Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

४५ जिल्लामा दोस्रो चरणको चुनाव आज

जाजरकोट ।  प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदै छ।

देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए।

आज हुने निर्वाचनमा इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहँ, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी रहेका छन् ।

आज ७ बजेदेखि सुरु हुने मतदानका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको तीनवटा छुट्टाछुट्टै सुरक्षा घेराले मतदानस्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्नेछन्। निर्वाचनको तयारीसम्बन्धमा आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एकाध घटनाबाट नडराई संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदातालाई अपिल गरे। ‘सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानस्थलमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गर्दछु’, उनले भने।

मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जनाले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन् भने सबैभन्दा तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागी छन्। समानुपातिकतर्फ ५३ दलको प्रनिनिधित्व छ।

दोस्रो चरणको बिहीबारै मतपेटिका संकलन गरी मतगणना गर्ने आयोगले जनाएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न भई सदरमुकाममा थन्किएका मतपेटिका पनि बिहीबार दिउँसोबाटै गणना गर्ने व्यवस्था मिलाइएको छ।


ताजा समाचार