हामी एक अर्का प्रतिको प्रतिबद्धता हो । क्रान्तिको बाटोबाट दुई मध्य कुनै एक विचलित भएको दिन विवाह पनि स्वतः भंग हुनेछ  हाम्रो प्रेम क्रान्तिमा आधारित प्रेम हो , । आदि आदि । आज क्रान्ति कसरी अगाडी बढेको छ सायद उनीहरुलाई पनि थाहा छैन तर उनीहरुको जीवन भने यथावत् चलिरहेको छ । विवाह उनको त्यही क्रान्तिकारी नमुना परिवारमा भएको थियो जहाँ उनका जेठाजू दाई इन्द्रलाल र दिदी ममिता शहीद भएका थिए । दुःखद कुरा उनीहरुसँगै विवाह प्रक्रियामा सामेल कालिकोटका जनम बराल र बाँकेकी दयमन्ती पुन संकटकालमै एक महिनाको अन्तरालमा सहीद भए ।

विवाहसँगै उनीहरुको कार्यक्षेत्र बदलियो जाजरकोटबाट सुर्खेत । काममा खट्ने अनुपम आदर्श थियो त्यतिबेला, भूगोल जहाँ परे पनि, जिम्मेवारी जे भए पनि पार्टी, सर्वहारा वर्ग र देशको लागी काम गर्ने । सजिलो होस् या अप्ठ्यारो । संकटकाल, राज्यसत्ताको क्षेत्रीय मुकाम, बन्दै गरेको पार्टीको जनाधार, नयाँ नयाँ कमरेडहरु चुनौती नै चुनौतीको पहाडहरु भित्र सुर्खेत उपत्यकाभित्रको एरियामा उनीहररुको कार्यक्षेत्र पर्यो । जीवन हत्केलाको टुप्पोमा राखेर प्रत्येक दिन, प्रत्येक पल बाँच्नु पर्ने अवस्था । उनी भन्छिन् घेरामा नपरेको र नलखेटिएको दिन नै हुँदैन्थ्यो । त्यस एरियामा काम गर्ने धेरै जसो कमरेडहरु गिरफ्तार भए वा सहीद भए । मुस्किलले एक दुई जना कमरेडहरु बाँचे । २०५९ जेठ २९ बिहानै उनीहरु प्नि पश्चिम सुर्खेतको चेपागं गाँउबाट गिरफ्तार भए र मृत्युको नजिक पुुगे । तीन जना महिला र एक जना पुरुष । पुरुषलाई खुकुरीले काटेर मारेको आफ्नै आँखा अगाडी देखे तर संयोगले उनीहरु सुर्खेत हिरासतमा पुर्याइए । अनगिन्ती यातनामा पहाडहरु उनीहरुले झेले । कैयौं महिनासम्म सिमेन्टको चिसो भूइमा अज्ञात अबस्थामा रहे । अन्ततः हाड मासुको कंकाल जस्तो शरिर लिएर कारागार चलाइए । मात्र वार्ताकालमा रिहा भए ।

बाहिर उनीहरुको सार्वजनिक अभिन्नदन गरियो ।यात्रा फेरी जारी रह्यो ।क्रान्तिको जिन्दगी अझै कठोर बन्दै गयो । पार्टी संगठनबाट सैन्य संगठनमा सरुवा गरियो । तत्कालिन चौथो बटालियन हेडक्वाटरमा उनको कार्यक्षेत्र पर्यो । प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजूद उनले जिम्मा पुरा गरिन् । शान्ति प्रक्रियामा प्रवेश गरेपछि जनमुक्ति सेनाको कम्पनि सहायक कमाण्डरबाट जाजरकोट जिल्ला पार्टीमा सरुवा गरियो । त्यसपछि पुनः सरुवा भयो शहर केन्द्रीत योजना अन्तर्गत जनसम्पर्क मञ्चको योजनामा काठमाडौं । बदलिएको परिवेशमा पार्टीको काम र घर व्यवहारको काम दुवै सँगै सम्हाल्दै आइन । पछिल्लो पटक महिला संघको केन्द्रीय कार्यालय सञ्चालन गर्दै आइन् । चुनाव प्रचारको क्रममा काठमाडौंबाट जाजरकोट जाँदै गर्दा गाडी दूर्घटनामा परि फेरी झण्डै मृत्युको मुखमा पगिन् र बालबाल बाँचिन् । यस्तो छ साधारण मान्छेको आसाधारण जीवन चक्र ।

