Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

भारतलाई पछि पार्दैै नेपाल यू–१९ एसीया कपको सेमिफाइनलमा

काठमाडौँ । बंगलादेशसँग भारत पराजित भएपछि समूह एको उपविजेता बन्दै नेपाल एसीसी यू–१९ एसीया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पराजयसँगै डिफेन्डिङ च्याम्पियन भारत भने प्रतियोगिताबाट आउट भएको छ । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।

समूह ए मा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा बंगलादेशसँग दुई विकेटको झिनो अन्तरले पराजित भएको नेपालले त्यसयता दुई खेलमा लगातार सानदार जीत निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।

समूह बी बाट अफगानिस्तान विजेता र पाकिस्तान उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । अब नेपालले शुक्रबार सेमिफाइनलमा किनरारा ओभलमा अफगानिस्तानको सामना गर्नेछ । यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।


ताजा समाचार