Loading... आजः शनिबार, कार्तिक ६, २०७८

३२ जिल्लामा आज मतदान, ७०२ उम्मेदवारबाट १११ सांसद चुनिँदै

जाजरकोट, मंसिर १० । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत अाज ३२ जिल्लामा मतदान हुँदैछ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुँदैछन् ।

२०७२ असोज ३ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन हुन लागेको हो । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ ।

२१ मंसिरमा मतगणना
१० मंसिरमा ३२ जिल्लामा मतदान भए पनि मतगणना भने २१ मंसिर साँझ ५ बजेबाट मात्रै सुरु हुनेछ । पहिलो चरणमा हुने ती जिल्लाका मतपेटिका सुरक्षित राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र नभए के गर्ने ?
मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकता, पहिला आयोगले दिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।

यसरी गरिँदै छ मतपेटिकाको सुरक्षा
गृह मन्त्रालयले मतपेटिकाको सुरक्षालाई केन्द्रमा राखी आइतबार हुने पहिलो चरणको निर्वाचनको सुरक्षा रणनीति बनाएको छ । विकट मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । मतपेटिकासँगै दलका प्रतिनिधि पनि हुनेछन् । २१ मंसिरको चुनावपछि मात्र मतगणना हुने भएकाले विवादरहित हुने गरी मतपेटिकाको सुरक्षा गर्न गृहले रणनीति बनाएको छ ।

मतदान अधिकृतको नेतृत्वमा प्रहरी, सशस्त्र, सेना र राजनीतिक दलका प्रतिनिधिसहितले मतपेटिका मतगणनास्थलमा ल्याउनेछन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मतगणनास्थल हुनेछन् । ती कार्यालय प्रायः अहिले जिल्ला सदरमुकाममा छन् ।

मतगणनास्थलमा मतपेटिका राखेको कोठालाई सिलबन्दी गरिनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको अलावा राजनीतिक दलका प्रतिनिधिले पनि ताला लगाउनेछन् । ताला लगाएको कोठाको सुरक्षा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको रेखदेख, अनुगमन र निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ ।

मतगणनास्थलको सुरक्षा सेनाले गर्नेछ । ‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने । २१ मंसिर साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ ।

तीनघेरामा चुनावी सुरक्षा
मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा सेनाले दिनेछ । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले कुनै पनि स्थानमा १० देखि ३० मिनेटभित्र प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौं ।


ताजा समाचार