दिप दर्शनका गजलः नपत्याए हेर यी आँशुमा पनि !
१.
तिम्रै अभाब हो, म रुनुमा पनि
नपत्याए हेर यी,आँशुमा पनि ।।
त्यो छोरोले महान प्रगति गरेछ,
घमण्ड बढेको छ, बाबुमा पनि ।
जब बिहे गरि भाउजू ल्याए देखि,
छुट्टिने योजना भयो, दाजुमा पनि ।
देखाउन मिल्ने भए देखाइ दिन्थे,
तिम्रै माया धड्कन छ, मुटुमा पनि ।
आउ तिमी र म यतै पसिना बगाउ,
सुन फल्छ यि अग्ला, टापुमा पनि ।।
२.
मेरा सारा दुश्मनलाई, कि ठिक बनाउछु ।
कि त आफ्नै मुटु जस्तै, नजिक बनाउछु ।।
यो देशको स्वाभिमान बचाउनका लागि,
म मेरो छोरालाई, होनहार सैनिक बनाउछु ।
कहिले भन्ला यो सरकारले कमैयाहरुलाई,
जग्गा दिन्छु, पुर्जा दिन्छु, मालिक बनाउँछु ।
मैले जान्या ज्ञान अनि, दर्शन सिकाउँछु,
यी नानीको मस्तिस्कलाई, बौद्धिक बनाउछु ।।
३.
यो उजाड बगर हो बुवा, खनेर के काम ।
धान फल्दैन यो बालुवा, खनेर के काम ।।
ब्यर्थै दुःख नगर तिम्रो कोदालो खिईन्छ,
पानी जम्दै नजम्ने कुवा, खनेर के काम ।
बढ्दै नबढ्ने बोट गोड्छु नभन यसरी,
यो पात सुकेको बिरुवा, खनेर के काम ।
दुश्मन बनेर पैरो खसाउछ यो भिरले,
यो बाटो हिड्दैन बटुवा, खनेर के काम ।।
दिप दर्शन
नलगाड नगरपालिका–१२ अवलगुर्ता, जाजरकोट