Loading... आजः शनिबार, कार्तिक ८, २०७७

हामीले नखोजेको र नचिनेको जाजरकोट

जनक केसी ।
जाजरकोट भन्ने वित्तिकै सवैले २०६६को झाडा पखाला र १० वर्षे माओवादी युद्धले थलिएको विकट वस्ती भनेर मात्र वुज्ने गर्छन् । पछिल्लो चरणमा त झन २०७१ मंसिर ४ र २०७३ फागुन २६ गते दुइ पटक भएका भयंकर वस दुर्घटनाको विषयलाइ लिएर सवारी दुर्घटनाको जिल्ला भनेर पनि चिन्न थालेका छन् ।अझ भन्नु पर्दा जाजरकोटलाइ अशिक्षित गरिव र असक्षमहरुको वासस्थान जस्तो ठान्नेहरुको जमात पनि ठुलै छ । निकै दावीका साथ भन्दा जाजरकोट विकट पनि हो, विपन्नहरुको वस्ती पनि हो, विकासमा निकै पछि परेको जिल्ला पनि हो र राज्यले कहिले पनि देख्न नचाहेका जनताहरुको सुन्दर अनि दुर्गम पहाड पनि हो तर जाजरकोटको यथार्थ परिचय र पहिचान वास्तविक रुपमा यो मात्र कदापि होइन ।

जाजरकोटलाइ खोज्न नचाहेका र चिन्न नसकेकाहरुले वनाएको परिचय मात्र हो विकट र पिछडिएको जाजरकोट । अन्नको भकारीमाथि भोकै सुत्ने र सुनको ओछयानमा कचौरा समातेर माग्न वसेकाहरुको जिल्ला हो यथार्थमा जाजरकोट । चाहे जाजरकोटको इतिहास पढौं,चाहे जाजरकोटको प्राकृतिक श्रोत र साधन खोजौ , चाहे विकासमा सम्भावना सोचौं, जाजरकोट यो देश र राज्यवाट पालिने मात्र होइन पाल्ने क्षमता राख्ने जिल्ला हो । कुनै पनि ठाउँ र व्यक्तिको विषयमा नवुझेर अन्तिम विश्लेषण गर्ने हाम्रो व्यवहारले मात्र जाजरकोट विपन्न, गरिव विकट र कम्जोर उपमाहरुले न्वारन गरिएको जिल्ला हो । विकासको तिव्र गति समातेका देश र जनताको विगत हेरयो भने पनि उनीहरुको हालत अहिलेको जाजरकोट जस्तो मात्र होइन ५० वर्ष पहिलेको जाजरकोट जस्तै देख्न सकिन्छ ।

जाजरकोट जहाँका पुर्खाहरुले नेपाल एकिकरणमा पृथ्वनारायण शाहलाइ ज्यानको वाजी लगाएर सिंगो नेपाल वनाउन सघाए, जहाँका योद्धाहरुले विक्रम सम्वत १९११ सालमा नेपाल र तिव्वत विचको युद्धका वेला ताक्लाकोटमा आक्रमण गरि ६ सय थान वन्दुक खोसेर नेपाल सरकारको विजय यात्रामा सहयोग पुरयाए अनि सुदुर पस्चिमको डोटी राज्यका राजा शोभान शाहीले गोर्खाली सेनाका कमान्डर रणजीत कुवरको फौजलाइ १८४८ मा घेरा वन्दीमा पारेको वेला उक्त फौजलाइ जाजरकोटी राजा गजेन्द्र शाहको नेतृत्वमा गएको ५सयको फौजले उद्धार गरेर नेपाल एकिकरण अभियान सफल पार्न सघायो ।त्यति मात्र होइन जहाँका सेनाहरुले गोर्खा राज्यको पस्चिम आक्रमणलाइ वीरताका साथ सफल वनाइदिए आज त्यो जिल्लाको इतिहास पढयो र वुझयो भने पनि गर्वले छाती फुल्ने खालको छ । इस्वी सम्वत १८१४ देखि १६ सम्म भएको नेपाल अंग्रेज युद्धका वेला समेत जाजरकोटी सेनाले नेपाल सरकारलाइ ठुलो मद्दत पुरयाएको इतिहास सम्झन लायक छ । त्यति मात्र होइन प्रथम विश्व युद्धमा १ सय ५० जना वीर जाजरकोटीहरुको सहभागिताको कुरा होस या गोरखामा रहेकी मनकामनादेवी र जाजरकोट विचको सम्वन्धको कुरा होस या श्री ३ चन्द्र सम्सेर र वालकुमारी शाह विचको वैवाहिक सम्वन्धको कुराले जाजरकोट कस्तो जिल्ला हो भनेर चिन्न सकिन्छ ।

