Loading... आजः शुक्रबार, अशोज १, २०७८

भेरी–बबई डाइभर्सनमा विकास हेर्नेको घुइँचो

सुर्खेत । नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन् कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल (सुर्खेत, हात्तीखाल) मै पुगे । ‘ओहो ! यो त गज्जबको रहेछ,’ सुरुङको मुखैमा फोटो खिच्दै गरेका उनले भने, ‘विकास त यसरी पो गर्नुपर्छ ।’

नेपाली सेनामा कार्यरत उनका साथी सुर्खेत, घुमखहरेका सम्राट खत्री पनि सुरुङ देखेर अचम्म मानिरहेका थिए । डाइभर्सनको प्रभावित क्षेत्र (ड्यामसाइड)मा घर भए पनि उनी समय नमिल्दा निर्माणस्थल पुग्न सकेका थिएनन् । ‘चिनेजानेका साथीहरुले एकपटक त भेरी–बबई डाइभर्सन पुग्नैपर्छ भनेपछि बिदामा आएको बेला यता आएँ,’ उनले भने, ‘कामको गति र शैली हेर्दा नेपालमा पनि यसरी काम हुँदोरहेछ भनेर अचम्म लाग्यो ।’

भेरीको पानी बबईमा मिसाएर एकैपटक विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने बहुउद्देश्यीय यो आयोजनाले विकासको मार्गमात्र कोरेको छैन, पछिल्लो समय आन्तरिक पर्यटकलाई समेत लोभ्याउन थालेको छ । रबिन र सम्राटजस्ता थुप्रै व्यक्तिहरु दैनिकजसो हात्तीखाल आएर उत्सुकता मेटाउँछन् । विशेष गरी नेपालमा पहिलोपटक भित्रिएको ‘मेसिनबाट सुरुङ खन्ने प्रविधि’ टिबिएम (टनेल बोरिङ मेसिन) हेर्न दैनिक सयौं व्यक्ति हात्तीखाल पुग्छन् ।

आयोजना कार्यालयका अनुसार कलेजमा अध्यापनरत तथा अध्ययनरत इन्जिनियरिङ संकायका शिक्षक–विद्यार्थीका साथै विभिन्न ठाउँमा कार्यरत इन्जिनियर, ओभरसियर र लगानीकर्ता अध्ययनको लागि आउँछन् । ‘टिबिएम प्रविधि नेपालको लागि नयाँ भएकोले स्वाभाविक रुपमा योसँग सम्बन्धित सबैको लागि स्थलगत अध्ययनको क्षेत्र हुने गरेको छ,’ आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सिडिई) रुक्मांगत खनालले भने, ‘यसको सफल प्रयोगपछि नेपालका अन्य आयोजनामा पनि काम सुरु गर्ने तयारी रहेकोले इन्जिनियरिङ क्षेत्रको चासो अलि बढी देखिन्छ ।’

खनालका अनुसार भेरी–बबईपछि कालीगण्डकी–तिनाउ र सुनकोसी–मरिम डाइभर्सन आयोजना पनि टिबिएम प्रविधिबाटै सुरु गर्ने गरी अध्ययन भइरहेको छ । यो आयोजना निर्माणको सफलता र अनुभवपछि यस्तै प्रकृतिका अन्य आयोजना निर्माण पनि सहयोग पुग्ने उनले बताए ।
इन्जिनियरिङ क्षेत्रका अतिरिक्त अन्य विषयका शिक्षक–विद्यार्थी, सरकारी तथा गैरसरकारी कर्मचारी र सर्वसाधारण भने ‘अनौठो आयोजना’ हेर्नकै लागि हात्तीखाल पुग्छन् । उनीहरु ‘मेसिनले सुरुङ कसरी खन्दोरहेछ’ भन्ने हेर्छन् र फर्किन्छन् । भ्रमणमा आउनेको घुइँचो यति धेरै छ कि कहिलेकाहिँ भीड थेग्नै मुस्किल हुने गर्छ । आयोजनाले भ्रमणमा आउनेलाई घुमाउन एकजना कर्मचारी गणेश श्रेष्ठलाई भिजिटर गाइडको जिम्मेवारी दिएको छ । श्रेष्ठका अनुसार दैनिक कम्तीमा ६० देखि पाँच सयजनासम्म आयोजनास्थल पुग्छन् । ‘सबैको चासो मेसिनले सुरुङ कसरी खन्दोरहेछ भनेर हेर्नेमै हुन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहिँ त मान्छेको भीड थेग्न नसकेर गाह्रो हुन्छ ।’

आयोजनामा प्रविधिमात्र नयाँ होइन, कामको रफ्तार पनि उत्तिकै छ । कुल १२ किलोमिटर टनेलमध्ये हालसम्म करिब एक हजार दुई सय मिटर खनिसकिएको छ । सुरुको एक सय ५० मिटर मान्छेले र बाँकी टिबिएमले खनेको सिडिई खनालले जानकारी दिए । उनका अनुसार टनेल निर्माणको लागि १० अर्ब लागत अनुमान गरिएकोमा करिब २० प्रतिशत रकम ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकिएको छ । ‘अहिलेसम्म कार्यप्रगति सन्तोषजनक नै छ,’ खनालले भने, ‘परिस्थिति यसैगरी अनुकूल रह्यो र बाधा अड्चन भएन भने निर्धा्रित समयमै सुरुङ निर्माण सकिन्छ ।’ हालको कार्ययोजना अनुसार सन् २०२० को मार्चसम्म सुरुङ निर्माण सकिनेछ ।