जनयुद्धको महान् विश्व विद्यालयमा मालेमावादी स्कुल चलाए, पढ्न सिके र पढाउन सिके । कहिले चुरेको अनकन्टार जंगल भित्र स्कुल सञ्चालनमा हुन्थ्यो त कहिले माहाभारत श्रृंखलामा । आक्रमण र रक्षाका अनगिन्ती अनुभवहरु सिके सैन्य विज्ञानको रुपमा । सिक्दै र लड्दै, लड्दै र सिक्दै । यही थियो सिकाईको द्धन्द्धवाद । मानव समाज सतत् परिवर्तनशिल भएकोले सामन्तवाद र पूँजीवाद नाशवान छ भन्ने सिके । त्यसको ठाँउ उन्नत स्तरको समाज व्यवस्था समाजवादले लिनेछ र त्यो समाजवाद पूर्ण मानव निमार्णको दिशामा रहेको साम्यवाद तर्फ अगाडी बढ्नेछ भन्ने पढे । जहाँ महिला र पुरुष, धनि र गरिब, उत्पीडक जाती र उत्पीडित जाती, शहर र गाँउ, मानसिक र शारिरीक श्रमको भेद मेटिनेछ । यस्तो थियो उनले सिकेको शिक्षा ।

यही शिक्षाले महिलाहरुलाई चुलो चौकाबाट मुक्त गरिदियो । दोश्रो दर्जाको अवस्थाबाट माथि उठे । राइफल, एस एल आर, एस एम जी, एलए म जी, जी पि एम जी, रकेट लञ्चर, एकासी एम एम मोटार उनीहरुको लागी अर्को ग्रहको नाम रहेन । नत बहादुर पुरुषहरुको जिम्मामा मात्रै छोडियो । काँधमा काँध मिलाएर महिला पुरुष सँग सँगै लड्न शुरु गरे । मातृसत्ताको अन्त्य पछि दमित गरिएको आवाज विद्रोहको रुपमा विस्फोट भयो । यति धेरै जागरण र उर्जा यस अघि नेपाली महिलाहरुमा कहिल्यै देखा परेको थिएन । वैचारिक, राजनैतिक, संगठन र सैन्य क्षेत्र सबैतिर महिलाहरु पुरुषसँग प्रतिस्पर्धा गर्दै थिए । यसकै एउटा हिस्सा थिइन् कमरेड सन्ध्या ।यही विद्रोही आवाज उनकी आमाजू दिदी ममिता आचार्यले देखाएकी थिइन् । २०६० माघ १० गते जब उनी पुरानो सत्ताको सुरक्षा फौजको घेरामा परिन् । तँ कोहोस् भनेर सोध्दा सगर्व म माओवादी हुँ भनेर जवाफ फर्काइन् । तत्काल उनलाई छातीमा गोलि हानेर त्यही घरमा मारियो । यो कुरा सेल्टरवाला घरका जाजरकोटी कम्युनिष्ट नेता कृष्ण वि सीको भाउजुले आजकाल पनि संझने गर्छिन् । उनीहरुलाई दासताको जीवन भन्दा स्वाभिमानको जीवन नै अति प्यारो थियो ,चाहे जीवनमा मृत्यु नै आई परोस् ।

