Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

शक्ति बस्नेत : जस्ले कोही नदोहोरीएको जाजरकोटको इतिहाँस ब्रेक गरे

राजेन्द्र कार्की
जाजरकोट । जाजरकोटमा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले चुनाव दोर्हयाएर जित्ने नेताको रुपमा इतिहास ब्रेक गरेका छन् । २०१५ साल देखि भएका विभिन्न संसदीय चुनावमा हालसम्म कुनै पनि नेता दोहोरिएर चुनाव जितेका थिएनन् । तर बस्नेतले जाजरकोटमा चुनाव दोर्हयाएर जित्ने नेताको रुपमा इतिहास रचेका छन् ।

२०७० सालमा भएको संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं १ बाट जितेका उनले गत १० मंसिरमा भएको प्रतिनिनिसभाको चुनावमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएर पुनः चुनाव जित्ने नेताको रुपमा स्थापित भएका छन् ।

भेरी ज्ञानोदयको पहिलो स्वावियू सभापति देखि गृहमन्त्री सम्म

भेरी नगरपालिका–१ कालेगाँउ जाजरकोट स्थायी घर भएका शक्ति बहादुर बस्नेत बुवा डण्डवीर बस्नेत र आमा धर्मादेवी बस्नेतको कोखबाट २०२८ साल बैशाख १ गते जन्मिएका हुन् । नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य (सचिवालय सदस्य) रहेका बस्नेतले महेन्द्र बहुमुखि क्याम्पस दाङ बाट २०५० सालमा राजनीतिक शास्त्रबाट स्नाताक तह उतिर्ण गरेका छन् ।

उनका एक छोरी र श्रीमती छन् । उनकी श्रीमती शत्या पहाडी पुर्व शान्ति मन्त्री समेत भइसकेकी हुन् । सामान्य किसान परिवारमा जन्मिएका बस्नेतको आर्थिक अबस्था मध्यम छ । हालसम्म श्रीमान श्रीमती राजनीतिमै सक्रिय रहेकाले अन्य कुनै पेशा व्यावसायमा आवद्ध छैनन् ।

६ कक्षामा पढ्दा पढ्दै अनेरास्ववियुको सदस्यता लिएर राजनैतिक जीवनको शुरुआत गरेका बस्नेत २०४७ सालमा नेकपा मसालको जिल्ला सदस्य र २०४९ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भएका थिए । २०४७ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पहिलो स्ववियु सभापति भएका उनी २०५१ सालमा नेकपा माओवादी पार्टीको पश्चिमाञ्चल क्षेत्रीय व्युरो सदस्य भएका थिए ।

२०५५ मा नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५९ सालमा पोलिट व्युरो सदस्य र २०७० देखि स्थायी समिति सदस्य छन् । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएका बस्नेत पहिलो संविधानसभामा न त चुनाव लडे न समानुपातिकबाट सांसद बन्ने रुचि नै राखे । त्यतिबेला जिल्लामा अरु नेताहरुलाई अवसर दिन आफु बाहिरै बसेको बस्नेत बताउँछन् ।

संविधान निर्माण पछि गठित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकामा बस्नेतले गृहमन्त्रीको जिम्मेवारी कुशलतापुर्वक निर्बाह गरे । त्यस अघि बस्नेत २०६७ फागुन देखि २०६८ जेठ सम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रिको जिम्मेवारी सम्हालेका थिए । उनि पार्टी भित्र बौद्धिक एवं कुशल संगठकको रुपमा चिनिन्छन् । जाजरकोट बाट मन्त्री पद सम्म पुग्ने उनी पहिलो ब्यक्ती हुन् र अहिले ६ नं प्रदेशको इन्चार्जको जिम्मेवारी समेत सम्हालेका छन् । उनी देशमा अब राजनैतिक स्थायित्व र आर्थिक सम्वृद्धिको अभियान सुरु गर्ने बेला भएको बताउँछन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पार्टीका अवस्था निकै कमजोर भएपछि सबैले उनलाई नै माग गरे । पार्टीको अवस्था तेस्रो हुँदा पनि व्यक्तिगत प्रभावले उनले चुनाव जितेर देखाइदिए । तर यसपटक वाम गठबन्धन नभएको भए उनलाई नेपाली कांग्रेसका राजिव विक्रम शाहको सामना गर्न निकै सकस हुने अवस्था थियो । वामगठबन्धन भएपनि नेपाली कांग्रेसका राजिव विक्रम शाहले बस्नेतलाई कडा टक्कर दिने ठानिएको थियो ।

