Loading... आजः सोमवार, कार्तिक १०, २०७७

जर्मनी र इग्ल्याण्ड विश्वकप फुटवलका लागी छनौट

काठमाडौ, असोज २० । विश्व विजेता जर्मनी र इग्ल्याण्ड २०१८ मा रसियामा हुने विश्वकप फुटवलमा छनौट भएका छन् । नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी विश्वकपमा छनौट भएको हो ।

जर्मनीका लागि खेल सुरु भएको दुई मिनेटमै सेबास्टियन रुडीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको २१ औँ मिनेटमा सान्द्रो वाग्नर र ८६ औँ मिनेटमा जोशुआ किम्मिचले जर्मनीका लागि एक–एक गोल गरेका थिए । नर्दन आयरल्याण्डका लागि भने दोस्रो हाफको इन्ज्युरी समयमा जोश मागेन्निसले सान्त्वना गोल गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन जर्मनीले विश्वकपमा छनौटमा ८३ वर्षमा अहिलेसम्म हार व्यहोरेको छैन । उसले अहिलेसम्म खेलेका ४७ छनौट खेलमध्येमा ३७ खेलमा जित हासिल गरेको छ भने १० खेलमा बराबरी गरेको छ । समूह ‘सि’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्ड समान ९ खेलबाट १९ अंक छ । नर्दन आयरल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना कायमै छ ।

उता, स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोलले इंग्ल्याण्ड पनि अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छानिएको छ । बिहीबार राति भएको स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो । समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनौट हुन ड्र मात्रै भए पनि पुग्दथ्यो । तर खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा टोटेनह्यामका स्टार केनले काइल वाल्करको क्रसलाई गोलमा परिणत गरेपछि जितका साथ छनौट भएको हो ।

त्यस्तै विश्व फुटबलको महारथी  अर्जेन्टिनाको २०१८ को विश्वकपको छनौट यात्रा निक्कै कठिन मोडमा पुगेको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा पेरुले गोल रहित बराबरीमा रोकेपछि स्टार खेलाडी लियोनल मेस्सीको टिमको विश्वकप यात्रा कठिन मोडमा पुगेको हो । आफ्नो जादुगरी खेलका कारण चर्चित मेस्सीको जादु सो खेलमा चल्न नसक्दा अर्जेन्टिना निक्कै ठुलो दवावमा परेको छ ।

खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने । पेरुसगको खेलमा मेस्सीलाई भाग्यले समेत साथ दिएन । पहिलो हाफमा मेस्सीको क्रस बारमा लागेर फर्किएको थियो ।

दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ । अर्जेन्टिनाले अर्को साता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।


ताजा समाचार