छोटो जीवनमा उनको लामो भोगाई छ । नेपाली समाजमा औसत महिलाहरुले भोगेका भन्दा भिन्न तर उस्तै कठोर संघर्षमय जीवन । अब उनी जनताले दिएको समानुपातिक मतबाट जनप्रतिनिधि भएकी छिन् । उनका धेरै सपना र आकांक्षाहरु छैनन् । एकमात्र कामको सूत्र छ जनसेवा । पल पलमा मृत्युबाट जोगाएको नाफाको जीवन जनताकै सेवामा खर्चन्छु । केही काम गर्ने अठोट छ र उमेर पनि । संभवत उनी छ नंबर प्रदेशकै सबैभन्दा कान्छी सांसद हुन् । त्यसैले पनि होला नहतारिएर लामो लक्ष्यका साथ काम गर्ने सोचमा छिन् उनी ।

के छन् त उनका भावी योजनाहरुः
क) दक्षिण एशिया र अफ्रिका विश्वकै पछि परेका क्षेत्र हुन् । दक्षिण एशियामा नेपाल पिछडिएको देश हो । नेपालको पिछडिएको प्रदेश ६ नंबर हो । यसर्थ, संसारको सबैभन्दा पिछडिएको क्षेत्रलाई विकास र समृद्धिको मार्गमा लैजान योगदान गर्ने उनको योजना छ । तत्काल समृद्धिका चार आधार मान्नु पर्ने उनको तर्क छ,
एक : सडक सञ्जाल विस्तार
दुई : विद्युतिकरण
तीन : कृषिमा आधुनिकरण र
चौथो : औद्योगिकरण
यी आधार हुन् र यीनको जगमा नै समृद्ध प्रदेश र समृद्ध देश खोज्नु पर्दछ ।

ख) ६ नंबर प्रदेशका महिलाको जीवन कष्टकर छ । शैक्षिक अवस्था कमजोर छ । आर्थिक अधिकार र रोजगारीको अवसर छैन । स्वास्थ्य अवस्था नाजुक छ, सामान्य सुत्केरी हुने बेलामा पनि अकालमा ज्यान गुमाउने महिलाको संख्या देशकै सबैभन्दा धेरै छ । कुपोषण र बाल मृत्युदर उत्तिकै बढि छ । सामाजीक कुरिती र बाल विवाह भयावह अवस्थामा छ । राजनीतिक र समग्र क्षेत्रमा महिला सहभागीतालाई बढाउनु पर्ने छ । यसर्थ, आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक, साँस्कृतिक समग्र क्षेत्रमा महिला अधिकारको लागी एक अभियान्ता, पहलकर्ता, अगुवाको रुपमा म निरन्तर लागी रहने छु ।

ग) बेरोजगारी एक विकराल समस्याका रुपमा रहेको छ, यो सिंगो देशकै भयावह समस्या हो । मैले माथि उल्लेख गरेका चार आधारले स्वरोजगारको सृजना गर्न र बेरोजगारी घटाउन अवस्य मद्दत गर्नेृछ । यस सँगै युवा लक्षित प्याकेज कार्यक्रम पनि सञ्चालन गर्नु पर्दछ । आधा भन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको प्रदेशमा विशिष्ट योजनाको पनि जरुरी छ । युवाहरुको विदेश पलायन रोक्न सकेनौ भने समृद्धि हाम्रै पालामा भन्ने हाम्रो चहाना पुरा हुने छैन ।

जीवन कामको नयाँ मोर्चामा प्रवेश गरेको छ । नयाँ काम शुरुवातमा जहिले पनि कठिन नै हुन्छ । यो पनि एउटा युद्धमोर्चा नै हो जहाँ गर्दै सिकिने छ । सिक्दै लागु गरिने छ । जनताको मत, पार्टीको आदेश र शुभ चिन्तकको मनोभावनालाई जहिले पनि शिरोपर गर्नेछु । सार्वजनिक जीवनमा नीजि आकांक्षाहरु खासै छैनन् ।


ताजा समाचार