Loading... आजः सोमवार, कार्तिक १०, २०७७

यसरी जन्माइन्छ टेस्टट्युब बेबी, हेर्नुहोस्

काठमाडौं । नेपालमा पहिलोपटक ०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपाली मात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ? यसबारे डा. रिजाललाई नयाँपत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् ।

को हो टेस्टट्युब बेबी ?

नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो ।

 

यसरी जन्माइन्छ

सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ ।

त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस (सिसाको विशेष भाँडो)मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ ।

किन र्पयो आवश्यक ?

जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ ।

कति लाग्छ खर्च ?

अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएरसमेत हामीसँग सेवा लिइरहनुभएको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ ।

आमाको स्वास्थ्यमा असर पर्छ त ?

टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुर्पयो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुर्पयो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन ।

नयाँपत्रिका बाट साभार


ताजा समाचार