Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पश्चिम रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

रुकुम । रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई १८ हजार ७ सय ४३ मत बढी ल्याउँदै विजयी भएका हुन् । वामगठबन्धनका शर्माले ३४ हजार ४ सय २ मत ल्याउँदा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ मत ल्याए ।

पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका शर्माले नेपाली कांग्रेसका शाहलाई दोस्रो पटक पराजित गरेका हुन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा साविकको सिंगो रुकुममा २ ओटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं। २ बाट शर्माले शाहलाई पराजित गरेका थिए ।

त्यसअघि भने २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शाहले शर्मालाई पराजित गरेका थिए । त्यतिबेला जनमोर्चाबाट चुनाव लडेका शर्मालाई नेपाली कांग्रेसबाट चुनाव लडेर शाह पराजित गरेका थिए

तत्कालिन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु गरेपछि भने रुकुममा माओवादीको प्रभाव राम्रो छ । २०६४ र ०७० मा भएको संविधानसभा सदस्य निर्वाचन तथा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी विजयी भएको थियो ।

रुकुम पश्चिममै प्रतिनिधि सभा सदस्यमा नेकपा मालेका उम्मेदवार कलवहादुर नाथले ७ सय ८३, नयाँ शक्तिका शरुण बाँठाले ६ सय २४, संघीय समाजवादी फोरम नेपालका जगत चन्दले २ सय ५६ र राष्ट्रिय जनमोर्चाका खड्कसिंह खड्काले १ सय ९१ मत प्राप्त गरे ।
प्रतिनिधिसभामा ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय ४५ मत सदर हुँदा ३ हजार ४ सय ७० मत बदर भयो ।


ताजा समाचार