पुख्यौली थलो जाजरकोट भएका राजिव २०६६ सालमा जाजरकोटमा महामारीको रुपमा फैलिएको झाडापखालको बेला निजी खर्चमा हेलिकोप्टरबाट चिकित्सक र औषधी ढुवानी गरेर प्रभावितहरुलाई सेवा गरेकाले जिल्लामा निकै लोकप्रिय छन् । त्यसपछि पनि विभिन्न समयमा भएका दुर्घटना र अन्य समस्यामा सधै साथ दिने राजिवलाई पराजित गर्न शक्तिलाई ठुलै शक्ति खर्च गर्नु परेको थियो ।

शाहले आफु पराजित भएपनि पुख्यौली थलोको विकास र संमृद्विमा सधै सर्म्पित हुने बताए। ‘जाजरकोट मेरो बाजेको जन्म थलो हो । म, पद, प्रतिष्ठा र सम्पति भन्दा पुख्यौली ठाँउको गरिबी अभाव, अविकासले मेरो मन छोएर बेलायतको सुखसयलको जीन्दगी छोडेर केही सेवा गरौ भनेर यहाँ आउको हुँ । मैले हारेपनि जाजरकोटवासीको सेवामा निरन्तर खटिरहनेछु ’उनले भने ।
आम सर्वसाधारणको माया र एमालेका मत प्रभावित पारेर चुनाव जित्ने योजना बनाएका राजिब आठ हजार ९ सय ९२ मतान्तरले पराजित भएका छन् । वामगठबन्धनका साझा उम्मेदवार शक्तिले मतगणना हुने बित्तिकै शुरुआती अग्रता लिएका थिए । ६० हजार ८ सय ९७ मत खसेको जाजरकोटमा शक्तिले ३२ हजार दुई सय ८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी राजिवले २३ हजार दुई सय ८९ मत ल्याएका छन् । स्थानीय तहमा वामगठबन्धनको करीव ३७ हजार मत थियो भने कांग्रेसको १९ हजार मत मात्र थियो ।

१८ हजारको मतान्तर रहेको जाजरकोटमा यसपालि वामगठबन्धनको मत घटेको र कांग्रेसले बढाएको देखिन्छ ।
२०१५ सालदेखि २०७० सालसम्म कोही पनि सांसद नदोहोरिएको जाजरकोटमा सांसद दोहिरिने बस्नेत पहिलो व्यक्ति हुन् । संविधान निर्माण र वामगठवन्धन निर्माणमा माओवादी केन्द्रलाई तयार पार्नका लागि निकै महत्वपुर्ण र सक्रिय भुमिका खेलेका बस्नेतले अबको आफनो पहिलो प्राथमिकता संविधान कार्यान्वयन हुने बताएका छन् । उनी माओवादीको तर्फबाट संविधानको मस्यौदा समितिको सदस्यमा रहेका कार्य गरेका थिए ।

संविधान बनाउन पार्टीको तर्फबाट भूमिका निर्वाह गरेका बस्नेत संविधानको कार्यान्वयन र सिंहदरवारलाई गाउँमा ल्याउन आफुले दृढताका साथ लाग्ने बताए। संविधानले जनतालाई दिएका अधिकारको अनुभूति गराउने काममा आफू दत्तचित्त भएर लाग्ने बस्नेतले बताए ।

जाजरकोटमा सवै सिट बाम गठबन्धनले जितेको छ । नेपाली कांग्रेस जाजरकोटमा शुन्य भएको छ । प्रतिनिधि सभामा शक्ति बस्नेतले जितेका जाजरकोटका प्रदेशसभामा पनि वाम गठवन्धनकै उम्मेदवारहरु निर्वा्चित भएका छन् ।


ताजा समाचार