Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बाटो बिराएका छोरालाई एक कारुणिक चिठी

भक्त बहादुर बि‍.क  

प्यारो छोरा‍‍
मिठाे  माया अनि  उज्वल भबिष्यको कामना‍‍‍

साँच्ची छोरा आज मानसिक तनाबको बिचमा समयको घेरा बन्दीमा रही संयोग र भावनाको मेलमा मेरो हातको तिनवटा औंलामा कलमलाई नार्दै तिम्रो जीवनको मार्गदनर्दशक बिचारहरु कपीमा दौडाउदै तिम्रो जीवन मार्गका कमिकमजोरी औंल्याउदै गलत आचरण र ब्यवहारबाट सच्चिनै आग्रह गर्दै एउटा पत्र कोर्दै छु ।छोरा जसरी भुसमा आगो सल्कियो भने भुसमा आगो बलेको देखिदैन तर भित्र भुस जलेर खरानी भईसकेको हुन्छ । त्यसरी तिम्रो जीवनमा पनि भुसको आगो सल्किएको रहेछ बल्ल तिमी खरानी भएपछि थाहा भयो । मैले सधैं हाम्रो सानो सुखी परिवारलाई स्वणिँम बनाउनको लागी बर्तमान आफ्नो सुखलाई त्यागेर भएपनि तिम्रो भविष्यको सुखको लागी साँची राख्दा पनि तिमीले बुझ्न सकेनौ । तिमीले आफ्नै हातले मेरा सुन्दर सपना,तिम्रो सुन्दर भविष्यको हिंस्रक तरिकाले हत्या गरी दियौ । त्यसको हिसाव आफैले भोग गर्दै चुक्ता गर्नुपर्ने छ । तिम्रो उमेर भनेको तिम्रो भविष्यको प्रवेश द्धार हो । यति बेला सकारात्मक विचारको प्रवेश गराउनु पर्छ । अनि तिम्रो भविष्य सुन्दर र सभ्य हुने छ । छोरा तिमीले बिद्यालयबाट घरमा फर्कने क्रममा गलत साथीहरुको लहलहैमा लागी आफ्नो जिम्मेवारी र कर्तब्य बिर्सिएर सोमरसको सेवन गरी सोमरस कै मातमा जसले तिम्रो अन्धकारलाई हटाई तिम्रा आगतका लक्ष्य , सपना र जीवनलाई उज्यालो तर्फ धकेल्ने जसले तिम्रो ज्ञान मार्गको तिर्खा जगाई सुन्दर भविष्य निर्माणकर्ता भविष्यको मार्ग दर्शक गुरू भक्ति प्रसाद सर माथी हातपात र दुर्ब्यबहार  गर्यौ रे भन्ने सुन्दा मेरा हरेक खुसीहरु अन्तै बसाई सरी सके । म त मानौ सातौ तलाबाट भूईमा खसि छेद बिच्छेद भए जतिकै भएको छु ।

आज मैले तिम्रो उज्वल भबिष्यका बारेमा सोचेका सपनाका तानाबाना एकै पटक मेरो मन मस्तिष्क बाट बिछोडिएको आभास भएको छ । मेरो मुहार  र अन्तरआत्ममा रहेका खुसिका रेशा र त्यान्द्राहरु एक्कासी चुडेको आभाष भएको छ । म अन्धकारमा रुमलिएको छु ।मेरो आकृतिको रुप रंग बदलिएको छ । मेरो मानस पटलमा बिशेष क्षेत्र ओगटेर बसेको तिम्रो उज्वल भविष्य तिमी आफैले तहस नहस गर्दै छौ । यदि तिमी आफ्नो सुन्दर भविष्य  चाहान्छौ भने आफ्नो गलत बाटो त्याग्दै सु–मार्गमा आगाडी बढ । साच्चै गल्ति गरेर पाएको सजायले भन्दा गल्ति नगर्दा पाएको सजायले जीवनमा धेरै पोल्दो रहेछ । आज जीबनमा गल्ती नगर्दा पनि पाएको सजायले गर्दा मलाई एकान्तमा जलाईरहेको वा पोलिरहेको छ । त्यो पोलाईको पिडा सहन नसकी एकपटक डाको छोडेर रुन मन लाग्छ तर रुवाई सुनि दिने आफ्नो बेदना र पिर बुझिदिने कोही हुनु पर्ने रहेछ । त्यसैले मैले आसुलाई आँखामा नै राखी पिडा पखाल्न सकिरहेको छैन । आज त्यही पिडाले लिखुरे ख्याउटे प्रतियोगिता हार्दै गरेको मेरो भौतिक शरिर आज लिखुरे र ख्याउटे प्रतियोगिता  जित्दै छु । मरिचको रुप धारणा गर्दै छु । दिन प्रति दिन मेरो शरीरमा रोगको गर्भाधान गराउदै छु ।