चौबिसै घन्टा काम

टिबिएम मेसिनले सुरुङको गहिराइ बढाउँदै लग्दा जोखिम पनि उत्तिकै बढिरहेको छ । तर, आयोजनाले कामको रफ्तार कम गरेको छैन । रात्रिकालीन र दिवाकालीन गरी दुई सिफ्टमा काम भइरहेको छ । दिवाकालीन सिफ्ट बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म (चार घन्टा ओभरटाइम) र रात्रिकालीन सिफ्ट साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म (चार घन्टा ओभरटाइम) चल्छ । एउटा सिफ्टमा करिब २५–३० जना तालिमप्राप्त कामदार ट्रेनबाट सुरुङ मार्गमा पस्छन् ।

सुरुङमा २४सै घन्टा अक्सिजन र विद्युत् पास गरिए पनि काम गर्न निकै गाह्रो हुने गरेको कामदार बताउँछन् । त्यसैले उनीहरुले ज्याला बढाउन माग गरिरहेका छन् । ‘अब त काम पनि निकै अप्ठेरो हुँदैछ, त्यसैले तलब पनि बढाउनुपर्छ भन्ने हाम्रो माग छ,’ टनेलको प्रवेशद्वारमा सुरक्षागार्ड रहेका २६ वर्षीय विनोद जैशीले भने, ‘सुरुङभित्र पसेकालाई त गर्मीले काम गर्न निकै समस्या छ, तैपनि रात–दिन काम गरिरहेका छन्, आयोजनाले कामअनुसार ‘माम’को पनि व्यवस्था गरिदिनुप¥यो ।’

स्थानीयलाई लाभ र रोजगारी

आयोजना निर्माणले गति लिएसँगै स्थानीय जनजीवन लाभान्वित भएको छ । दैनिक रुपमा खटिने पाँच सय हाराहारी कामदारमध्ये झन्डै ७० प्रतिशत स्थानीय छन् । यसले हात्तीखाल आसपासका युवायुवतीलाई रोजगारी दिएको छ । तीमध्येका एक हुन्– ३९ वर्षीय मंगल जैशी ।
भारत गएर मजदुरी गर्ने उनी १० महिनादेखि सुरक्षागार्डको रुपमा आयोजना कार्यालयमा कार्यरत छन् । उनी मासिक १५ हजार रुपैयाँ तलब थाप्छन् । ‘घरको मिठोमसिनो खाएर, परिवारसँगै बसेर यति पाउनु पनि धेरै हो,’ उनले भने, ‘इन्डिया गएर १० नंग्रा खियाउँदा पनि यति रकम बच्दैनथ्यो ।’

उनीजस्तै युवाहरु आफ्नो क्षमता र सीपअनुसार काम गरिरहेका छन् । कामअनुसार आम्दानी पनि फरक–फरक हुन्छ । एकजनाले मासिक १२ हजारदेखि ४० हजार रुपैयाँसम्म कमाउँछन् । मिक्स्चर मेसिन चलाउने नविन चौधरीको मासिक आम्दानी ३५ हजार रुपैयाँ छ । उनी भन्छन्, ‘आयोजनाले घरमै रोजिरोटी दिएको छ, योभन्दा खुसी के हुन्छ र ?’

आयोजनाका कर्मचारी, कामदार र घुम्न आउने पर्यटकको चहलपहलले गाउँमा पसल–व्यवसाय पनि राम्रै चलेका छन् । दुई वर्षअघिसम्म हात्तीखालमा दुई–चारवटा पसल थिए । अहिले करिब दर्जनको संख्यामा पसल र नास्ता पसल खुलेका छन् । टेलरिङ व्यवसाय चलाउँदै आएकी इन्द्रा खत्रीले एक वर्षदेखि टेलरिङसँगै किराना पसल चलाएकी छिन् । उनको मासिक कारोबार करिब एक लाख ७५ हजार रुपैयाँसम्म छ । ‘मान्छेको चहलपहल बढेपछि व्यापार पनि राम्रै हुन थालेको छ,’ उनी भन्छिन्, ‘सधैं यसैगरी चले त राम्रै हुन्थ्यो ।’

यसका साथै आयोजनाले गाउँमा सिँचाइ र ग्रामीण सडक सुधारको काम पनि गरिदिएको छ । आयोजनाका सिडिई खनालले हात्तीखाल, चेपाङ, भंगाह, बाटुले, डुडुलेलगायत क्षेत्रमा सडक र सिँचाइ योजना सुधारको काम गरिएको बताए । ‘आयोजना र स्थानीय जनताबीचको दोहोरो सहयोग आदानप्रदानले आयोजनाको काममा फाइदा गरेको छ,’ उनले भने, ‘सुरुमा केही समस्या भए पनि अहिले स्थानीय स्तरबाट निकै सहयोग भएको छ ।’
कलेन्द्र सेजुवालले लेख्नु भएको समाचार

नागरीक न्युजबाट


ताजा समाचार