Loading... आजः शुक्रबार, असार ४, २०७८

जनार्दन शर्मालाई लक्षित गरी गोइरीमा बम प्रहार

जनार्दन शर्मालाई लक्षित गरी प्रहार गरिएको बम

रुकुम। प्रतिनिधि सभाका उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरि बम प्रहार गरिएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री शर्मालाई लक्षित गरि बम प्रहार भएको हो । शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

चौरजहारीकोे चुनावी सभा तथा भेटघाट सकेर सानीभेरीको सिम्ली जाँदै गरेको प्रचार टोली माथी सडकमाथिबाट बम प्रहार भएको हो । उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो । शर्मालाई लक्षित गरि फाले दुइवटा मध्य एउटा पट्किएको थियो भने अर्को नपड्केको प्रहरीले जनाएको छ ।

आफ्नौ गाडीलाई लक्षित गरी बम प्रहार गरिएको र सेक्युरीटीको पहलकदमीको कारण कुनै पनि क्षति नभएको उम्मेदवार शर्माले भने । निर्वाचन विरोधी समूहले बम पड्काएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिन अघि मात्रै पनि नेकपाकै कार्यकर्ताले शर्माकै घरमा कालो झण्डा गाडेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । त्यसमा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

शर्माको निर्वाचन टोलीमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यतर्फ ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा, माओवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार चन्द्रबहादुर विक, प्रदेशसभा सदस्य विमला केसी, एमालेको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार देवी ओली लगायत एमाले तथा माओवादीका नेताहरु पनि थिए ।

यसैबीच बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ । प्रमुख नेता राजकुमार शर्मा र शेरबहादुर केसीले सयुंक्त रुपमा विज्ञप्ती जारी गरी निर्वाचन विरोधी गतिविधि तथा उम्मेदवारलाई नै लक्षित गरी बम प्रहार गर्ने दोषी उपर कारबाहीको माग गरिएको छ ।

 


ताजा समाचार