Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

टुहुरा वालवालिकाले पाए ५ महिना पुग्ने खाद्यन्न


जनक केसी
जाजरकोट  ।  नागरिक दैनिकमा छापिएको समाचारका कारण वावु आमा दुवै गुमाएर टुहुरा भएर विचल्लीमा परेका यहाँका ५ वालवालिकाहरुले ५ महिना पुग्ने खाद्यन्न र अन्य सहयोग पाएका छन् । छेडागाड नगरपालिका वडा नम्वर १३ चैतेटाकुराका ५ जना टुहुरा वालवालिकाले वुधवार घरमै ५ महिना पुग्ने खाद्यन्न तथा पढाइ सामाग्रीहरु र नगद सहयोग पाएका हुन् । गत मंसिर १३ गते भाइवहिनीहरुका लागि पढाइ खर्च जुटाउदै तुलसा भन्ने शिर्षकमा नागरिक दैनिकमा छापिएको समाचार पढेर काठमाडौंमा वस्ने रेखा शाह कार्की, उनकी छोरी सुनयना कार्की, पाल्पा घर भइ हाल टोकियो जापानमा वस्ने साकिरा थापा र काठमाडाें गौशालाकी प्रिती शर्माले ती टुहुरा वालवालिकाहरुका लागि नगद १० हजार र ३० हजार वरावरको खाद्यन्न तथा अन्य सामाग्रीहरु गरि ४० हजारको सहयोग गरेका हुन् ।

३ वर्ष अघि वुवा विर्ख दमाइ मानसिक रोगका कारण मृत्यु र आमाले पनि गत वर्षको फागुनमा अर्कैसंग विहे गरेर गएपछि विचल्लीमा परेकी १६ वर्षिय तुलसा उनकी १३ वर्षिय वहिनी प्रतिभा, १० वर्षिय भाइ जयवहादुर, ८ वर्षिया वहिनी पुष्पा र ५ वर्षिय भाइ सन्तोष विचल्लीमा परेका थिए । तुलसा र उनका भाइवहिनीहरुका लागि प्राप्त खाद्यन्न नगद रकम र अन्य सहयोग सामाग्री नागरिककर्मी जनक केसीले उनीहरुकै घरमा पुगेर वुधवार हस्तान्तरण गरेका छन् ।

सदरमुकाम खलंगा देखि एक दिनको पैदल दुरी र ४ घन्टाको गाडी यात्राको दुरीमा रहेको चैतेटाकुरामा पुगेर नागरिककर्मी केसीले पत्रकार, र स्थानीयवासीको रोहवरमा तुलसा र उनका टुहुरा भाइवहिनीहरुको लागि ७ वोरा चामल, २० किलो दाल, ४० पोका तेल, एक पेटी सावुन, एक वोरा आलु, ९ पोका नुन, एउटा वलांकेट, कापी कलम लगाएतका शैक्षिक सामाग्रीहरु हस्तारन्तरण गरेका छन् । भाइ वहिनीहरुको खाना, र पढाइ खर्च जुटाउनका लागि १६ वर्षिया तुलसाले गाउँमा मज्दुरी गर्ने र कहिले भारततिर कहिले गाउँमा कपडा सिलाउने गर्दै आएको स्थानीय विष्णु विकले वताइन् ।

घरको अवस्था पनि निकै दयनीय र गाउँमा सहयोग गरिदिने पनि कोहि नभएपछि तुलसा र उनका भाइवहिनीहरुले कष्टको जीवन विताउनु परेको विष्णुको भनाइ छ । तुलसा र उनका भाइ वहिनीहरुको वारेमा लेखिएको नागरिक समाचार पढेर तुलसा र उनका भाइवहिनीहरुको सहयोगका लागि रकम जुटाउन पहल गरेकी जाजरकोटमै माइती घर भएकी रेखाले टुहुरा वालवालिकालाइ पढाइमा सहयोग पुगोस भनेर आफुले सहयोग गरेको वताइन् । खाना र कापीकलम नपाएर टुहुरा वालवालिकाहरुले स्कुल छोड्न नपरोस अनि सानैमा मज्दुरीमा लाग्न नपरोस भनेर आफुले सहयोग गरेको रेखाले वताइन् । टुहुरा वालवालिकाले दुख पाएको समाचार नागरिक दैनिकमा पढेर आफनी छोरी सुनयना, साथीहरु प्रिती र साकिराले सानो सहयोग जुनाएको रेखाले वताइन् ।

भाइवहिनीहरुको पढाइ र उनीहरुको पालनपोषणका लागि मज्दुरी गर्न भनेर आफुले स्कुलको पढाइ छोडेको तुलसा दमाइले वताइन् । नागरिकमा समाचार छापिएर घरमै यति ठुलो सहयोग पाए सारै खुसी लागेको छ तुलसाले भनिन् । मैले पढ्न स्कुल गए र काम नगरे यी भाइवहिनीको साँझ विहान खाने अन्न पनि नपाइने अवस्था छ तर आज पत्रिकामा समाचार छापिएर ठुलो राहत भयो हामीलाइ उनले थपिन् । वुवा विरामी हुदा लागेको ६० हजार क्रृण र भाइ वहिनीहरुको पढाइ र अन्य घर खर्चका लागि मज्दुरी गर्नै पर्ने मेरो वाध्यता छ , उनले नागरिकसंग भनिन् ।

तुलसाकी माइली वहिनी १३ वर्षिया प्रतिभा दमाइ स्थानीय नारायणी मावि कार्कीगाउँको कक्षा ९ मा पढ्छिन् भने उनका १० वर्षको भाइ जयवहादुर दमाइ स्थानीय मालिका प्राथमिक विद्यालयको ४ कक्षामा , ८ वर्षिया वहिनी पुष्पा दमाइ २ कक्षामा र ५ वर्षका कान्छो भाइ सन्तोष दमाइ एक कक्षामा पढिरहेका छन् । उनीहरुको पढाइ खर्च देखि घरको सवै खर्च तुलसाले मज्दुरी गरेर कमाउने गरेको स्थानीयहरु वताउछन् । गाउँमा साहुका कपडा सिलाएर र अन्य मज्दुरी गरेर उनले सवै खर्च पुरयाउदै आएकी छिन् । कहिले घरमा समस्या परेको वेला साहु संग उधारो सामान माग्दा पनि कसैले नदिने गरेको तुलसाको दुखेसो छ ।वुवाको मृत्यु र आमाले छोडेर अर्कैसंग विहे गरेपछि ६ कक्षामा पढ्दा पढ्दै छोडेकी तुलसा भाइवहिनीहरुको स्याहार र पालनपोषण गर्ने कामले पढाइका सवै कुरा विर्सेको वताउछिन् ।

फोटो क्याप्सन — छेडागाड नगरपालिका १३ चैतेटाकुरा स्थित तुलसाको घरमै पुगेर नागरिककर्मी जनक केसी रेखा शाह कार्की लगाएतवाट प्राप्त खाद्यन्न लगाएत सामाग्री र नगदर रकम हस्तान्तरण गर्दै । तस्वीर नागरिक


ताजा समाचार