Loading... आजः बिहिबार, भदौ ३१, २०७८

राजमार्गको पुल अतिक्रमण गरि होटेल चलाउदै स्थानीय 

तस्बिर : भिम बहादुर सिंह

कार्तिक १२, जाजरकोट । छिन्चु जाजरकोट सडकको छेडा,खलंगा खण्डको फेराबजारस्थित बुंगरे खोला पुल क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन् । भेरी नगरपालिका १० का बासिन्दाले पुलको छेउछाउ अतिक्रमण गरेपछि सडक क्षेत्र साँघुरिएको छ ।

बुंग्रे खोला आसपासका बासिन्दाले पुल क्षेत्रमा होटल, रेस्टुरेन्ट, किराना पसललगायत सञ्चालन गरेर अतिक्रमण गरेका हुन् । ‘सम्बन्धित निकायका प्रमुख तथा सरोकारवाला यो पुलबाट आवतजावत गर्छन् । तर अतिक्रमणकारीलाई हटाउनतर्फ कसैको ध्यान गएको छैन,’ स्थानीय तिलक रानाले भने ।

अतिक्रमणलाई नियन्त्रण नगर्दा समस्या बढदै जाने देखिएको छ । पुलको पश्चिमतर्फको एक चौथाइ भाग अतिक्रमणमा परिसकेको छ । उक्त पुलकै दायाँबायाँ ८ वटा होटल पसल सञ्चालनमा रहेको स्थानीय रानाले बताए । ६ करोडको लगानीमा गत वर्ष मात्र निर्माण सम्पन्न भएको पुलको छेउमै होटल पसल गर्ने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै उनले भने, ‘जथाभावी घर टहरा बनाउँदा पनि कुनै निकायले चासो देखाएन ।

उक्त क्षेत्र बस, जिप, ट्रकलगायत यातायातका साधनको पार्किङस्थल समेत बनेको छ । अतिक्रमणका कारण राजमार्गमा यातायातका साधनलाई आवतजावत गर्न समेत कठिनाइ भइरहेको छ ।

पुल निर्माण सम्पन्न भएको एक महिना नबित्दै स्थानीय बासिन्दाले घर टहरा बनाएर अतिक्रमण गर्न थालेका थिए । बुंगरे खोला किनारको ऐलानीमा होटल व्यवसाय सञ्चालन गरेकाले पुल अतिक्रमणमा परेको हो ।

स्थानीयको अतिक्रमणबाट पुलको आयु ह्रास हुँदै गएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सूर्यबहादुर शाहीले बताए । भाँडा माझ्ने, कपडा धुने, पार्किङ गर्ने, आगो बाल्ने, फोहोरमैला फाल्ने लगायतले पुलको आयु दिगो नहुने शाहीले बताए । निर्माण भएको १ वर्ष बित्न नपाउँदै पुल जीर्ण बन्न लागेको उनले बताए ।

अतिक्रमणकारीलाई तत्काल हटाएर पुलको आयु लम्ब्याउनेतर्फ चासो दिनु जरुरी भएको शाहीले बताए । पुल अतिक्रमण तत्काल नियन्त्रण गरिने भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । अतिक्रमण हटाउन सम्बन्धित वडा अध्यक्ष लगायतलाई ताकेता गर्ने नगरप्रमुख घर्तीको भनाइ छ ।

स्रोत : कान्तिपुर


ताजा समाचार