Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बडादशैंको आज मुख्य दिन, टिका र जमरा लगाएर आशिर्वाद लिइँदै

जाजरकोट, १४ असोज । बडादसैको दसौ दिन आज टिका । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन र ११ बजेर ५५ मिनेटमा टीका लगाउनका लागि शुभसाइत रहे तापनि दिनभरि टिकाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरा सहितको टीका आज लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापेर उनीहरूबाट आशिर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने प्रचलन समेत रहेको छ ।

पहिलो पटक बिवाह गरेका जोडीहरुले आजै दशैंको टिकाकै दिन ससुरालीमा टिका थाप्ने प्रचलन पनि रहि आएको छ । यस बाहेक दशैंको शुभ दिनमा बिवाह गर्नको लागि समेत साईत नचाइने बताइन्छ ।

 

 


ताजा समाचार