मूलपानी क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा
काठमाडौं । काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । मैदान निर्माणको काम लगभग सकिएको निर्माण कम्पनी प्रेरा प्रतिष्ठा मुन्ना एन्ड आचार्य जेभीका कामदार जनकप्रसाद आचार्यले जानकारी दिनुभयो ।
अहिले मैदानमा दुबो काट्ने काम भइरहेको छ । यसबाहेक प्याराफिट निर्माणको काम लगभग सकिएको छ । आचार्यले भन्नुभयो, ‘अब एक हप्ताभित्र प्याराफिट निर्माणको काम सबै सकिन्छ । वरिपरी पर्खाल निर्माण गर्ने र ढल बनाउने काम पनि भइरहेको छ ।’
९ वटा ब्लक राखेर प्याराफिट निर्माण गरिएको छ । त्यसको तल पार्किङ र अफिसियल कोठा बनाइएको छ । प्याराफिटको बिचमा भ्यू टावर छ । निर्माण कम्पनीले मैदानको काम सकिन लागेको बताए पनि मैदान खेल्नका लागि उपयुक्त भने अहिले नै हुने सम्भावना छैन । कम्पनीका कामदार आचार्य भन्छन् ‘वरिपरी दुबो रोप्ने र मैदान सफा गर्ने काम भइरहेको भएपनि पिच बनाउने काम भने सुरु भएको छैन । यसका लागि अझै केही समय लाग्ने देखिन्छ ।’
सुल्झिएन जग्गा विवाद
निर्माण भइरहेको मैदानको पश्चिमतिर दुईवटा टहरा निर्माण गरिएको छ भने केही जमिनमा तारबार गरिएको छ । जमिनको मुआब्जामा विवाद आएपछि यो समस्या आएको हो । सरकारले आफ्नो जग्गाको उपयुक्त मुआब्जा नपाएसम्म नदिने अडान उनीहरुको छ । निर्माण कम्पनीका कामदार आचार्य भन्छन् ‘जग्गा विवाद नमिलेसम्म हामीले काम गर्न मिलेन । सबैभन्दा पहिला त हामीलाई काम गर्ने वातावरण मिलाउन आवश्यक छ ।’
मैदानभित्र झण्डै १० जनाको ५० आनाभन्दा बढी जग्गा रहेको छ । जग्गा विवाद मिलाउन यसअघि समन्वय समितिको गठन भएको थियो । तर त्यो समितिले पनि अहिलेसम्म विवाद सुल्झाउन सकेका छैनन् ।
मैदान निर्माणको प्रक्रिया
तत्कालीन समयमा क्रिकेट खेलको आवश्यकतालाई मध्यनजर गर्दै २०६१ सालमा मुलपानीमा दुईवटा क्रिकेट मैदान निर्माण गर्ने योजना बनाएको थियो । यसै अनुरुप २०६२ बाट माथिल्लो मैदान निर्माणको कार्य सुरु भएको हो ।
लामा कन्स्ट्रक्सनले मैदान सम्याउन सुरु गरेको थियो । मैदान सम्याइसकेपछि वरिपरी तारबार लगाउने र पर्खाल लगाउने कामसमेत उनीहरुले नै गरेका थिए । त्यसपछि भने लामो समयसम्म यो मैदानको निर्माण काम भएन ।
त्यसपछि आइसिसीको आर्थिक सहयोगमा २०६८ सालमा पेविलियन बनाइयो । यस अवधिमा मैदानको केही विकास त भयो तर पनि खेल्न योग्य मैदान भने बन्न सकेन । यसपछि पनि यो मैदानको खासै विकास भएन । १३ वर्षमा अहिले पनि मैदान पूर्ण रुपमा सम्पन्न भइसकेको छैन । अझै सुधार गर्नुपर्ने ठाउँहरु प्रशस्तै देखिन्छ । यहाँ अझै मैदान सम्याउन पर्ने देखिन्छ भने प्याराफिट निर्माण गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय खेलकुद परिषद्को आफ्नै लगानीमा निर्माण हुन लागेको अर्को मैदानको प्याराफिट र पेभेलियनको काम सकिएको छ । तर मैदान पिचको काम भने अझै बाँकी रहेको छ । मैदानमा विवाद आएका कारण पनि मैदान निर्माणको काम ढिलाई भएको हो । मैदान सरकारी जमिनमा रंगशाला निर्माण गर्ने भनिए पनि जमिनको केही भूभाग व्यक्तिको भएको पाइएपछि विवाद सिर्जना भएको हो ।
उपयुक्त विकल्प
मुलपानीको यो क्रिकेट मैदान नेपाली क्रिकेटका लागि उपयुक्त विकल्प हो । यो मैदान अन्तर्रा्ष्ट्रिय स्तरको खेलको लागि पनि उपयोग गरिने छ । यो मैदान निर्माण भइसकेपछि नेपाली क्रिकेटरहरुका लागि कम्तिमा उमेर समूहको खेल खेल्न र अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न समस्या नहुने देखिन्छ ।
ujyaalo network