तिमीले असल आमाबाबु पाउनु पनि त सौभाग्य थियो । तर त्यसको सही सदुपयोग गर्ने जानेनौ । यसमा पनि हाम्रा केही अदृष्य बाध्यात्मक परिस्थिती वा कमी कमोजोरी हुन सक्छन् । किनकी सन्तानालाई असल बनाउनको लागी आधा धन र त्यसको दोब्बर समय खर्चनु पर्थ्यौ । तर मैले कुनै लोभ,लाल्सा,भय डर त्रास र पक्षपात नगरी देश र जनताको सेवा गर्ने छु भनि राष्ट्रिय झण्डा र धर्मग्रन्थ लाई छोई आत्म साक्षी राखी सपथ खाएको मिति देखि देश बिकासको आधारसिला  शान्ति सुरक्षा चुनौतीपुर्ण अनेक जन्जिर कसिएको जागिर खाएको छु । कानुनको पालकको साथै समाजको पथ प्रदर्शकको रुपमा सत्यलाई धर्म र सेवालाई कर्म ठान्दै अहोरात्र देश र जनताको सेवामा समर्पित छु । अन्यायमा परेकाहरुको न्याय दिलाउने कानुन रक्षाको निमित्त सधै तम्तयार छु । मेरो जागिरे बाध्यताले आधा धनको जेनतेन जोह गर्ने सकेको छु ।

तर तिम्रो लागी दोब्बर समय खर्चन सकिन । यस मानेमा म पनि तिमी जत्तिकै दोसी छु । अझै पनि चाहेर म तिम्रो लागी समय दिन सक्ने अवस्था म छैन ।यही घटनाबाट तिम्रो मन मस्तिष्कमा जब्बर भई बसेको गलत विचारलाई चेतनाको झाडुले सफा गर्दै अगाडी बढने छौ भन्ने पुन स् आशा र विश्बास लिएको छु । एउटा अमेरीकी उखान छ “ असल मनसाय भएको सुरुवातको अन्त्य पनि असल हुन्छ । “ त्यसैले आगतमा कुनै पनि कामको थालनी गर्दा असल मनसाय र सोचका साथ थाल्ने छौ भन्ने बिश्वास लिएको छु । त्यस घटनाले तिम्रो अन्तर आत्मामा बिकाश भएको वा तिमीले आफैले आफैलाई छलेको सत्यता को बोध भयो । यसले अरुलाई होईन तिमी आफैलाई दुर्गती तिर धकेन्ने छ । तिम्रो गल्ती कमी कमजोरीको बिचमा पनि तिम्रो दोसी आत्म र निर्दोस मुहारलाई सम्झदै तिम्रो दोषी आत्मलाई निर्दो्सिता प्रदान गर्ने छौ भन्ने आशा र बिश्वास लिएर मुटुको तिरको घाँउलाइ सम्हाल्दै अझै आशा र भरोसाका त्यान्द्राहरु साँची रहेको छु ।मेरो पनि एउटा सुन्दर घर बनाउने तिमीहरुललाई सुरक्षा प्रदान गर्ने मिठो खाने राम्रो लगाउने रम्ने रमाउने मानबिय स्बभाव अन्तर आत्मामा कुण्ठित राखी केवल तिम्रो उज्जवल भबिष्यको कल्पना गर्दै बेस निर्माण गर्दै थिए  सधै तिमी प्रति सकारात्मक सोच मात्र राखेको थिए तर आज तिम्रो ब्यवहारले मेरो होस हवास नै गुमेको छ । मेरो भोक निन्द्रा आजको सूचना र सञ्चारको बिकासले सम्बृद्ध  विश्वको खोज तलास गर्दा पनि नपाउने गरी कुलेलाम ठोकी भागी सक्यो । त्यसलाई खोजी भेट्टाउने क्षमता तिमी बाहेक कसैमा पनि छैन् । तिमीले नै खोजी गरी मलाई नै फिर्ता गर्ने छौ । भन्ने बिश्वास लिएको छु ।सागर जस्तै शान्त, सौम्य र भद्र यो मेरो जीवन खहरे खोला जस्तै उर्लिएको छ । वा आ(आफनै ठाउँमा बसेका सकारात्मक विचार पनि शहरमा निर्मित सिमेन्टका ठूला ठूला भवनहरु भुईचालोको चपेटामा परी ढली यत्रतत्र छरिएझै छरपष्ट भएका छन  ।  त्यस्तो अन्यौलतामा पनि अझै तिम्रो सुन्दर भविष्य बनाउने पाउने कल्पना गरीरहेको छु । त्यसमा तिम्रो सहयोग बिना म एक्लैले यो सफलता हाँसिल गर्न सक्दिन । त्यसको जिम्मेवारी बोध गरी तिमीले बहन गर्नुपर्दछ वा आफ्नो भविष्यका बारेमा सोच्नु पर्दछ ।

