Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

बर्दियामा क्रिकेट प्रतियोगिता हुने

भुरिगाउँ, बर्दिया । नेेपाली क्रिकेट समर्थक समाज समन्वय समिति बर्दिया र विकासप्रेमी युवा समुह बर्दियाको संयुक्त आयोजनामा जिल्लास्तरीय मेयर टि-ट्वान्टी कप संचालन हुने भएको छ ।

विगत ४/५ वर्षदेखि बर्दिया जिल्लामा क्रिकेट सम्बन्धि जिल्लास्तरीय प्रतियोगिताहरु संचालन नहुँदा जिल्लाका क्रिकेट खेलाडीहरु पलायन हुने स्थितिमा पुगेका छन् र बर्दिया जिल्लामा अहिले क्रिकेटसम्बन्धि गतिविधि शुन्य अवस्थामा रहेको छ । जिम्मेवार निकायबाट क्रिकेटसम्बन्धि कुनै प्रतियोगिता नहुँदा बर्दिया जिल्लाका क्रिकेट प्रतिभाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुग्ने अवसर समेत गुमाइरहेका छन् ।

जिल्लाको क्रिकेट सम्बन्धि बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै नेपाली क्रिकेट समर्थक समाज बर्दिया समन्वय समितिले विकासप्रेमी युवा समुह बर्दिया संग सहकार्य गर्दै जिल्लाको क्रिकेटलाई पुनः चलायमान बनाउन र बर्दियामा क्रिकेटको संस्कार बसाउनका लागि जिल्ला स्तरीय मेयर टी-ट्वान्टी कप संचालन गर्न लागीएको जनाएको छ ।

क्रिकेटमा राम्रो गर्न सक्ने खेलाडीहरु जिल्लामा भए पनी उनिहरुले राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म नपाउंदा बर्दियाले क्रिकेटका प्रतिभाहरु गुमाउदै गएको र यसलाई बचाउनका लागि पनि यो सुरुवात आबश्यक रहेको बर्दिया स्थित समर्थक समाजका केन्द्रिय सदस्य तपेन्द्र जोशीले बताए ।

बर्दिया जिल्लाकै प्रतिष्ठासंग जोडिएको यस मेयर टि-ट्वान्टी कपलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि जिल्ला स्थित सम्पुर्ण ब्यक्ति, संघसंस्था, निकाय तथा शुभचिन्तकहरुलाई विकासप्रेमी युवा समुह बर्दियाका संयोजक गोपाल निरौलाले आग्रह गरेका छन ।

आयोजक नेपाली क्रिकेट समर्थक समाज बर्दिया समन्वय समितिले प्रतियोगिताको मिति र कार्यक्रमको खाका दशै पश्चात घोषणा गर्ने जनाएको छ ।


ताजा समाचार