जहाँ वाह्रै महिना एक सय वढीं कलकल वग्ने खोलाहरु छन् , जहाका खोलाहरुवाट सयौं मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता छ त्यहि जाजरकोटलाइ आज हामी विपन्न र विकट जिल्लाको उपमा दिदैछौं ।जहाँवाट प्रकृतिको सुन्दरताको अवलोकन गर्ने सयौं सराङकोटहरु, ककनीहरु, धुलीखेलहरु चन्द्रागिरी हिल्सहरु अनि नगरकोटहरु छन् त्यो जाजरकोट विपन्न हुन्छ कसरी ? जहा वर्षेनि २० करोडको तरकारी फल्छ, करोडौंको मह उत्पादन गर्न सकिन्छ १० करोड वढीको सुन्तलाहरु फलाउन सकिन्छ अनि करोड वढी रुपैयाको आलु उत्पादन हुन्छ । जुन जिल्लाले एक सय वढी वहुमुल्य जडीवुटी र खनिजहरुको भन्डार वोकेको छ त्यो जिल्ला गरिव र विपन्न कसरी हुन सक्छ ? जसले जाजरकोटलाइ चिन्न चाहेनन या खोज्न सकेनन उनीहरुले लगाएको टयाग हो विपन्न र पिछडिएको जाजरकोट । जहाँ नेपाली कागज उध्योग, रत्न पत्थर उध्योग र विभिन्न जडीवुटीहरुको प्रसोधन केन्द्र स्थापना गरेर सयौं युवाहरुलाइ रोजगारी दिएर विदेश जानवाट रोक्न सक्ने क्षमता छ त्यो जाजरकोट कसरी विपन्न भयो ? आफनै गोजी भित्र भएको धनलाइ छाम्न र हातमा ल्याउन नसक्नेहरुले फिजाएको हल्ला हो दुर्गम जाजरकोट । पहाडै पहाड भए पनि हरेक पहाडको गर्भमा सम्वृद्धिका वच्चाहरु हुर्किरहेका छन् । खोलै खोला भएपनि जहाँ विजुलीका झिल्काहरु निरन्तर वगिरहेका छन् त्यो जाजरकोट गरिव अनि विपन्न कसरी हुन्छ ?२ सय ४८ वर्ष पुरानो इतिहास वोकेको जाजरकोट दरवारको संक्षण गर्न सके, गोरखाको मनाकामना मन्दिरमा दुनियाले पुज्ने मनकामना देवी उत्पति भएको भेरी नगरपालिका ६ भेरे गाउँको प्रचार प्रसार र पहिचान गर्न सके र ढाइ तीन सय वर्ष पुराना मन्दिर र ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सके जाजरकोट हेर्न आउनेको घुइचो लाग्न सक्छ । जसले जाजरकोट दुनियामा चिनिने मात्र होइन जाजरकोटमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ ।

जगतिपुरको ऐतिहासिक डाँडावाट देखिने हिमसृङखलाको मनोरम दृस्य मात्र होइन कुसे पाटन,प्यारी कचाली लेख, ठाकुरजी दह, जलजला हिमाल अनि लहँको खनटाकुरा, पाँचकटियाको गाइखुर क्षेत्र , नायकवाडाको वालकुने झरना, अर्छानीको लुहारे झरना र सक्लाको राहपानी झरना लगाएतका दर्जन वढी झरनाहरु अनि भेरी नगरपालिकाको काफलचौर लगाएत विभिन्न प्राकृतिक क्षेत्रहरुको प्राकृतिक सुन्दरता र मनोरमता दुनियामा करोडौ खर्च गरेर पनि पाइदैन त्यहि देखाएर देशी विदेशी पर्यटकहरु झुलाउदै जाजरकोट समृद्ध वन्न सक्छ । १३ औं सताव्दीका वेला निर्माण भएका पजारु डाँडागाउँ र घोगीका चैत्य गुम्वाहरुको कला अनि कालेगाउँ स्थित भेरी नदीको किनारामा अवस्थित शिवालय मन्दिर, पुरातत्व विभागमा दर्ता भएको पैंकको मष्टा मन्दिर,विभिन्न मेला पर्वहरुमा देखाइने धामी नाँचहरुको ऐतिहासिकता धार्मिकता र प्राकृतिक सुन्दरता वेचेर पनि हाम्रो सम्वृद्धि वढ्न सक्छ । नेपाल एकिकरणमा जाजरकोटको इतिहास र जाजरकोटको वीरतासंग जोडिएको ढिमेको खाँडो नाँचलाइ दुनियामा चर्चित वनाउन सकियो भने पनि कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्न सक्छ ।आन्तरिक पर्यटन र व्यापारलाइ प्रवद्र्धन गर्नका लागि जिल्लाका विभिन्न भेगमा लाग्ने चर्चित मेलापर्वहरु खलंगाको रमाइलो मेला, वारेकोटको रामीडाँडा मेला, मछाइनाको मेला, अर्छानीको धारपानी मेला, चिनीकम्द मेलाहरु अनि ती मेला र अन्य पर्वमा देख्न र सुन्न पाइने ख्याली नाँच, पैसेरी नाँच, टप्पा नाँच, सिंगारु नाच, फाक गीत, देउडा गीत,हिउदाले भाका, ठाडी भाका, दरी गीत, झयाउरे गीत लगाएतका कला सस्कृति र परम्पराहरुलाइ व्यवस्थित र व्यावसायिक वनाउन सकियो भने पनि हाम्रो आर्थिक सम्वृद्धिको यात्रा परिपक्व वन्न सक्छ ।

