Loading... आजः शनिबार, कार्तिक ८, २०७७

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपाल च्याम्पियन

काठमाडौं– नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । थाइल्यान्डको ट्रेडथाइ  मैदानमा भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट भयो ।

सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान शाहीहर्ष भेनुगोपालले सबैभन्दा बढी ३१ रनको योगदान गरे । उनले ६५ बल खेल्दा २ चौका प्रहार गरे। अर्नव वाडवाले २१ रन र राहुल शर्माले १५ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका सूर्य तामाङ र अजयकुमार लोनियाले ३–३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोड्यो। नेपालका लागि विशाल विक्रम केसीले सबैभन्दा बढी ६३ रनको योगदान गरे । उनले ७९ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने सुवास ऐरले २२ रनको योगदान गरे ।

नारायण जोशीको नटआउट ४६ रन नेपालका लागि महत्वपूर्ण साबित भयो । उनले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरेपछि नेपालको इनिङ बलियो बनेको थियो । प्रतिश जिसी ६ बलको सामना गरेर १० रनमा नटआउट रहे । सुनील भण्डारीले पनि १५ रनको योगदान गरे ।

बलिङतर्फ सिंगापुरका इसान सनीले २ विकेट लिए।

यसअघि नेपालले सन् २०१४ मा मलेसियामा भएको एसिसी यू–१६ प्रिमियर प्रतियोगिता जितेको थियो ।


ताजा समाचार