अहिले विश्वमा भएका जतिपनि स्रोत साधनहरु छन । हामीले प्रयोग गरीरहेका  छौ ति सबै मानब बिकासका क्रममा मानबिय त्रुटी कमी कमजोरीको बिकसित रुप हो । गल्तिले नै मानिसलाई सहिबाटोमा अगाडी बढ्नको लागी सकारात्मकताको बाटो तर्फ अगाडी बढ्नको लागी मद्धत गर्दछ । तर त्यो कुरालाई वा गल्तीलाई कसरी धारणा गर्ने भन्ने कुरा सोच्नु पर्दछ । गल्ति दोह्रोर्यानउनु   हुदैन । अब सकारात्मक शिक्षा लिई अगाडी बढ्नु पर्दछ । बिगतका दिनहरुमा भएका कमी कमजोरी र नकारात्मक बिचारलाई हटाई आगतमा एउटा असल ब्यक्तित्व बन्ने छौ भन्ने आशा र बिश्वास लिएको छु । के गर्ने छोरा यो दुनियाँमा मानिसले आफु भन्दा कोही ठूलो मान्यगुन्य भयो भन्ने ईष्या गर्दछ । तर सधैं आफ्नो सन्तान आफु भन्दा सधै ठुल मान्यगुन्य भएको देख्न चाहान्छ र सधै त्यही कल्पना गर्दछ । त्यस्तै देश राष्टियता, मैलिकता , सार्वभौमिकता संग आफ्नो सन्तानलाई तुलना गर्दा सन्तानको माया धेरै हुन्छ भन्छन त्यस्तै मैले पनि तिमी म भन्दा ठुलो मान्यगुन्य भएकै देख्न चाहीरहेको छु । मेरो त्यही सोचलाई तिमीले शक्तिमा बदली सही मार्गमा अगाडी बढेको देख्न चाहेको छु । सहीबिचार आफ्नो मन मस्तिष्कमा रोपी फलाउने फुलाउने छौ । तिम्रो सही बिचारले नै तिमीलाई महान बनाउने छ अन्यथा तिमी सधै दुस्खी र समाजको एक घृणित ब्यक्तित्व बन्ने छौ ।

