Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

अछामको रामारोशनको विकासका लागि ३ गाउँपालिकाको साझा प्रतिबद्धता

कल्पना बोहरा
अछाम, ३१ असोज । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको विकास र प्रर्बद्धनका लागि अछाम र कालिकोटका ३ गाँउपालिकाले संयुक्त रुपमा पहल सुरु गरेका छन । प्रदेश नम्वर ७ र ६ अन्तरगत अछामको रामारोशन गाउपालिका, कालिकोटको शान्नि त्रिवेणी गाँउपालिका र नरहरीनाथ गाँउपालिकाले संयुक्त रुपमा गुरुयोजना निर्माण गरि रामारोशन पर्यटकिय क्षेत्रको विकासमा अग्रसरता देखाएका हुन ।

पर्यटकीय क्षेत्र रामारोशनमै संयुक्त बैठक गरि बैठकले गरेका साझा सहमतीलाई मंगलसेनमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि सार्वजनिक समेत गरिएको छ । रामारोशन गाउपालिकाका अध्यक्ष झंकर साउदको नेतृत्वमा भएको संयुक्त सैद्धान्तिक तथा प्रारम्भिक छलफलले रामारोशन पर्यटकीय क्षेत्रको बिस्तार र विकासका लागि गुरुयोजना निर्माण गर्ने, सेती लोकमार्ग हुदै हिल्सा जोड्ने सडकको ट्र्याक खोल्न पहल गर्ने, अन्तर प्रादेशिक सडक बनाउन संयुक्त पहल गर्ने, रामारोशन जैवीक क्षेत्रको विकास, बिस्तार र त्यसको ब्यावस्थापन गर्ने र बालविवाह न्यूनिकरणका लागि समेत साझा पहल गर्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा रामारोशन गाउपालिका अध्यक्ष साउदले कालिकोटका रामारोशन संग जोडिएका २ गाँउपालिका र अछामको रामारोशन गाँउपालिका हरेक तहवाट उत्पिडन र उपेक्षामा परेका हुदा स्थानीय सरकार आईसकेपछी रामारोशन मार्फत उक्त क्षेत्र समृद्ध बनाउनका लागि साझा पहल गरिएको बताउनुभयो ।

संयुक्त बैठकले रामारोशन हुदै कालिकोटमा बिद्युतको केन्द्रिय प्रशारण लाईन जोड्न पहल गर्ने, रामारोशनको प्रोफाईल तयार गर्ने, जडिबुटीको चोरि निकासि तथा पैठारी पूर्ण प्रतिबन्ध गर्ने लगायतका अन्य विषयमा पनि छलफल भएको सो अवसरमा जानकारी दिईएको थियो ।

शान्नि त्रिवेणी गाउपालिका कालिकोटका अध्यक्ष डम्वर बहादुर बहादुर शाही, नरहरीनाथ गाउपालिका कालिकोटका प्रवक्ता गगन बहादुर फडेरा सहित जनप्रतिनिधिहरुको टोलिले असोज ३० गते रामरोशन पर्यटन क्षेत्रमै सामुहिक बैठक सम्पन्न गरेका थिए ।


ताजा समाचार