Loading... आजः शनिबार, अशोज २, २०७८

दृष्टिविहीन क्रिकेट टिमका लागि सहयोग जुटाउदै क्रिकेट समर्थक समाज


काठमाडौं । दृष्टिविहीन विश्वकप क्रिकेटमा भाग लिन आर्थिक अभावकै कारण भारत हुँदै बसबाट पाकिस्तान हिँडेको नेपाली टिमलाई विभिन्न व्यक्तिले सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले थालेको आर्थिक सहयोग संकलन अभियानमा पारसले सहयोग गर्ने घोषणा गरेका हुन् ।

कप्तान खड्काले आफ्नो फेसबुकबाट नेपालको लागि यो दुखद खबर भएको भन्दै सबैलाई सहयोग गर्न अपिल पनि गरेका छन् । त्यस्तै, नेपाली दृष्टिविहीन क्रिकेट टिमलाई राष्ट्रिय खेलाडी अमृत भट्टराईले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । पूर्व खेलाडी पारस लोनियाले पनि ५० हजार दिने घोषणा गरेका छन् ।

यता, नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले ५ हजार नगद दिने घोषणा गरेका छन् । देशभरबाट विश्वकप खेल्ने नेपाली दृष्टिविहीन खेलाडीलाई सहयोग भइरहेको छ ।

यु–१९ क्रिकेट टिमका मुख्य खेलाडी अनिलकुमार शाह र सोनु तामाङले ५ हजार नगद दिने घोषणा गरेका छन् ।
आर्थिक सहयोग गर्ने क्रममा सुनम गौतमले ५ हजार घोषणा गरेका छन् । त्यस्तै, रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रसान्त मल्ल, नुवाकोट जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा पाठक र युनिभर्सिटी क्रिकेट क्लबले समान ५–५ हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, आरसीडब्लुले ३ हजार सहयोग गरेको छ । देशविदेशबाट अहिले सहयोगको ओइरो नै लागेको छ ।

दृष्टिविहीन नेपाली क्रिकेट टिम गोरखपुर, अमृतसर हुँदै पाकिस्तान पुष १८ गते नै हिँडेको हो । तर गोरखपुरबाट रेल नपाएपछि दृष्टिविहीन नेपाली क्रिकेट टिम बसमा पाकिस्तान जाँदैछ ।
नेपाली क्रिकेट समर्थक समाजले ग्लोबल आइएमई बैंकमा खाता खोली आर्थिक सहयोगको अपिल गरेको छ । ग्लोबल आईएमई बैंकमा रहेको ०८०१०१०००१५८७ नम्बरको खातामा सहयोग गर्न सकिन्छ ।

नेपाली क्रिकेट समर्थक समाजले यो आर्थिक सहयोग संकलन अभियानबाट उठेको रकमले विश्वकपमा सहभागिता जनाई स्वदेश फिर्ता हुँदा हवाई यात्राको लागि भएको बताएको छ । संकलन रकम अपुग भएमा खेलाडीहरू स्वदेश फिर्ता भएपछि कप्तान पारस खड्काकै हातबाट टिमलाई दिने नेपाली क्रिकेट समर्थक समाजले जानकारी दिएको छ ।

जनवरी ७ देखि २१ सम्म पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना हुने दृष्टिविहीन एक दिवसीय विश्वकप क्रिकेटमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ । प्रतियोगितामा ६ राष्ट्र रहेका छन् । विश्वकपमा साबिकको बिजेता भारत, उपविजेता पाकिस्तान, नेपाल, श्रीलंका, अष्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले जनवरी ९ मा भारतविरुद्ध खेल्नेछ । नेपालले १० जनवरीमा घरेलु टोली पाकिस्तानविरुद्ध मैदान उत्रँदा नेपालले १३ जनवरीमा अस्ट्रेलियाको सामना गर्नेछन् ।
बारखरीबाट


ताजा समाचार