मानब मस्ष्तिक पनि एउटा बगैचा जस्तै हो भन्छन् । जहा फूलहरु रोपीयो गोडमेल मलजलको उचित व्यबस्था सहित रेखदेख गरियो भन्ने त्यहाँ सुन्दर फूलहरु फूल्दछन् । त्यहाँ हराभरा र मनमोहक बातावरण हुन्छ तर उक्त बगैचामा फूलहरु रोपीएन खाली छाडियो भने त्यो ठाउँमा खाली रहदैन केवल झारपात भएपनि त उम्रन्छ । झारपातले उक्त स्थान आफ्नो बहसमा पार्दछ । फूलको बगैचाको जस्तो स्वच्छ सुन्दर हराभरा र मनमोहक बातावरण दिन सक्दैन । त्यसैले तिम्रो बिचारमा सकरात्मताको बिजारोपण गरेनौ वा स्थान दिएनौ भने वा बास गराएनौ भन्ने तिम्रो मस्तिष्कलाई नकारात्मक विचारहरुले स्वत स् बहसमा पार्ने छ र नकरात्मक विचारको सेवक वा  दासी तिमी बनाउने छन् । त्यसैले तिमीले आफ्नो मन  मस्तिष्कमा  सकरात्मक विचारको भण्डारण  गर्ने सक्यौ भन्ने तिम्रो मन मस्तिष्कमा रहेका नकारात्मक विचार भाव  र क्रियाकलापहरु आफै कुलेलाम ठोकी तिमी देखी पुच्छर लुकाउदै फरार हुनेछन् ।

आज मलाई सोही घट्नाले कता कता महिलाहरुले बिगतमा भोग्नु परेको सतिप्रथाको याद दिलाएको छ । त्यतिबेला महिलाहरुले भोग्नु परेको सतिप्रथाको पिडा र मैले भोग्नु परेको पिडासँग तुलना गर्दा मेरै पिडाले प्रथम स्थान हाँसिल गरेको महशुस भएको छ । शति युगमा कुनै पनि महिलाको श्रीमान  को मृत्यृ भएमा श्रीमानको मृत शरिरसगै पतिब्रता धर्म नष्ट नहोस भनि श्रीमातिले आफनो जिउँदो शरिरलाई श्रीमानको मृत शरिर सगै चितामा जली आफ्नो जीबन लिला समाप्त गरी खरानीमा परिणत हुनुपथ्यौ । उनलाई थोरै समय मात्र पोल्थ्यो अनि फेरी पोलिनु पर्थेन । तर म जिउँदै सधै भरी जलिरहने गरी जीबनमा पोलिई घाईते अवस्थामा छु । वा पटक पटक पोलिरहन्छ । मैले त्यो पोलाईको पिडासगै आफ्नो जीवनलिला समाप्त गर्न सकेको छैन् वा त्यो पिडाले मलाई पटक पटक जलाईरहेको छ वा पोलिरहेको छ ।  उक्त जलनलाई मलम पट्टि लगाउने वा निभाउने दायित्व तिमीमा सुनिश्चत छ । त्यसैले मेरो आत्मको जलनलाई कम गर्ने अबका दिनहरुमा सुन्दर कल्पाना गदै सही बिचार र सही मार्गको छनौट गरी आफ्ना नराम्रा बानी ब्यवहारहरुको दाहसंस्कार गरी अगाडी बढ्ने छौ भन्ने आशा विश्वास र भरोसा लिएको  छु ।

सायद मेरो पबित्र आत्माले सोच्छ भने त्यो मौका तिमीले नपाउनु पर्ने हो । तर अभिभावका स्वयम् पिडित गुरु र तिम्रो शुभचिन्तक गुरुहरुको पहल कदमीले एउटा सुनौलो अवसर प्रदान गरेको छ । त्यस अवसरलाई भरपुर प्रयोग गरी अगाडी बढ्नु । यदी त्यस को बेवास्ता गर्यो भने तिमीले जीवनको ठुलो मुल्य चेकाउनु पर्ने छ । आउदा दिनमा सायद यस्ता अबसरको उपयोग गर्ने पाउने छैनौ ।आफ्नो दायित्व र कर्तब्य बुझ्न नसक्दा फोहरको डंगुरमा रुमलिन्नु पर्ला ! आफ्नो सुन्दर भविष्य अन्धकारमा नधकेल त्यो अन्धकारको बाटो अगाल्न बाध्य पार्ने साथीसंगी देखी टाढा रहने बाचा गरी ब्यबहारमा कार्यान्वयन गर । तिमीसंग अथाह ज्ञान ,बुद्धि , बिवेक र क्षमतालाई चिन्ने प्रयास गर । यदी आफ्नो क्षमता चिन्ने नसकेमा त्यो आफै खेर जाने छ । सत्य र निष्ठा नै ईमान्दारीताको जग हो त्यसमा अडिन सिक । यदी तिमी सत्य निष्ठा र प्रतिष्ठाको महत्व दिन्छौ भन्ने गुणवान असल साथीहरुसँग संगत गर खराब साथीहरुसँग संगत गर्नुभन्दा त साथीत्व बिहिन एक्लै बस्न नै उचित हुन्छ । असल र खराबको पहिचान गरेर मात्र अगाडी बढ्ने कोशिस गर अनि समय र हरेक बस्तु तिम्रो पक्षमा हुनेछन् ।

