Loading... आजः मङ्लबार, अशोज ५, २०७८

दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या


हेमन्त केसी
जाजरकोट । विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गर्ने गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह बताउँछन् । जिल्लाभर झन्डै आठ सय दरबन्दी अपुग रहेको जिशिअ सिंहको भनाइ छ । दरबन्दी अभाव भएका ठाउँमा विद्यालयहरूले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षक नियुक्त गर्ने गरेका छन् । तर, समयमै तलब खुवाउन भने समस्या छ ।

छेडागाड नगरपालिका– ११ झाप्रास्थित जनता आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन् । उनीहरू पनि विद्यालयले आन्तरिक स्रोतबाट तलब व्यहोर्ने गरी नियुक्त भएका हुन् । अर्का निजी स्रोतका शिक्षक भीमराज कार्कीले पनि १५ महिनादेखिको तलब नपाएको गुनासो गरे । निजी स्रोतबाट राखिएका यी शिक्षकले पढाउन थालेको ५ देखि १० वर्ष भइसकेको छ ।

यस विद्यालयमा ६ जना शिक्षक विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ । तीनजनाले मासिक ११ हजार रुपैयाँ र तीनजनाले मासिक १० हजार रुपैयाँ तलबभत्ता पाउने गरी नियुक्त गरिएको छ । नियमित आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या परेको विद्यालय स्रोत बताउँछ ।

‘सरकारबाट तलब खाने शिक्षकलाई चार महिनामा चौमासिक तलब आउँछ भने हामीलाई आठ महिनाको, कहिलेकाहीँ चौमासिक तलब आउने गरेको छ,’ त्रिवेणी नलगाड नगरपालिका– ८ को पञ्चभयार माध्यमिक विद्यालयमा गणित पढाउँदै आएका शिक्षक रवीन्द्र खत्रीले भने । यस विद्यालयमा निजी स्रोतबाटै नियुक्त भएकी शिक्षिका मिना बिसीले पनि सात महिनाको तलब नपाएको गुनासो गरिन् ।

सामुदायिक विद्यालय भएकाले शुल्क लिन पनि पाइँदैन । आम्दानीको कुनै माध्यम नहुँदा खर्च टार्न तथा शिक्षकलाई तलब खुवाउन समस्या छ,’ पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले भने ।

सरकारले दरबन्दी नदिए पनि पिसिएफ रकम दिँदा विद्यालयलाई केही राहत भएको थियो । तर, गत वर्षदेखि सरकारले पिसिएफ रकम दिन बन्द ग¥यो । त्यसपछि शिक्षकलाई तलब खुवाउन समस्या परेको प्रअ हुमप्रकाश बताउँछन् ।


ताजा समाचार