Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

वाम एकता भाँड्न देशी–विदेशी शक्तिको चलखेल : विष्ट

बुटवल । गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले वाम एकता भाड्ने षडयन्त्र भइरहेको दावी गरेका छन् ।

एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्च क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा विष्टले एमाले र माओवादीबीचको एकता देखेर विभिन्न शक्तिकेन्द्रहरू यसलाई भाड्ने षडयन्त्र गरिरहेको भन्दै यस विरूद्ध सबैले खवरदारी गर्न आवश्यक रहेको औंल्याए ।

वामपन्थी गठवन्धनले देशलाई स्थिरता र आर्थिक विकाश गर्ने देखेर देशी–विदेशी शक्तिको चलखेल सुरू भइरहेको भन्दै यसबाट एमाले र माओवादी दुवै पार्टीका नेताहरू सर्जग हुनुपर्ने बताए ।

विष्टले अब बन्ने सरकारले मुलुकमा तीब्र आर्थिक विकास गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुको विकल्प नभएको बताए । जनताले वाम गठबन्धनलाई मुलुकमा आर्थिक विकास र समृद्धि गर्ने जिम्मेवारी दिएको भन्दै अबको सरकारले जनअपेक्षा पूरा गर्ने बताए ।

विष्टले अबको सरकारले जनताको अपेक्षा बदल्दै नेपाललाई समृद्ध बनाउने जिम्मा रहेको भन्दै अबको सरकारले नेपाललाई हेप्ने र पेल्नेहरूलाई विकास हेर्न टिकट काटेर आउनुपर्ने गरी विकास गर्ने जिम्मेवार आएको बताए ।

उनले सिंगापुरमा लिक्वानीले विकास गरे जस्तै नेपालमा पनि अबको सरकारले विकास गर्नुको विकल्प नभएको बताए । पूर्व मन्त्री समेत रहेका एमाले युवा नेता विष्टले गुल्मीको विकासमा आफू सधै लागिरहने बताए ।

उनले गुल्मी क्षेत्र नं २ को विकास नेपालकै नमुनाको रुपमा विकास गर्ने भन्दै खरले छाएको सबैको छाना अब राता टिनले छाउने गरी विकास गर्ने बताए । शहरमा ६० किलोमिटर सडक निर्माण गर्ने पैसाले पहाडमा मुस्किलले ३, ४ किलोमिटर मात्र सडक निर्माण गर्न सकिने भएपनि सवै गाउ र टोलमा पुग्ने सडक सञ्जालको विस्तार गर्ने उनले बताए ।


ताजा समाचार