नलसिंहगाडको विजुलीले ६ नम्वर प्रदेश पुरै उज्यालो वनाउन सक्छ अनि त्यस्तो जाजरकोट विकट र विपन्न कसरी हुन्छ ? यसको शिघ्र निर्माणका लागि जिल्लाको राजनैतिक नेतृत्वले दिलो ज्यान दिएर लाग्न जरुरी छ । २ हजार २ सय ३० वर्गकिलोमिटर मध्य कुल क्षेत्रफलको ५६ प्रतिसत भाग जंगलले ढाकेको जाजरकोटको उत्तरी भेग वारेकोटलाइ वासस्थान वनाएको विस्वकै दुर्लभ जनावर रेडपान्डा, विस्वकै दुर्लभ चरा चिर कालीज र सुनगिद्धको उचित संरक्षण र प्रचार प्रसार गर्न सके जाजरकोटमा रोजगारीका अवसरहरु वढाउन सकिन्छ । त्यस्तै भुरको कोइलाखानी, वारेकोटको फलाम खानी, सक्लाको चुनढुंगा खानी, खलंगा वुदवुदीको खरी खानी, पजारु टिकाचौरको अभ्रख खानी, नायकवाडा भालुखम्वामा रहेको तामा खानी, टालेगाउँको काइनेटिक पत्थरखानी, डाडागाउको मह, वारेकोटको गाभा, रिम्ना देखि चिसापानी सम्ममको रयाप्टीङ अर्थात जलयात्रा, अनि सरु खोला, छेडागाड र नलसिंहगाडका माछाको उचित व्यवस्थापन र व्यावसायिकरण गर्न सकियो भने हामी आफनो जीवनको आर्थिक सम्वृद्धिको पाटो आफले मजवुत वनाउन सक्ने अथाहा सम्भावनाहरु छन् ।चुनावमा पैसा खर्च गरेर नेता वन्ने र पैसा खाएर मतदाता वन्ने चलन हटाउदै कसैले नचिनेको जाजरकोटलाइ सुरुमा आफैले चिन्ने प्रयास गरौं ।

सडक विजुली, सन्चार मार्फत जाजरकोटका हरेक सम्भावनाहरुको उत्खनन् गर्ने हो भने अवको नयाँ संरचनामा ६ नम्वर प्रदेशको जाजरकोट सवैको आसाको केन्द्र वन्न सक्छ । आफुलाइ कम्जोर र तन्डम ठानेर मात्रै जाजरकोट सुन्दर र समृद्ध वन्दैन । समय र जिम्मेवारीलाइ रद्धीको टोकरीमा फालेर जिल्ला समृद्ध वन्दैन भन्ने कुरा परिवर्तनको अगुवाइ गर्ने देखि सवै जाजरकोटीले वुज्न जरुरी छ । राजनीति पैसा कमाउनका लागि जागिर समय विताउनका लागि व्यावसाय नाफाको लागि मात्रै गर्ने गलत सोच छोड्न सके मात्र पनि जाजरकोट भित्र लुकेका धेरै सम्भावनाहरुले हाम्रो पुस्तालाइ मात्र होइन भविष्यका सयौं पुस्ताहरुलाइ त्यो साथ र सम्वृद्धि दिन्छ जो अन्यत्रवाट सम्भव छैन । त्यसैले जाजरकोट चिनौ जाजरकोटको सम्वृद्धि खोजौं ।

—लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।


ताजा समाचार