Loading... आजः बुधबार, कार्तिक १२, २०७७

जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुग्यो, एकै दिन ५ सयको उपचार


दिपेन्द्र शर्मा
जाजरकोट । दुई सातादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधी सहित स्वास्थ्यकर्मीको टोली पुगेर उपचार थालेको छ । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका चिकित्सक सहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सवैभन्दा बढी प्रभावित मजकोटबाट उपचार थालेको हो ।

डा. पवन शाक्यको नेतृत्वको टोलीले शनिबारदेखि नै उपचार थालेको हो। भाइरलले जुनीचाँदेमा पाँच बालबालिका सहित नौ जनाको मृत्यु भएको थियो । भौगोलिक विकटताले गर्दा स्वास्थ्य संस्था टाढा भएको र जनचेतनाको अभावले गर्दा विरामीहरु स्वास्थ्य संस्था नआएपछि घरघरमै गएर उपचार गर्ने गरी ब्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले बताए ।

’एकै ठाउँमा भिडभाड बढ्ने भएकोले पायक पर्ने स्थानमा उपचार गर्ने गरि टोली परिचालन गरेका छौं, औषधी झोलामै बोकेर जान भनेका छौं’ नेपालीले भने । शनिबार र आइतबार डा. शाक्यले स्थानीय भैरव मावि मजकोटको प्राङ्गणमा उपचार गरेका छन् । गाउँमा डाक्टर आएको थाहा पाएपछि अन्य रोगका बिरामी पनि उपचारको लागि आएको डा. शाक्यले बताए। हालसम्म ५ सय बढी बिरामीको उपचार गरिएको र अझै ६ सय बिरामी रहेको उनले बताए ।

जुनीचाँदेका १, २ र ३ नम्बर वडाका जुनीचाँदे, मजकोट, बड्कुले, मौगाना, डाँडाकोट लगायतका गाउँमा धेरै बिरामी छन् । सबैभन्दा धेरै मजकोटमा छन् । जुनीचाँदेमा करिब पाँच सय बढी विरामी भाइरलका बिरामी रहेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।
‘प्रभावित क्षेत्रमा तत्काल भरपर्दो उपचारको व्यवस्था मिलाई रोग नियन्त्रणमा लिन सम्बन्धित निकायसँग पहल गरिरहेको छु’ उनले भने। जिल्ला स्वास्थ्य प्रमुख भने शनिबार नै प्रभावित क्षेत्रमा प्रयाप्त औषधी पुगिसकेको दावी गर्छन् ।

उनले भाइरलकै कारण पाँच जनाको मात्र मृत्यु भएको दाबी गरेका छन्। ’अन्य दीर्घरोगी र उमेर पुगिसकेका वृद्धको ज्यान गएको हो, भाइरलले ५ जनाको मात्र मृत्यु भएको जानकारी पाएका छौं जिल्ला स्वास्थ्य प्रमुख नेपालीले भने । मृत्यु भएका भनिएका नौ जनाकै घरमा पुगेर मृत्युको कारण बुझ्न महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीलाई खटाइएको र केही दिनमै बास्तविकता पत्ता लाग्ने उनले बताए ।


ताजा समाचार