Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

वाम गठबन्धनको भागबण्डा मिल्यो: एमालेलाई २९, माओवादीलाई १४ सिट

काठमाडौं । एमाले-माओवादी एकता संयोजन समितिको कार्यदलले राष्ट्रियसभा निर्वाचनमा उठाउने ४३ जना उम्मेदवारको भागबण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवार उठाउने गरी कार्यदलले बुधबार समझदारी जुटाएको हो ।

वाम गठबन्धनले निर्वाचन हुने ५६ मध्ये आफूले जित्ने निश्चित भएका ४३ सिटमा साझा उम्मेदवार उठाउन लागेको हो । कार्यदलले सुझाव प्रतिवेदन एकता संयोजन समितिको बैठकमा पेस गर्ने नेता सुवास नेम्बाङले बताए । चित्तबुझ्दो गरी सिट बाँडफाँट गरेकाले संयोजन समितिले पनि यसलाई अनुमोदन गर्ने विश्वास लिएको उनले जनाए। बाँकी रहेको १३ सिटमा मधेसवादी दल र स्वतन्त्रसँग छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए।

कार्यदलको पहिलो बैठकले उम्मेदवारी बाँडफाँटका चारवटा मापदण्ड तय गरेको थियो । वाम गठबन्धनको कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा प्रदेशका मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँट गर्ने मापदण्ड तय गरेको थियो । नेम्वाङले भने, ‘यही मापदण्डमा रहेर सिट बाडफाँट भएको छ ।’

राष्ट्रियसभाको उम्मेदवार चयन तथा प्रदेशसभाको सरकार गठनका लागि बनेको संयुक्त कार्यदलको पुस ३० मा बसेको दोस्रो बैठकमा माओवादीले ४० प्रतिशत सिट माग गरेको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुवै पार्टी तालमेल गर्दा ६० र ४० मै सहमति भएको थियो । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा गर्दा भने माओवादीले ३२ दशमलव ६ र एमालेले ६७ दशमलव ४ प्रतिशत सिट पाएका छन् ।

पार्टी एकता संयोजन समितिको २५ पुसमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी चयन, प्रदेशसभाको सरकार गठनका लागि गृहकार्य गर्न संयुक्त कार्यदल बनाएको थियो । कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन्।

प्रदेश सरकार गठनको समेत जिम्मेवारी पाएको कार्यदलको बुधबारको बैठकले भने त्यसबारे कुनै निर्णय गरेन। कार्यदलको दोस्रो बैठकमा माओवादीले दुईवटा प्रदेशमा मुख्यमन्त्री र चार सभामुखको दाबी पेस गरेको थियो तर एमालले चाहिँ माओवादीलाई दुई मुख्य मन्त्री र दुई सभामुख दिन सकिने आशय प्रकट गरेको थियो। कार्यदलका सदस्य मातृका यादवले अन्नपूर्णसँग भने, ‘प्रदेशको मुख्यमन्त्री र सभामुख पदमा पार्टीगत भागबण्डा राष्ट्रियसभाको उम्मेदवारी मनोनयनपछि बैठक बसेर गरिनेछ।’ अध्यक्ष केपी ओली स्वेदश फर्किएपछि एकता संयोजन समितिको बैठकमा माओवादीको उक्त प्रस्ताव पेस गर्ने र प्रदेश सरकारको बारेमा पार्टीगत भागबण्डाको बारेमा सहमति गर्ने एमालेका एक नेताले बताए।

प्रदेशमा कसले कति पाए
प्रदेश १ को ६ सिटमा वाम गठवन्धनले उम्मेदवारी दिने भएको छ। जसमा पाँच सिट एमालेले र एउटा महिला सिट माओवादीले पाएको छ। एउटा महिला र एउटा खुला सिट खाली राखिएको छ। प्रदेश २ मा महिला सिटमा माओवादी र खुला सिट एमालेले पाएको छ। ६ वटा सिटमा अन्य दलसँग छलफल गरेर निर्णय गरिने भएको छ।

प्रदेश ३ मा एउटा खुलामा माओवादी र अरू सबै पाँच सिट एमालेले लिएको छ। प्रदेश ३ मा महिला सिट एमाले र खुला सिट माओवादीले लिएको हो। प्रदेश ४ मा चार सिटमध्ये दलित र एक महिला गरी दुई सिट माओवादीले लिएको छ। बाँकी एमालेले पाएको छ।प्रदेश ५ मा अपांग र महिलाको सिट माओवादीले लिएको छ। दुई खुला र दलित सिट एमालेले लिएको छ।

प्रदेश ६ मा पाँच एमाले र तीन सिट माओवादीले लिएको छ। प्रदेश ७ मा दुई सिट माओवादीले पाँच सिट एमाले लिएको छ ।

annapurna post


ताजा समाचार