Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

७ मेरो लक्की नम्बर हो, जित्ने कुरामा ढुक्क छु : कोमल वली

काठमाडौँ । राजावादीहरूको पार्टी छाडेर चर्चित गायिका कोमल वली एक महिनाअघि मात्रै एमालेमा प्रवेश गरिन् । दाङकी स्थायी बासिन्दा वलीले एमालेबाट टिकट पाउने आशमा पूर्वपञ्चहरूको पार्टी राप्रपा छाडेर एमालेमा प्रवेश गर्नेवित्तिकै प्रतिनिधिसभाको टिकटका लागि दौडधुपमा लागिन् । 

एमालेको मुख्यालय धुम्बाराही र ठुला नेताहरूको घरदैलो चहारिरहने केही नेताहरूले वली जत्तिको ‘प्रोफाइल’ भएको व्यक्तिलाई टिकट दिन कन्जुस्याइँ नगरिने भन्दै हौस्याए । त्यसपछि प्रत्यक्षको टिकट पाउने आशमा उनले एमालेका दोस्रो तहका नेताको घर दैलोसम्म पुग्न भ्याइन् ।

तर, माओवादीसँग गठबन्धन गरेको एमालेले पूर्वपञ्चहरूको पार्टीबाट आएकी वलीलार्इ महिना दिनमै टिकट दिने छाँट देखाएन । कोमलले प्रत्यक्षमा टिकट पाउने सम्भावना सकिएपछि एमालेकै केही नेताले उनलार्इ समानुपातिकको ‘ललिपप’ खुवाउन भ्याए । समानुपातिकको बन्दसूचीमा पर्ने आश गरेकी कोमल त्यहाँबाट पनि पाखा लागिन् ।

त्यसपछि उनको जोड प्रत्यक्षमै थियो । त्यसैका लागि उनी अन्तिम समयसम्म दाङ घर भएका एमाले नेता शंकर पोख्रेलसहितका नेताहरूकहाँ लविङमा लागिरहिन् । तर, नेता पोखरेलले यो पटक टिकट दिन नसकिएको भन्दै बुधबार राति फोन गरेपछि कोमलको चुनाव लड्ने सपना सकियो ।

‘हिजो साँझ मात्रै शंकर दाइले टिकट दिलाउन सकिएन भन्नुहुँदा, म अचम्मित भएँ’, कोमलले जनता समाचारसँग भनिन्, ‘अस्तिसम्म भनेको भए पनि अरू विकल्प खोज्थेँ । एमालेले धोका दिएपछि स्वतन्त्रबाट चुनाव लड्नुबाहेक मसँग अरू विकल्प रहेन । म जन्मेको ठाउँबाट उम्मेदवार भएको छु, सबैले साथ दिन्छ्न् ।’

एमालेले नपत्याएपछि कोमलले प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराइन् । ‘एमालेले धोका दियो । स्वतन्त्रबाट उम्मेदवारी दिएकी छु । पक्कै चुनाव जित्छु’, कोमलले भनिन्, ‘निर्वाचन अधिकृतको कार्यालयमा मेरो उम्मेदवारी ७ नम्बरमा दर्ता भएको छ । ७ मेरो लक्की नम्बर पनि हो, जित्ने कुरामा ढुक्क छु ।’

एमालेले धोका दिएको भन्दै निराश देखिएकी कोमलले बेइमान होला भन्ने नसोचेको बताइन् । अब एमालेमै बस्ने नबस्ने कुरा आफूमा भन्दा पनि धेरै पार्टीमा नै भर पर्ने उनको तर्क थियो ।

जनता समाचारबाट


ताजा समाचार