यदी तिमीले कमसल चरित्रलाई  चलाखी र ढाकछोप गरी एकैछिन । त लुकाउन त सकौला तर त्यसको रुप उदाङ्गिएपछि तिम्रो जीवन असाध्यै कष्टकर हुने छ । छोरा मानव भएपछी आज्ञाकारी हुनु पर्दछ । आज्ञापालना बिना जिम्मेवारी पुर्ण ब्यबहार सिक्न सम्भव हुदैन । आज्ञापालनाको माध्यमबाट असल चरित्रको प्रस्थान बिन्दु सम्म पुग्न सकिन्छ । चरित्र बिनाको सहासले तिमीमाई कहिलै उठ्न नसक्ने खाडलमा पुर्यााउनु छ । त्यसैले जे पाउने आशा अपेक्षा गर्नुछ । त्यही बाटोमा हिड्नु पर्छ । अहिले पढ्ने समयको दुरुपयोग गरी आफ्नो मन मस्तिष्कमा अन्य ठाउँमा  लगायौ भने वा तिम्रो गलत बानि दासी बन्यौ भने तिमीले ठूलो क्षेतीको परिणाम भोग्नु पर्नेछ । छोरा यदी तिमीले आलु रोप्यौ भने त्यहाँ आलुनै फलेको पाउछौ त्यसमा स्याउ फलेको पाउदैनौ । स्याउ फलाउनको लागी स्याउको बोट नै रोप्नु पर्दछ । त्यस्तै यदि तिमी राम्रो भविष्यको कल्पना गर्दछौ भने तिम्रो आचारण,  ब्यबहार, अनुशासन, ईमान्दारीता, आज्ञाकारीता  र उक्त क्षेत्रप्रत्तिको तिम्रो लगन जस्ता गहनाले तिमी सजिसजाउ हुनुपर्दछ । फोहरको डंगुरमा बसेर स्वर्ग देख्न सकिदैन स्वर्ग देख्न त त्यो फोहरको डंगुरलाई त्यागी स्वर्गको खोजीमा अगाडी बढनुपर्दछ ।

तिमी यो संसारमा एक्लो छैनौ । राम्रो नराम्रोमा पनि तिमीसँगै हामीपनि जोडिएका छौ । र हामी संग तिमी जोडिएकाछौ सायद त्यो पनि हाम्रो माया ममता र प्रतिष्ठा संग जोडिएर आएको थियो होला । कतिले तिम्रो नाम लिएर बहस गरे होलान कतिले हाम्रो नाम लिएर बहसमा उत्रेहोलान । अब हाम्रा  कमीकम्जोरी भए हामी पनि सच्चिन्छौं र तिमी पनि सच्चिनु पर्दछ । यो दागलाई मेटाउनको लागी तिमीले गलत क्रियाकलापलाई त्याग्दै सही मार्गमा अगाडी बढ अध्ययन, अध्यापन, शारिरीक र मानसिक श्रम लाई प्राथमिकतामा राख्दै अगाडी बढ् ।  अनि मात्र हाम्रा बिषयलाई नकारात्मक बहस गर्नेहरु मुखमा उदाहरणिय बन्नुपर्दछ । वा तिम्रो र हाम्रो पक्षमा सकारात्मक बहस गर्ने बनाउनु पर्दछ । घरमा तर बिद्यालयमा ध्यान दिनुपर्दछ  यो पत्रले तिमीलाई अन्धकार भित्र सुनौलो किरण प्रदान गरेझै महशुस गराउदै उज्यालो तर्फ धकेल्ने छ । भन्ने आशा ,बिश्वासको कामना गर्दै चलिरहेको यो कलम कपी र भावनाको रप्तारलाई यही बिट मार्दछु ।

उही तिम्रो बाबा


ताजा समाचार